सुजन पौडेल उर्फ रमेश बाहुन। एक दशकअघिसम्म रमेश बाहुन प्रहरीकाे हिटलिष्टमा रहेकाे चर्चित नाम हो। उनको समूहविरूद्ध कोही पनि बोल्न सक्दैन भन्ने चर्चा हुने गर्थ्याे। तर, आजभन्दा ९ वर्षअघि उनी लागूऔषध मुद्दामा पक्राउ परे।
प्रहरीले उनलाई भारतबाट पक्राउ गरेको थियो। तर, काठमाडौँको कलंकीबाट लागूऔषधमा मुद्दामा पक्राउ गरेर आफूलाई ९ वर्ष २ महिना कारागार बसाएको उनको आरोप छ। उनी कारागारबाट निस्किएपछि बिएल नेपाली सेवाका लागि डिल्ली पाण्डेले उनी किन परे जेल ? के अपराध गरेका थिए ? र जेल जीवनलगायतका विषयमा कुराकानी गरेका छन्।
प्रस्तुत, छ सुजन पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश:
तपाईं सुजन पौडेल कि रमेश बाहुन ?
मलाईं जसरी प्रहरी र मिडियाले रमेश बाहुन बनाएर प्रख्यात बनाए अब म हिजोको रमेश बाहुन होइन, आजको सुजन पौडेल भएर चिनिन चाहन्छु।
किन सुजन पौडेल नामबाट चिनिन चाहनुहुन्छ ?
कारागारको बसाइँ पनि लामो भयो। राज्यले नभएको झुट्टा मुद्दा लगाएर कारागार लग्यो। ९ वर्ष २ महिना कारागार जीवन बिताएँ। अब आमनागरिक भएर समाज सेवा गर्ने, राजनीति गर्ने र घरमै बाबा, आमा र घरपरिवारसँग दिन बिताउन चाहन्छु।
तपाईं एक देशभक्त आर्मीको सिपाही हुनुहुन्थ्यो। त्यो पनि कमाण्डो ट्रेनिङ गरेको सिपाही, आर्मी छाडेर एकाएक सबैको नजरमा पर्ने अवस्थामा कसरी आउनुभयो ?
नेपाली सेना एउटा गौरवशाली सेना हो। चार–पाँच वर्ष सेनामा बिताएकोमा गौरव लाग्छ मलाई पनि। पछि मकाउ देश जाने भनेर लाग्दा काहीँ पासपोर्ट दिएको थिएँ। पैसा पनि फस्यो। त्यसपछि यो लाइनतिर लागियो। गुण्डागर्दी, डन भन्नेतर्फ प्रशासन, मिडियाले धकेलेर लगे।
तपाईं गुण्डा नाइकेका रूपमा चिनिनुभयो। गुण्डागर्दी गर्नेसँग समेत पैसा उठाउने गरेकाे भन्ने आरोप तपाईंमाथि छ, के यो साँचो हो ?
त्यस्तो होइन। मैले ठेक्कापट्टा गर्थेँ। ठेक्कापट्टा गर्दै गर्दा मलाई यो गुण्डा भन्ने बनाइएको हो। मैले कसैसँग पैसा उठाउने गलत काम केहीँ गरेको थिएन।
त्यसोभए के व्यवसाय गर्नेलाई आरोप लगाइएको हो त ?
व्यवसाय गर्ने क्रममा कहिले सानातिना भनाभन् भएका हुन्। त्यसपछि रिसिइबी बढ्दै गयो र म माथि आरोप लगाइयो।
रमेश बाहुनको देशभर समूह छ। रमेश बाहुनका विरूद्धमा लाग्ने हो भने कसैलाई पनि बाँकी राख्दैन भन्ने थियो। तपाईंका समूहका केटाहरूले व्यापारीसँग पैसा उठाउँछन् भन्ने के हो ?
