अमेरिकामा विगत १० वर्षमा १,३०६ नेपाली शरणार्थीलाई शरण

प्रदीप भट्टराई

वासिङ्टन डीसी

नेपालमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मानव ओसारपसारको गोरखधन्दा सार्वजनिक भएकै बेला यता अमेरिकामा भने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विगत १० वर्षमा अमेरिकामा शरण लिएका नेपालीको तथ्याङ्क सार्वजनिक गरेको छ।

तथ्याङ्कअनुसार विगत १० वर्षमा एकहजार तीनसय ६ जना नेपालीले शरण लिएका छन्। यो तथ्याङ्क सार्वजनिक भएसँगै  धेरै नै नेपालीले अमेरिकामा शरण लिएका होलान् भनेर सार्वजनिक खपतका लागि गरिने बजारहल्ला पनि यथार्थ नभएको पुष्टी भएको छ। स्मरणीय होस्, अमेरिकाको नेपाली डायस्पोरामा हरेक महिना कम्तिमा पाँचसय नेपाली अमेरिका पसिरहेको र हजारौँ नेपालीले अमेरिकामा शरण लिएको बताइन्छ। यही आधारमा नेपालमा पनि समाचार बनाइने गरिएको छ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको आधिकारिक तथ्यांकअनुसार  सन् २०१२ मा ८३, सन् २०१३ मा ११५, सन् २०१४ मा १४८, सन् २०१५ मा २१७, सन् २०१६ मा ३१०,सन् २०१७ मा १९९, २०१८ मा १९३ , सन् २०१९ मा १६, सन् २०२० मा ४ र सन् २०२१ मा २१ नेपालीले अमेरिकामा शरण पाएका छन्। हुन त यस बीचमा ठूलो संख्यामा नेपालीले अमेरिका आएर शरणका लागि आवेदन दिएका छन्। तर, उनीहरूको मुद्दा किनारा लागिसकेको छैन। मुद्दा छिनोफानो लागेर शरण अस्विकार गरिएका कतिपय नेपाली नेपाल निस्कासन पनि गरिएका छन्। ती दुबै खाले नेपालीको संख्या यो तथ्याङ्कमा समेटिएको छैन। 

अमेरिकामा नेपालीभन्दा धेरै नेपालीमुलका नेपालीले शरण लिएका छन्। यसरी शरण लिनेमा सबैभन्दा धेरै भुटानी छन्। उनीहरूको संख्या लाखभन्दा बढी छ। शरणार्थी पुनर्वासका नाममा उनीहरू अनेकौ खेपमा सन् २००७ को अन्तिमदेखि २०१७ को सुरूका महिनासम्म अमेरिका आएका हुन्। उनीहरू नेपालकै शरणार्थी शिविरबाट ल्याइएकाले त्यहाँ केही नेपाली पनि नक्कली भुटानी शरणार्थी भएर आएको आशंका गरिन्छ। तर, उनीहरू यति नै संख्यामा आए भनेर भन्न सकिने आधार छैन।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी प्रहरी हिरासतमा पुगेका र पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल, उनकी पत्नी तथा एमाले सांसद नैनकला थापा हुँदै स्वयं ओलीपत्नी राधिका शाक्यसम्मको नाम आएपछि तिल्मिलाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डै ४ सय नेपाली भुटानी शरणार्थी बनेर अमेरिका छिरिसकेको सुचना आफूले पाएको दावी गरेका छन्।

देशको प्रधानमन्त्री भैसकेका ओलीको यो दावी जुन समयमा आएको छ, त्यो प्रतिक्रियाका लागि प्रतिक्रिया बनेर आएको जस्तो मात्र देखिन्छ। यद्यपि, ओलीको निर्वाचन क्षेत्र झापा ५ मै सबैभन्दा ठूलो भुटानी शरणार्थी  शिविर बेलडाँगी रहेको यथार्थ हो। र, यो क्षेत्रका 'बस्ती' का थुप्रै छोरी भुटानी बुहारी र छोरा ज्वाई भएर अमेरिका आएका छन्। उनीहरू शरणार्थी भन्दा विवाहका कारण पारिवारिक भिसामा आएका हुन्।

प्रकाशित मिति: : 2023-05-23 20:55:00

प्रतिकृया दिनुहोस्