ह्याप्पी मेमोरियल डे... अमेरिका !

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिका यो वर्षको मेमोरियल डे मनाउने लामो छुट्टीमा छ। अमेरिकामा लामो छुट्टि भनेकै तीनदिने छुट्टि हो, शनिबारदेखि सोमबारसम्म। यदाकदा नयाँ वर्ष र क्रिसमसको बेला चार दिनसम्म हुन्छ। 

मेमोरियल डे भनेको अमेरिकी सेना स्मृति दिवश हो। अमेरिकी युद्धमा शहादतप्राप्त सैनिकहरूको सम्झनामा यो दिवश मनाइन्छ। एक किसिमले भन्ने हो भने यसलाई सेना दिवश भने पनि हुन्छ।

अमेरिकामा सामान्यत: छुट्टि भनेकै घुम्न जाने अवसर हो। छुट्टीका दिनमा थप केही दिन बिदा लिएर घुम्न जाने गरिन्छ। यहाँको भाषामा लङ भ्याकेसन भनिने यतिबेला अमेरिकाका पर्यटन केन्द्र मानिने ठूला सहर गुल्जार हुन्छन्।

अमेरिकाका ठूला सहरको जीवन महंगीले कष्टसाध्य हुन्छ। त्यसैले अमेरिकीहरू साना सहरमा बस्ने ठूला सहरमा छुट्टी मनाउन जाने लाइफस्टाइल बाँचिरहेका छन्।

अमेरिकामा नेपाली डायस्पोरा पनि बढिरहेको छ। केही मानिस नेपाली नै भएर टिकिरहे पनि अमेरिकी नागरिक हुन समय पुगिसकेका धेरै मानिस नेपाली-अमेरिकी हुने क्रममा छन्। केही वर्षयता यो क्रमले तीब्र गति लिइरहेको छ। यसको पछाडि नेपालको गिर्दो अवस्था र अमेरिकामा बढ्दै गएका सन्तान नै हुन्। बढ्दो उमेर र ६७ नाघेपछि पाइने मोटो सामाजिक सुरक्षाले पनि नेपालीलाई त्यतातिर तानिरहेको छ। अर्कोतिर, बढ्दो उमेरसँगै नेपालमा आमा-बुबाको निधन हुने र त्यसले दूरी बढाउने क्रम पनि बढ्दो छ। नेपालसँग नजिकिने कारण सकिनुको कारण यो पनि एक हो।

एउटा लोकप्रिय भनाइ छ नि रोम जाँदा रोमनजस्तै हुनुपर्छ। हो। ठीक त्यस्तै अमेरिका बस्ने हो भने अमेरिकी जस्तै हुनुपर्ने हुन्छ ।नेपालमा जन्मेको एक नेपाली चाहेर पनि पूरै अमेरिकी हुन सक्दैन। जति सकिन्छ त्यति अमेरिकीजस्तै हुनुपर्ने बाध्यता बढ्दै जान्छ ।  

अमेरिकाको नेपाली समुदाय पनि मेमोरियल डेको लामो छुट्टी मनाउने मुडमा छ। केहीले ठूला सहर र पर्यटनस्थललाई घुम्ने मुकाम बनाएका छन् भने केहीले नजिकका पार्कमा बार्बीक्यू गर्ने योजना बनाएका छन्। त्यो पनि नसक्नेले घरमै बार्बी क्यू गर्छन्।

मेमोरियल डे अमेरिकाको सरकारीस्तरको संघीय विदा हो। यस्तो विदा प्राप्त गर्न संघीय वा राज्यस्तरका सरकारी कार्यालय वा सप्ताहान्त छुट्टी हुने कार्यालयमा काम गरेको हुनुपर्छ। अझै पनि अमेरिकाका धेरै नेपाली यो कोटिमा पुगिसकेका छैनन्। त्यसैले उनीहरूका लागि अरू संघीय विदाका दिनजस्तै मेमोरियल डेले पनि खासै अर्थ राख्दैन। अधिकांश नेपाली काम गर्ने ठाउँमा यो दिन पनि काम नै हुन्छ। त्यसैले उनीहरू चाहेर पनि मेमोरियल डेको छुट्टीमा रमाउन सक्दैनन्।