यो कतिपय मिडियाले स्थापित गरेका हुन्। म कारागार बस्दा मैले फोन गर्ने, मैले भेटघाट गर्नेबाहेक बुवा, मम्मी, भाइ, श्रीमती, छोरीबाहेक कुनैसँग भेटघाट गरेको छैन। जेलर प्रशासनमा तपाईंहरूले हेर्दा हुन्छ। जेलरले चिट नकाटेर, उसले भेटको समय नदिएर कसैसँग भेट्न भइँदैन कारागार गएदेखि नै उनीहरूदेखि टाढा भएर फोन गर्ने, भेट गर्ने भन्ने हुँदैन।
त्यस्तो हुँदा हुँदै पनि रमेश बाहुनले यस्तो गर्यो, व्यापारीलाई, ठेकेदारलाई धम्कायो भन्ने कुरा आयो। प्रत्यक्ष मैले कसैसँग भेट गरेनँ तर कतिपय मिडियाले मविरूद्धमा लेखे र मैले तीन–चारवटा अनलाइन मिडियालाई मुद्दासमेत हालेँ।
जुन पहिला व्यवसाय गरेको समयमा सानोतिनो झैझगडा भयो। युवावस्थामा गरियो होला। त्यसबेला गरेको चिज पनि ९ वर्ष कारागार बस्दा भोग्नु पर्यो। फलानोलाई धम्कायो, उसलाई धम्कायो, यो टिममा गयो, उसलाई धम्कायो भन्ने मिडियाले लेखिरह्यो। मिडियाले लेखेपछि बाहिर पनि गर्यो कि भन्ने पर्यो।
एउटा नाम चलेको मान्छे हिजो गर्यो होला, आज पनि गर्यो होला भन्ने चिज कर्मचारी, प्रहरी प्रशासनले त्यतिकै विश्वास गर्ने। भित्र हेर्ने नजर पनि त्यस्तै हुने गर्यो। त्यो चिजले मलाई धेरै गाह्रो भयो।
मैले के भन्न चाहेको भन्दा हिजो जे थियो, भयो। आजको दिनमा मेरो नाम लिएर कसैले पनि व्यापारी धम्काउने, त्रास देखाउने गर्यो भने उनीहरूमाथि छानबिन हुनुपर्छ। म अब त्यो काममा जोडिन्नँ।
हिजो जे थियो मैले कारागार बसेर आइसकेपछि सबै चिजहरू बिर्सिएर अब म समाज सेवा गर्छु। राजनीति, व्यवसाय गर्छु, युवाहरूसँगै हिँड्छु। तर, राम्रो काम गरेर हिँड्छु। हिजोको जीवन फरक थियो। अबको जीवन फरक छ। हिजो रमेश बाहुन भनेर चिन्थे भने अब सुजन पौडेल भनेर चिन्ने छन्। आमनागरिक भएर हिँड्ने वातावरण राज्यले निर्माण गर्नुपर्छ।
सधैं एउटै व्यक्तिलाई एउटै नजरले हेरियो भने युवाहरू कहिल्यै पनि सुध्रने अवस्था आउँदैन। युवाहरू धेरै विदेशीने कारण पनि त्यहीँ हो। हिजो जे भए पनि भोलि पनि रमेश पौडेलले अपराध गर्छ भन्ने होइन नि।
तपाईंले भन्न खोज्नुभएको हिजो जे भए पनि भोलिका दिनमा मेरो नामबाट कसैले धम्काएमा त्यसको जिम्मेवारीमा म छैन भन्ने हो ?
हो, त्यसमा म हुने छैन। कसैले मेरो नाम नै लिएर धम्काए भने त्यसको जिम्मेवारीमा म हुने छैन। धम्काउनेमाथि नै छानबिन हुनुपर्छ। उसैलाई कारबाही गर्नुपर्छ। तर, हिजो रमेश देखेर ठेकेदारहरू डराउँथे, आज पनि गर्यो होला भनेर उहाँहरूले पनि त्यो सोचिदिनु भएन।
अब म फ्रि हिँडेको छु। एउटा कारागार सजाय भोगर आएको छु। अथवा रमेशका विषयमा केही पर्यो भने म स्वयम् त्यही उपस्थित हुन्छु। अरूको जिम्मा म लिन सक्दैन।
तपाईं ९ वर्ष २ महिना जेल बसेर आउनुभयो, के अपराध गर्नुभएको थियो र यति धेरै जेल बस्नुपर्यो ?
