कहाँ छन् टोपबहादुर रायमाझी, कसले लुकाइरहेको छ?

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सयौँ नेपाली नागरिकबाट करोडौँ रकम उठाएर ठगी गरेको प्रकरणमा मुछिएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी सम्पर्कविहीन छन्। 

ठग र दलालहरूले सिंहदरबारभित्रै चलाइरहेको बिचौलिया गिरोहमा संलग्न रहेको पुष्टि भएपछि पूर्वमन्त्री रायमाझीलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ। तर सोही प्रकरणमा मुछिएका उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरेर काठमाडौँ ल्याइसकेको छ। 

बुधबार गृहजिल्ला अर्घाखाँचीको एउटा सार्वजनिक समारोहमा देखिएका उनी त्यहाँबाट बुटवल हिँडेको बताइएपनि अहिलेसम्म प्रहरी सम्पर्कमा नभएको प्रहरी अधिकारीहरूले जनाएका छन्।

स्रोतकाअनुसार एमाले नेताहरूको सम्पर्कमा रहेका उनी प्रहरीको निगरानीमै छन्। तर, नेता रायमाझीलाई कसले कहाँ लुकाइरहेको छ भन्नेबारे थप चासो उब्जिएको छ। 'टाेपबहादुरजी राजधानीमै भएकाे सूचना पाएका छाैँ। उहाँलाई सम्भवतः शुक्रबार नै पक्राउ गर्नेछाैँ,' एक प्रहरी अधिकारीले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा महत्वपूर्ण हात रहेका पूर्वमन्त्री रायमाझीलाई जोगाउन राजनीतिक दलहरू लागिपरेका छन्। बिहीबार दिउँसो सोही पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि थप शंका पैदा भएको छ।

काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले भने ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएका रायमाझी सम्पर्कमा नरहेको बताएका छन्। ‘उहाँ (टोपबहादुर) पक्राउ परेको भन्ने गलत हो, हामीले अहिलेसम्म सम्पर्कमा ल्याउन सकेका छैनौँ,’ एसएसपी उनले भने।



सिंहदरबारमा भ्रष्ट, ठग र दलालहरूको रजगज

प्रकाशित मिति: : 2023-05-05 09:21:00

प्रतिकृया दिनुहोस्