यो एकादेशकाे कथा होइन। मुगु जिल्ला कार्मारोङ गाउँपालिकाको टाढाको गाउँ ताखाको कथा हो। कुरा वि.सं. २०५५ सालको हो। उमेर २१ वर्षको थियो। गाउँकै केटासँग बिहे भयो। त्यसभन्दा अघिको लभ-सबको चक्करबारे उनी खुल्न सक्दिनन्। बरु जवाफ मुसुक्क मुस्कुराएर दिन्छिन्। बुझ्नेलाई इसारा काफी।
केटा चार वर्ष कान्छा थिए। यो वास्ता गर्नुपर्ने विषय थिएन। 'एभ्रिथिङ इज फेयर इन लभ एण्ड वार।'
बिहे भोटे परम्पराअनुसार भयो। भोटे परम्परामा बिहे भएको चार वर्ष श्रीमानबाट अलग बस्नुपर्ने रहेछ। भर्खर बिहे गरेको प्यारो जीवनसाथी छोडेर माइत बस्नुपर्यो, मन नहुँदा नहुँदै पनि परम्परा धान्नलाई।
माइत बस्दा उति उत्साह थिएन। प्राणभन्दा प्यारो जीवनसाथीसँग छुट्टिएर बसेका ती दिन निकै उराठलाग्दा थिए। त्यो भन्दा कयौं गुणा उराठलाग्दो र पिडादायी रोग लाग्यो। केही दिन ठिक भैजाला भन्दैमा बिते। तर, एक दुई दिन भन्दै लामो समय गुज्रियो, निको भएन। मन आत्तिन थाल्यो। घरकाले आफ्ना मान्ने गन्ने धामीझाँक्री लगाए सन्चो भएन। नजिकै भएका स्वास्थ्यकर्मी डाँके भएन। केही नभएपछि उनका श्रीमानलाई माइत बोलाइयो। त्यसबेला रोगले झन् च्याप्दै गएको थियो। उनी थलिएकी थिइन।
श्रीमानले दुई दिन लगाएर मुगु जिल्ला अस्पताल पुर्याए। त्यहाँ थाहा भयो धामीझाँक्रीले फुकेर वा नारी छामेर निको नहुने रोग लागेको रहेछ। डाक्टरले 'क्षयरोग लागेको छ' भने। डाक्टरले रोग त पत्ता लगाए तर औधषि गरेनन्। मुगुमा उनको रोगको उपचार गर्ने औषधि थिएन। त्यसैले डाक्टरले सल्लाह दिए 'नेपालगञ्ज, सुर्खेत वा जुम्लामा गएर उपचार गर्नुहोस्' भनेर।
मन त नेपालगन्ज वा सुर्खेत गएर उपचार गराउने थियो। तर, घरको अवस्था अत्यन्तै नाजुक थियो। आर्थिक अभावका कारण उनीहरु मुगुबाट तीन दिनको बाटो हिँडेर अन्तिम विकल्पको रुपमा रहेको जुम्ला पुगे।
हालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान त्यसबेला अञ्चल अस्पताल र आइएनएफमा बाँडिएको थियो। आइएनएफ कुष्टरोग र क्षयरोग उपचार केन्द्र थियो। त्यहीँ उनको उपचार भयो।
लगातार आठ महिनासम्म उनी अस्पतालमै बसिन्। नबिराई औषधि सेवन गरेपछि क्षयरोग निको भयो।
यो कथाकी पात्र हुन्, कुञ्जाङ पुटिक तामाङ। जो एक सफल उद्यमी बनिसकेकी छिन्।
उपचारको क्रममा जुम्ला आउँदा घरबाट ल्याएको पैसा सकियो। घरकै आर्थिक अवस्था राम्रो नभएपछि सधैं उतैको आश गरेर पनि नहुने। भाडाको कोठामा बसेपछि बिहान साँझ मुखमा माड र भाँडाको जोहो नगरी नहुने। बैंक तथा वित्तीय संस्था, साहु महाजनले ऋण पत्याउनलाई ठुलो स्टाटस् (राम्राे अवस्था नभएकाे) थिएन। त्यसैले उनीहरुलाई के लाउँ के खाउँ भन्ने चिन्ताले सताइरहन्थ्यो। न कमाइ खाने जग्गा थियो, न त कुनै व्यवसाय। भोको पेट कसरी भर्ने ?, चार औँला मुखभित्र कसरी पसाउने, भन्ने चिन्ताले पिरोलिरहन्थ्यो। मिठाे मसिनो खान त उहीँ शिशिर योगीले भनेझैं 'राम्रो लाउन र मिठो खान चाडवाड नै कुर्नु पथ्र्यो' थियाे।