यो बिचमा के भयो भने ललितपुरको एउटा ठेक्कापट्टामा मिनकृष्ण महर्जन र हाम्रो सामान्य ठेक्का लिने विषयमा झैझगडा भयो। झगडा हुँदा मिनकृष्णलाई कसले गोली हान्यो त्योपनि हामीलाई थाहा छैन।
काम गर्दै जाँदा अघिल्लो दिन भनाभन भएको थियो। पछि उसलाई कसैले गोली हान्यो। त्यो रमेशले गर्यो भनेर बाहिर आयो। प्रहरीमा जाहेरी पर्यो। त्यो थाहा पाएपछि म भारत गएँ। पछि ६ महिनापछि मलाई भारतबाट पक्राउ गरियो। त्यतिबेला उपेन्द्रकान्त अर्यालय आइजीसाप हुनुहुन्थ्यो। उहाँसँगै कोडिनेसन गरेर मलाई जे चिज अभियोग लगाइएको छ, त्यसैमा मात्र छानबिन हुन्छ भनेपछि मात्र मलाई नेपाल ल्याइयो।
तर, मलाई इन्कान्टर (गोली हान्ने) गर्ने उद्देश्यका साथ ३ गते समातेकोमा ११ गते मात्र सार्वजनिक गरियो। त्यो सार्वजनिक गर्नुको कारण पनि छ। भारतबाट एक विधायक (सांसद)को घरबाट समातेको र यहाँ नेपाली मिडियाले थाहा पाएकाले सार्वजनिक गरियो। सार्वजनिक गर्दा कलंकीको खसी बजारबाट रमेश बाहुन २८ ग्राम लागूऔषध र कटुवा पेस्तोल बोकेर हिँड्दै गरेको अवस्थामा पक्राउ गरिएको भनियो। त्यही प्रतिवेदन बनाइयो।
म चुरोट, खैनी नखाने मान्छे। रगत टेष्ट गर्दा पनि त पत्ता लाग्छ। यदि मैले लागूऔषध बेचेको छु भने मिसिलहरू हर्दा पनि हुन्छ। लागूऔषध को व्यक्तिबाट लिएर आएको भन्ने पनि त होला। बजारमा चुरोट किनेको जस्तो त होइन। को व्यक्तिबाट किनेर कसलाई दिन लागेको, कति रूपैयाँको हो ? केसमा तौलियो भन्ने त खुल्नु पर्यो।
रमेश बाहुन पक्राउ पर्यो। कालो पाइन्टको गोजीमा लागूऔषध र पेस्तोल बोकेर खसी बजारमा लुखुरलुखुुर हिँडिरहेको छ भन्ने त अचम्मलाग्दो छ। त्यसरी पक्राउ गरेर मलाई ९ वर्ष कारागार बस्न बाध्य बनाइयो।
प्रहरीले तपाईंलाई फसायो रे, अदालतले किन न्याय दिएन ?
अब राज्य नै लागेपछि न्यायलयबाट न्याय पाइँदैन। अदालतमा मेरो मिसिल पनि राम्रोसँग अध्ययन भएन। मलाई जिल्लाबाट १० वर्ष मुद्दा हानियो। पुनरावेदनले १० वर्ष हान्यो। यही क्रमले गर्दा म ९ वर्ष कारागार बस्नु पर्यो।
तपाईंलाई प्रहरीले इन्काउन्टर (गोली हान्ने) गर्न चाहन्थ्याे, मिडियामा पक्राउको सूचना चुहिएपछि प्रहरीले यसलाई लागूऔषधमा जेल हाल्न पाइन्छ भन्ने उद्देश्यले गरेको हो ?
