टि–२० विश्वकपको एसिया छनोट काठमाडौँमा, नेपालले यसरी खेल्नेछ विश्वकप

सन २०२४ जुनमा अमेरिका र वेष्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने टि–२० विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ।

टि–२० विश्वकप अन्तर्गत एसिया छनोट प्रतियोगिता आगामी नोभेम्बर १ तारिखदेखि १० तारिखसम्म नेपालमा हुने नेपाल क्रिकेट संघ (क्यान)का कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए। ‘आइसीसीले एसिया छनोटका खेल नेपाललाई गराउन भनेर इमेल पठाएको छ,’ पाठकले बिएल नेपाली सेवासँग भने।

एसिया छनोट खेलमा ८ टोली सहभागी हुने छन्, जसबाट शीर्ष २ मा पर्ने टोलीले विश्वकपमा स्थान सुरक्षित गर्ने छन्। आयोजक नेपालसहित युएई, हङकङ, ओमान, सिंगापुर र बहराइन पहिलै एसिया छनोटमा पुगेका छन्। भने, दुई टोली प्रारम्भिक छनोट चरणबाट आउने छन्।

प्रारम्भिक छनोट चरणको पहिलो समूह ‘ए’ मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन। भने, समूह ‘बि’मा भुटान, चीन, मलेसिया, म्यानमार र थाइल्यान्ड छन्। दुवै समूहको शीर्ष दुई टिम एसिया छनोटमा पुग्ने छन्। प्रारम्भिक छनोट प्रतियोगिता आगामी सेप्टेम्बरमा कतारमा हुँदैछ।

सन २००७ मा पहिलोपटक आयोजना भएको टि–२० विश्वकपमा यसपटक (२०२४मा) कुल २० टिमले प्रतिस्पर्धा गर्न पाउने भएका छन्। जसमा, गत वर्षको अक्टोबर र नोभेम्बरमा अस्ट्रेलियामा भएको टि–२० विश्वकपका शीर्ष ८ टिम सिधा छनोट भइसकेका छन्। अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले शीर्ष ८ मा परेर २०२४ को विश्वकपका लागि स्थान पक्का गरिसककेका हुन्।

त्यस्तै, अमेरिका र वेस्ट इन्डिज आयोजक राष्ट्रका रुपमा स्वतः विश्वकप छनोट भएका छन्। भने, अफगानस्तान र बांगलादेशले पनि विश्वकपमा स्थान पक्का गरिसकेका छन्। उनीहरु २०२२ सम्मको विश्व वरियताको आधारमा सिधै छनोट भएका हुन्। यसरी सन २०२४ को विश्वकपको लागि १२ राष्ट्र छनोट भइसकेका छन्।

अब बाँकी ८ टोली क्षेत्रीय छनोटबाट विश्वकपमा आउने छन्। जसमा, एसिया छनोटबाट २, अफ्रिका छनोटबाट २, अमेरिका र इस्ट एसिया प्यासिफिकबाट १–१ र युरोप छनोटबाट २ टोली विश्वपमा प्रवेश गर्ने छन्।

नेपाल यसरी जानेछ विश्वकपमा

नेपाल पछिल्ला केही महिनामा मात्रै चमत्कारिक प्रदर्शन गरेर अन्तराष्ट्रिय एकदिवसीय (ओडिआई) क्रिकेटको विश्वकप छनोट चरणमा पुगिसकेको छ। भने, एसिया कपमा छनोट भएर भारत र पाकिस्तान जस्ता क्रिकेटका महारथी देशसँगको भेट पक्का गरिसकेको छ।

ओडिआई मान्यता जोगाउन पनि हम्मेहम्मे अवस्थामा पुगेको नेपालको लागि यी दुई ठुला सफलता सामान्य होइन् । यसबाट नै थाहा हुन्छ कि नेपालको खेल अहिले कुन लयमा छ भन्ने। पछिल्लो समय उच्च लयमा रहेको नेपालको लागि टि–२० विश्वकप छनोटको सम्भावना पनि उच्च रहेका छ। अब नेपाल विश्वकमा पुग्नको लागि टि–२० विश्वकप अन्तर्गतको एसिया छनोटको शीर्ष २ मा पर्न सफल भए पुक्छ।

नोभेम्बरमा काठमाडौँमा हुने एसिया छनोटमा सहभागी हुने ८ टोलीलाई समूहमा विभाजन गरिनेछ। समूह ए र समूह बि। यी दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्। सेमिफाइनलका दुबै विजेता टोली फाइनलमा पुग्नुका साथै टि–२० विश्वकपमा पनि स्थान पक्का गर्ने छन्। त्यसैले नेपाल एसिया छनोटको फाइनलमा पुग्न जरुरी छ।

नेपालले यी सबै खेल घरेलु मैदानमा खेल्नेछ। त्यसैले पनि नेपाली राष्ट्रिय टोलीलाई घरेलु समर्थकको पनि बलियो साथ रहनेछ।

प्रकाशित मिति: : 2023-05-16 14:31:00

प्रतिकृया दिनुहोस्