अमेरिकीका लागि मेमोरिलय डे किनमेलको लागि  एक उपयुक्त समय पनि हो। खासगरी सेलमा सामान खरीद गर्नेका लागि यो एक उम्दा अवसर बनेर आउँछ। अमेरिका हरेक ठूला स्टोर र अनलाइनमा भारी छुटमा सामान खरिद गर्न पाइन्छ। धेरै मानिस ब्राण्डेड सामान किन्न यो समयको सदुपयोग गर्छन्।

अमेरिका यतिबेला आर्थिक मन्दी र बढ्दो महंगी दुबैको चपेटामा छ। यस्तो अवस्थामा आएका यस्ता लामा छुट्टी अमेरिकीका लागि साह्रै बिझाउने खालका हुन्छन्। त्यसको प्रत्यक्ष प्रभाव अमेरिकीहरूको किनमेलको तौतरिकामा देख्न सकिन्छ। 

सप्ताहान्तमा पर्ने यो लामो छुट्टीले अमेरिकामा त्रास पनि लिएर आउने गर्छ। केही  समययता सप्ताहान्तमा अमेरिकामा मास सुटिङका घटनाहरू अचाक्ली बढेका छन्। सार्वजनिकस्थलहरू कुनै पनि बेला नरसंहारका केन्द्रमा परिणत हुने भएकाले अमेरिकीहरू ढुक्कले यस्ता ठाउँमा गएर रमाउन सकिरहेका छैनन्। त्यसको आंशिक प्रभाव यसपटकको मेमोरियल डे मा पनि पर्ने अनुमान गरिएको छ। 

घुम्दै फिर्दै रूम्जाटार भनेेझै, फेरि पनि मेमोरियल डेलाई अमेरिकी युद्ध र त्यसमा मारिएका सैनिकहरूसँगै जोडौं। एक किसिमले भन्ने हो भने अमेरिका युद्धप्रेमी देश हो भन्दा पनि हुन्छ । यसले आफ्ना लागि युद्ध लड्नु नपरेको केही शताव्दी भैसक्यो। तर,अझै अर्काका लागि भए पनि युद्ध लड्दै आएको छ। यही क्रममा अमेरिका भियतनाम युद्ध, कोरिया युद्ध, खाडी युद्ध हुँदै अफगान युद्धसम्म आइपुगेर अहिले एक किसिमले युद्ध बिसाएको अवस्थामा छ। यद्यपि, अप्रत्यक्ष नै सही अमेरिका अहिले पनि युक्रेन युद्धमा छ।

यिनै युद्धका कारण धेरै अमेरिकी सैनिकहरूले ज्यान गुमाएका छन्, गुमाइरहेका छन्। उनीहरूको शहादतलाई अमेरिकाले उच्च सम्मान गर्दै हरेक वर्ष मे को अन्तिम सोमबार मेमोरियल डे मनाउँदै आएको छ। 

अमेरिकी माटो नापिरहेको यो अक्षरकर्मी पनि अमेरिकी योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै भन्न चाहन्छ-  ह्याप्पी मेमोरियल डे। तर, एउटा नोट अफ डिसेन्ट पनि छ, त्यो के भने  मान्छे मार्ने युद्ध समस्या हो, समाधान हैन। त्यसैले आइन्दा यस्तो युद्ध नहोस् जहाँ ढलेको अर्को योद्धालाई मन अमिलो पारेर बीर भन्नु परोस्।

प्रकाशित मिति: : 2023-05-27 23:40:00

प्रतिकृया दिनुहोस्