नेपालको कानुनमा लागूऔषधमा कुनै पनि सुविधा हुँदैन। लामो समय यसलाई लागूऔषधमा मद्धा हालेर कारागार राख्नुपर्छ भनेर प्रहरी प्रशासन र राज्य नै मविरूद्ध लागेको हो। यो योजनाबद्ध गरिएको हो।
तपाईं सहजै स्वीकारेर बस्नुभयो त ?
एउटा हत्कडी लगाएर कारागार लगिएको मान्छेले के गर्न सक्छ र ? त्यहीँ पनि इन्काउन्टरबाट बल्लबल्ल बँचेको थिएँ। इन्काउन्टरबाट बँच्नु पनि भारतको एक सांसदको घरमा बसेकाे र मिडियामा सूचना चुहिएपछि बँचेको हो। म त बल्लबल्ल पुन: जीवन पाएर बाँचेको थिएँ।
मेरो प्रमाण भनेको मैले प्रहरीलाई दिने बयान हो नि। तर, प्रहरीले मेरो बाबुबाजेको नाम र लागूऔषधका विषयमा सोधिएको छ। लागूऔषधका विषयमा झुट्टा बयान हो भनेर मैले बयान दिएको छु। मैले दिएको बयानको केही पनि कार्यन्वयन भएन।
मलाई प्रहरी प्रशासनले फसाए पनि न्यायलयले न्याय दिनु पर्ने हो नि। तर, मैले न्याय पाएन। यस्तो छ हाम्रो कानुन।
तपाईंको कुराले प्रहरी प्रशासनले नागरिकलाई सुरक्षा दिन नसक्ने, न्यायलयले न्याय दिन नसक्ने देखियो ?
प्रहरीले जे भने पनि न्यायलयबाट मैले न्याय पाउनु पर्ने थियो। तर, न्याय पाएनँ। यहाँ लागूऔषधमा युवालाई लामो समय जेल हाल्ने काम भइरहेको छ। एउटा जेलबाट लामो समय बसेर फर्किए भने के गर्छन त ? केही गर्दैनन् नि।
तपाईंलाई समाउनेबेला रमेश खरेल हुनुहुन्थ्यो। उहाँ त एक सच्चा प्रहरी अधिकृत भनिन्छ। यहाँबाटै तपाईंमाथि किन अन्याय भयो ?
हिरासत बस्दा मैले उहाँलाई एकपटक भेटेको थिएँ। उहाँले मसँग कुरा गर्न चाहनुभएन। मलाई के लाग्छ भने त्यतिबेला नेतृत्व तहबाटै भएको होला भन्ने लाग्छ।
कारागारभित्र छुट्टै बेथिति छ। कसैको राज छ भनिन्छ। तपाईंले पनि बेथिति भोग्नुभयो ?
कारागारमा धेरै बेथिति छ। त्यहाँ कैदीबन्दीहरूलाई राज्यले दिएको सुविधा पाउदैनन्। अर्को कारागारमा आन्तरिक प्रशासन भन्ने हुन्छ। त्यो आन्तरिक प्रशासनबाट यति धेरै बेथिति हुन्छ, कारागारअनुसार उपसचिव, अधिकृतलाई जेलरको रूपमा तोकिएको हुन्छ। र, जेलमा चौकीदार र बैदार भन्ने तोकिएको हुन्छ। चौकीदार र बैदारले जे भन्यो जेलरले त्यहीँ मात्र हो सुन्ने। भित्र आन्तरिक प्रशासनबाट कसलाई कुन जेलमा राख्ने, कहाँ पठाउनेदेखि सबै आदेश दिने हो। आन्तरिक प्रशासन छुट्टै दुनियाँ हो। एउटा गाउँबाट आफन्तले पठाएको जे पनि कुनै कैदीले पाउँदैन, किनभने त्यहाँभित्र हुने चौकीदार, बैदारको हातमा जाने हो।
कारागारको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भन्नुस् वा जेलेर, सचिव, अधिकृतले भित्रको चौकीदार र बैदारले भनेको बाहेक अरूको कुरा सुन्नु हुन्न। काठमाडौं भित्रकै जेलहरूमा त्यस्तै बेथिति छ। केन्द्रीय कारागार अरूभन्दा धेरै राम्रो छ। म त्यही बसेर आएको हो। अरू कारगारमा त दुई जना चार जना बस्यो भने सँगै भित्र होटेलमा कफी खान पाइदैन। गफ गर्न, जेलेरसँग सिधा गफ गर्न पाइदैन। जेलेरले कैदीको गुनासो पनि सुन्नुहुन्न।
कारागारमा जेलेर भन्दा चौकीदार बलियो हुनेरहेछ त ?
