श्रीमानले सरकारी जागिरबाट अवकाश पाएका छन्। एउटी छोरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इन्जिनियरको रुपमा कार्यरत छिन्, अर्की छोरीले टेलरिङको काम गर्छिन। एउटा छोराले घर जग्गाको व्यापार गर्छन्, अर्का छोरा अध्ययनको लागि विदेश जाँदैछन्। तर, पनि ६५ वर्षीया इन्द्रमायाका कर्मठ पाइलाले विश्राम लिएका छैनन्, दैनिक एक घण्टा दुध बेच्न बस्ती चहार्छन्।
कुनै पनि काम ठुलाे वा सानाे भन्ने हुँदैन, जुनसुकै काममा पनि निरन्तर मिहेनत गरियाे भने सफल बन्न सकिन्छ भन्ने उदाहरणकी पात्र हुन्, धुलिखेल नगरपालिकामा अवस्थित ठकुरीगाँउकी इन्द्रमाया शाही ठकुरी (६५ वर्ष)। उनी बिहान ५ बजे उठेर पूजापाठ सकेर, परिवारका सदस्यहरुलाई मिठो चिया खुवाएर, गाईवस्तुकाे स्याहारसुसार गरेर र दुध दुहेपछि त्यही दुध बेच्न गाउँ-गाउँमा पुग्छिन्। उनका हरेक दिन यसैगरी बित्छन्। उनले २५ वर्षदेखि यही काम गरेर जीवपयापन गरिरहेकी छिन्।
ठकुरीगाउँमा इन्द्रमायाका पुराना ग्राहकहरु छन्। गाईवस्तु, दुध र ग्राहकसँग इन्द्रमायाकाे दरिलाे सम्बन्ध छ। सबैसँग मिठाे बाेली र व्यवहार गर्ने उनकाे उक्त वस्तीका मानिसहरुसँग राम्रै घुलमिल छ। र त सबैले उनलाई मायाल गरेर इन्द्रमायाआमा भनेर बाेलाउँछन्।
चैत-वैशाखकाे टन्टलापुर घाम हाेस् वा पुस-माघकाे जाडाे उनी एकैगतिमा काम गर्छिन्। लामो समयदेखि यस वस्तीमा दुध बेचिरहेकी इन्द्रमायाले एकदिन पनि दुध बेच्न नपाउदा नरमाइलाे लाग्ने बताउँछिन्। ‘२५ वर्ष काट्याे यसरी दुध बेच्न थालेकाे, सबैले आमा भनेर माया गर्नुहुन्छ। मलाई एकदिन पनि दुध बेच्न आउन नपाउँदा नरमाइलाे लाग्छ,’ इन्द्रमायाले भनिन्।
बजारका डेरीहरुलाई दुध बेच्न सजिलाे हुने भए पनि उनीहरुले भनेअनुसार पैसा नदिने भएकाेले आफू ग्राहककै घर-घरमा पुग्ने गरेकाे उनी बताउँछिन्।
सुरुवाती दिनमा ५ वटासम्म गाईपालन गरेकी उनले दैनिक ३० देखि ४० लिटरसम्म दुध बेच्ने गर्थिन् तर अहिले उमेरावस्थाका कारण मात्रै एउटा गाई पालेकी छिन्, त्यही गाईबाट उत्पादन हुने करिब १० लिटर दुध बेच्न घर-घर पुग्छिन् उनी।
प्रतिलिटर एक रुपैयाँदेखि ६० रुपैयाँसम्ममा दुध बिक्री गरेकाे इन्द्रमायाकाे अनुभव छ। उनलाई दुध बिक्री गर्नकाे लागि आफ्नाे घरबाट करिब एक घण्टाकाे बाटाे पैदलै हिँड्नुपर्छ। गाउँमा दुध किन्ने मान्छे नभएकाले यस्ताे बाध्यता पूरा गर्नु परेकाे उनी सुनाउँछिन्।
विगतमा आर्थिक अभावका कारण अनेकाैँ समस्या झेलेकी इन्द्रमायाकाे जीवन अहिले भने सहज छ। उनले दुध बेचेर नै छाेराछाेरीकाे उच्च शिक्षा पूरा गरिदिएकी छिन्। ‘श्रीमानकाे जागिरले घर व्यवहार चल्न गाह्राे भएपछि यता लागेकाे हाे, विगत निकै दुखमा बित्याे तर अहिले यही दुध बेचेर चार छाेराछाेरीलाई पढाएँ, अहिले त सबै जना बेष्ट छन्,’ इन्द्रमायाले भनिन्। छाेराछाेरीकाे सफलता देखेर इन्द्रमाया दङ्ग छिन्।
विगतमा दुध बेचेरै परिवार पालेकी इन्द्रमायालाई अहिले दुध बेच्न घर-घर पुग्नु पुर्ने बाध्यता थिएन तर मिहेनती उनलाई खाली बस्न मन लाग्दैन। त्यसमाथि उनलाई सरकारी जागिरबाट अवकास प्राप्त श्रीमानले पनि सघाउँदै आएका छन्।
इन्द्रमायाकी एउटी छोरी अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा इन्जिनियरकाे रुपमा कार्यरत छिन् भने अर्की छाेरीले टेलरिङकाे काम गर्दिछन्। त्यस्तै एउटा छाेराले घर जग्गाकाे व्यापार गर्छन भने अर्का छाेरी अध्ययनकाे लागि विदेश जाने तयारीमा छन्। यस कारण पनि इन्द्रमायालाई दैनिक एक घण्टा हिँडेर दुध बेच्न गाउँ चहार्नु पर्ने बाध्यता छैन। तर, स्वास्थ्य र उमेरले साथ दिएसम्म याे काम नछाड्ने उनकाे अठाेट छ।
इन्द्रमाया दुधका अलवा दही, घिउ र तरकारी पनि बिक्री गर्छिन्।
कुनै पनि काम सानाे वा ठुलाे नहुने तर्क गर्ने उनी सरकारले कृषि क्षेत्रलाई महत्व नदिएकाे गुनासाे गर्छिन्। उनी भन्छिन्,‘जति नै नयाँ सरकार आए पनि किसानकाे अवस्था कहिले फेरिएन। हरेक वर्ष किसानकाे लागि बजेट छुट्याइएकाे हुन्छ तर बजेट वास्तविक किसानकाे हातसम्म पुग्दैन। सरकारसँग के आशा गर्नु, कसले सुन्छ र किसानका पीडा ?’
भिडियाे :