सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

शुक्रबार साँझ बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलकाे संयुक्त बैठकले सरकारमा सहभागी पनि नहुने र समथर्न पनि फिर्ता लिने निर्णय गरेकाे पार्टी सभापति रवि लामिछानेले बताए।

उनले अब आफ्नाे पार्टी सरकारमा नगएर पार्टी संगठन बिस्तारमा लाग्ने बताए।

गत पुस १० गते प्रचण्ड नेतृत्वकाे सरकारमा सहभागी भएकाे रास्वपा नागरिकता विवादमा रवि लामिछानेकाे सांसद पद खारेज भएपछि सरकारबाट बाहिरिएकाे थियाे। रवि लामिछानले उपनिर्वाचन जितेपछि रास्वपा सरकारमा सहभागी हुने अनुमान गरिए पनि त्यसकाे हुन सकेन।

प्रधानमन्त्री समक्ष गृहसहित पुराना मन्त्रालय दिए सरकारमा फर्किने अडान राखेकाे रास्वपाले अन्तत: आज सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ।

प्रतिनिधिसभामा रास्वपाका २१ सांसद रहेकाे छन्। रास्वपाले समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री दाहालले तेस्राे पटक पुन: विश्वासकाे मत लिनुपर्ने भएकाे छ।

प्रकाशित मिति: : 2023-05-05 19:22:00

प्रतिकृया दिनुहोस्