हो, चौकीदार बलियो हुन्छ। भित्र जे भए पनि चौकीदारले जे भन्यो त्यही मात्र हो कारागार प्रमुखले मान्ने। जेलेरले सबै कैदीबन्दीसँग कुरा गर्नुपर्यो।
मैले यतिसम्म सुनेको तराईका जेलहरूमा जेल प्रमुखसमेत भित्रको चौकीदारलाई सोधेर मात्र कारागारमा छिर्न पाउनुहुन्छ रे। चौकीदार भनेको जेलरहरूमध्येबाट एउटालाई प्रमुख तोकिएको त हो। तर, नेपाल सरकारबाट खटिएको उक्त कारागारमा चौकीदारको लाग्ने रे। नेपालको कारागारको अवस्था यस्तो छ।
तपाईं के भन्न चाहनुहुन्छ ? कसरी सुधार गर्न सकिन्छ ?
यो चिजमा जेलेरले ध्यान दिनुपर्छ। भित्र गएर कैदीलाई भेट्नु पर्यो। पुस्तकालयको अवस्था के छ ? खानाको अवस्था के छ ? औषधि उपचार कस्तो छ ? हेर्नु पर्छ। बाहिरबाट परिवारले लिएको पैसा पाएको छ कि छैन भन्ने हेर्नुपर्यो। तर, त्यो हेरिँदैन। नेताहरू नै जेल परेका हुन्। तर, उहाँहरूले जेलभित्र बसेर आएको भए पनि सुधार गर्न सकिएको छैन। जेल हालेर नै सबै सुध्रिने भन्ने त होइन नि।
तपाईं त एमालेमा प्रवेश गरेको पनि हो नि ?
हो। तर, बिचमा ९ वर्षको कारागार बसाइँपछि म कतै छैन। अहिले यही पार्टीमा जान्छु भन्ने पनि छैन। म अब केही समय घर परिवारसँगै बस्छु।
अब के गर्नुहुन्छ ?
म यो बिचमा व्यापार गर्छु। गृह जिल्ला रामेछाप हो। मेरो जिल्लामा विकास हुन सकेको छैन। गाउँमा युवाहरू छैनन्। त्यहाँका युवालाई गाउँमा नै रोजगार दिऊ जे गरेर हुन्छ। जसको क्षमता जे छ, त्यही रोजगार दिऊ। त्यसमा सबैले सहयोग गर्नु पर्ने देखिन्छ। मैले यो सबै चिजलाई हेरेर समाज सेवा गर्छु। व्यवसाय गर्छु। कृषिसमेत गर्ने सोचमा छु।
अब जे भए पनि सुजन पौडेलको नाममा अपराधमा गर्छ वा सुजनको केटाहरू हो भनेर कसैले अपराध गरेमा उनीहरूले भोग्नुपर्छ। सत्य तथ्य छानबिन प्रहरी प्रशासानबाट हुनुपर्छ। हिजो मलाई लागूऔषधमा मुद्दा होलेर फसाएको जस्तै अब त्यस्तो हुनुहुँदैन।
प्रहरी प्रशासनलाई के भन्नुहुन्छ ?
मलाई हिजोको नजरले नहेर्नुस्। रमेश बाहुन नभएर म सुजन पौडेल भएर बाँच्न चाहन्छु। म समाजमा केही गर्न चाहन्छु।
भिडियाे :