'टीकापुर घटनाको फिल्म अर्कै थियो तर पटकथा फरक देखाइयो' (भिडियाेसहित)

नागरिक उन्मुक्ति पार्टीका 'सुप्रिमाे' रेशम चौधरीले टीकापुर घटनाको वास्तविकता भ्रम फैलाउने गरी देखाइएकाे भन्दै दुःखेसाे पाेखेका छन्।

गणतन्त्र दिवसका अवसरमा आममाफी पाएपछि रिहा भएका चौधरीले सोमबार बिहान सञ्चारकर्मीसँग बोल्दै टीकापुरकाे घटनाको फिल्म फरक भएपनि पटकथा चाहीँ आफूलाई दोषी देखाउने खाल भएकाे बताएका छन्।

'टिकापुर घटनाको फिल्म अर्कै थियो तर पटकथा फरक देखाएर मलाई दोषी बनाइयो,' उनले भने।

चाैधरीले जेलमुक्त भएसँगै सरकारलाई धन्यवाद पनि दिए भने अब जनप्रतिनिधिको रुपमा काम गर्ने बताएका छन्।

सर्वोच्च अदालतको आदेश र कानून मानेरै आफूहरू जेल बसेको बताउँदै उनले सरकारले नै गठन गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुनु दुःखद् भएको बताएका छन्।

सत्यतथ्य सार्वजनिक गरी टीकापुरमा मारिने प्रहरी र अढाइ वर्षीय बालकले पनि न्याय पाउनुपर्ने उनकाे भनाइ छ।

'लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ,' उनले भने, 'सहादता प्राप्त गरेका प्रहरी परिवारले पनि न्याय पाउनुपर्छ, अढाइ वर्षीय बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ, र उहाँहरूका लागि हामीले पनि लडिदिनुपर्छ।'

प्रकाशित मिति: : 2023-05-29 08:52:00

प्रतिकृया दिनुहोस्