भुवन र अनिता बने गुरिल्ला अल्ट्रा ट्रेल रेसकाे च्याम्पियन

बिएल संवाददाता

रुकुम (पूर्व)

रुकुम (पूर्व)को भूमे गाउँपालिकाले आयोजना गरेको ५२ किलोमिटरको गुरिल्ला अल्ट्रा ट्रेल रेसमा पुरुषतर्फको उपाधि रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका- ३ का भुवन ओलीले जितेका छन्। उनी निर्धारित ५२ किलोमिटरका दूरी ६ घण्टा ८ मिनेट ९ सेकेण्डमा पार गर्दै प्रथम हुन सफल भएका हुन्।

झिनो अन्तरले पछि परेका रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका- ३ कै अर्जुनकुमार बस्नेत दोस्रो भएका छन्। उनले निर्धारित दूरी ६ घण्टा ८ मिनेट १९ सेकेण्डमा पार गरे। ओली र बस्नेतका बिचमा जम्मा १० सेकेण्डको फरक परेको ट्रेल रेस संचालनका लागि सहयोग गरेको युवा विकास केन्द्र भूमेका कोषाध्यक्ष बेदना बुढा मगरले जानकारी दिएका छन्।

पुरुषतर्फ भूमे- ३ का शक्तिराम रोका निर्धारित दूरी ६ घण्टा १५ मिनेटमा पार गर्दै तेस्रो भएका छन्। पुरुषतर्फ २५ धावकले प्रतिस्पर्धा गरेका थिए।

त्यस्तै महिलातर्फ निर्धारित ५२ किलोमिटर दूरी ८ घण्टा १५ मिनेटमा पार गरी सोलुखुम्बुकी अनिता राई प्रथम भएकी छिन्। ९ घण्टा १० मिनेट ३ सेकेण्डमा दूरी पार गर्दै भूमे गाउँपालिका- ८ की सोनिका खड्का दाेस्राे र १० घण्टा १५ मिनेट २ सकेण्डमा दूरी पार गर्दै भूमे- ६ की अनिता बुढा मगर तेस्राे भएका छन्। महिलातर्फ ९ धावकले प्रतिस्पर्धा गरेका थिए।

महिला र पुरुषतर्फको पुरस्कार समान रहेको छ। महिला र पुरुष तर्फको विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रोले १५ हजार र चौंथोस्थान हासिल गर्नेले ८ हजार नगद पुरस्कार पाएका छन्। पाँचौंदेखि दशौं स्थानसम्म हासिल गर्ने धावकले समान ५ हजार नगद पुरस्कार प्राप्त गरे।

भूमे गाउँपालिका- ६ को महतबाट सुरु भएको दौड ऐतिहासिक गाउँ रोल्पाको थवाङ, जलजला, मारिङलगायतका ठाउँ हुँदै वडा नं. २ को खाबाङ बगर पुगेर सम्पन्न भएको थियो।

प्रकाशित मिति: : 2023-06-17 21:55:00

प्रतिकृया दिनुहोस्