क्यान्टोनमेन्ट घोटालामा दोषी ठहरिए जेल जान तयार छुः प्रचण्ड (पूर्णपाठसहित)

फाइल तस्विर
फाइल तस्विर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्यान्टोनमेन्ट काण्डमा दोषी ठहरिएको आफैं जेल जान तयार रहेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सोधेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले क्यान्टोनमेन्ट काण्डको आवश्यक परे छानबिन गर्ने र दोषी ठहरिए आफैं जेल जान तयार रहेको बताएका हुन्।

ज्ञानबहादुर शाहीको प्रश्न– 

८ हजार ४ सय ६० जना पूर्व माओवादी लडाकुका नाममा त्यतिखेर अर्बाै रुपैयाँ राज्यकोषबाट गएको छ। तर, ती ८ हजार ४ सय ६० जना लडाकु को हुन ? कहाँ छन् ? उहाँहरुको नाम के हो ? यसको कुनै रेकर्ड आजसम्म देखा परेको छैन। ती लडाकुको नाममा विगत करिब पाँच वर्षसम्म राज्यकोषबाट अर्बाै रुपैयाँ गएर व्यापक भ्रष्टाचार भयो भन्ने छ। त्यो  रोप तपाईंलाई नै छ। यो आरोपलाई अन्त्य गर्नको लागि संसदको विशेष समिति गठन गरेर यसको छानबिन गर्न तपाईं तयार हुनुहुन्छ ?

प्रधानमन्त्रीको जवाफ– 

पूर्व माओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्ने कुरा यो आरोपको निम्ति आरोप नै हो भन्ने कुरा म जोड दिएर भन्न चाहन्छु। किनकि, त्यतिबेला शान्ति सम्झाैता भएर क्यान्टोनमेन्टमा पूर्व जनमुक्ति सेनलाई राख्ने निर्णय भएपछि क्यान्टोनमेन्ट्टको भौतिक पूर्वाधार र योद्धाहरुको रासन पानीको निम्ति भनेर राज्यबाट दिइएको रकम र त्यसको अडिट त्यसको हिसाब किताब त्यहाँ को–को थिए ? को–कोले लिए भन्ने कुराको सबै रेकर्ड रहेको कुरा म माननीय सदस्यलाई जानकारी गराउन चाहन्छु। र, त्यतिबेला गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुन्थ्यो। अनि डा.रामशरण महत अर्थमन्त्री हुन्थ्यो, उहाँहरुसमेतले रुजु गरेपछि त्यो पटाक्ष भइसकेको कुरा हो।

यसलाई अहिले राजनीतिक आग्रह र पूर्वाग्रका साथ उठाउने गरिएको देख्दा म आफैं आश्चर्यमा परेको देखेको छु। इतिहासको एउटा त्यस्तो परिघटना जसले देशलाई शान्तिको एउटा नयाँ युगतिर ल्याउने काम गर्‍यो। इतिहासको त्यो संवेधनशील घडी जतिबेला विभिन्न क्यान्टोनमेन्टमा हजारौँ लडाकुहरु राखेर देशलाई शान्तिलाई, लोकतन्त्र र परिवर्तनलाई संस्थागत गर्न मद्दत गर्‍यो, र त्यो रकम जुन राज्यबाट दिइयो र त्यसको अडिट भएर टुंगो लाइसकेको विषय पटक–पटक राजनीतिक आग्रहको रुपमा ल्याइएको छ भन्ने मेरो बुझाइ छ।

र, यदि त्यस्तो केही छ छानबिन गर्नुपर्छ भने मैले पहिला पनि आफ्नो दलको घोषणापत्रमा २०४८ सालदेखिकै सबै घटनाहरुको सबै उच्च पदस्थ अधिकारीहरुको सम्पत्ति छानबिनको सम्बन्धमा या विभिन्न समयमा उठेका भ्रष्टाचारसम्बन्धी सबै मुद्दाहरुमा छानबिन गर्न म तयार छु। हामी सबै राजनीतिक तहमा एउटा संकल्पको साथ सहमाति गरेर जाँदा सबै जिच छानबिन गरेर जान सकिन्छ। देशमा सुशासन र भ्रष्टाचार उन्मुक्तिको नयाँ युग सुरु गर्न सकिन्छ।

म फेरि पनि माननीय सदस्यको प्रश्नको उत्तर दिँदै के भन्ने चाहन्छु भने क्यान्टेनमेनको कुरा कपोकल्पित र पूर्वाग्रही छ भन्ने धृण विश्वास छ, फेरि पनि कसैले दिएको उजुरीको आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको कुरा जानकारी गराउन चाहन्छु।

भिडियाे :

प्रकाशित मिति: : 2023-05-18 14:05:00

प्रतिकृया दिनुहोस्