सधैं यसरी नचल्ने भएपछि सानो लगानीमा केही गर्नुपर्छ भन्ने लाग्यो। सानो लगानीमा बढी मुनाफा हुने घरेलु मदिरा थियो। उनले कमाउने भाँडोको रुपमा रक्सी बनाउन थालिन्। भाँडाको सानो कोठाभित्र रक्सीको गन्धसँग दिन गुजार्दै व्यवसाय चलाइन।
रक्सी बेचेर गुजारा चलिरहेको थियो। लाउन खान समस्या थिएन। तर, समाजिक हैसियत साह्रै गिर्दाे थियो। समाजका बहुसंख्यकले उनलाई जाँड/रक्सी बेच्ने भनेर होच्याउन थाले। हुन त जाँड/रक्सी बनाउने उनको पुर्खौली पेसा र सीप हो। पुर्ख्यौली पेसा अंगालेर ठुलो भुल गरेकी थिइनन्। तर, यस्तो कामले सामाजिक हैसियत प्राप्त गर्न उति सजिलो थिएन।
उनी रक्सी बेच्ने मात्र गर्दिन् थिइन। कोही डेरामा आयो भने त्यहीँ रक्सी खुवाउने पनि गर्थिन्। 'जो आएर रक्सी खान्थे उनैले अश्लील शब्द बोलेर धम्काउँदै जान्थ्ये,' उनले सुरुवातमाको आफ्नो पेसालाई सम्झदै भनिन्, 'मलाई आफ्नो कामप्रति आत्मग्लानी हुँदै गयो। राति निन्द्रा लाग्न छोड्यो। कुनै पनि हालतमा पेसा परिवर्तन गर्नुपर्ने सोच बनाएँ।'
उनकाेमा रक्सी खाएकाहरुकाे खबर पनि राम्राे नसुनिने। उनीहरु रक्सी खाएर लडेकाे, परिवार बिग्रिएकाे, झगडा परेकाे जस्ताे खबरले उनलाई मनमनै रक्सी बेच्दिनँ भनेर कसम खान बाध्य बनायाे।
२०६४ मा घरेलु तथा साना उद्योग विकास समिति जुम्लामा उद्यमशीलताबारे तालिम खुलेको थियो। उनले आवेदन दिइन्। छनोट भइन। एक महिनाको तालिममा झोला, लिउ, राडीपाखी बनाउने सीप सिकिन्। तालिम सकिएपछि उनले घरमा झोला, लिउ र राडीपाखी बनाएर व्यापार गर्न थालिन्। विस्तारै आम्दानी बढ्दै गयो।
आम्दानीको दायरा फरकाकिलो बन्दै गएपछि २०७० मा उनले घरेलुमा उद्योग दर्ता गरिन्। वैधानिक रुपमा सरकारलाई कर तिर्दै उद्यम संचालन गरिन्।
यो पेसाले उनलाई सन्तुष्टि दिलायो। गुमेको सामाजिक मान-प्रतिष्ठा विस्तारै फिर्ता हुन थाल्यो। धेरैको उनीप्रतिको नजर फेरियो। पहिला अश्लील शब्दमा होच्याउनेहरु विस्तारै उनीप्रति नतमस्तक हुन थाले। धेरैले सम्मानभावले हेर्न थाले।
जिल्लादेखि राष्ट्रियस्तरमा उनको चर्चा चुलिँदै गयो। उत्कृट उद्यमीको रुपमा सम्मान पाउन थालिन्। १९औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनी- २०७४ मा उत्कष्ट लघुउद्यमी पुरस्कार पाइन्। नेपाल सरकारबाट प्रमाणपत्रसहित नगद २० हजार पाइन्। उनी भन्छिन्, 'त्यो दिन म चैनले सुतेँ। विगत भुलायो।' पुरस्कारको राशी थोरै थियो तर सम्मान उचो थियो।
उनकाे परिश्रमकाे सम्मान गर्दै पशु सेवा कार्यालयले एउटा मेसिन सहयाेग गर्याे। मेसिनहरु राख्ने र उद्याेग व्यवस्थित गर्ने बेलामा कृषि विकास बैंकबाट १३ प्रतिशत ब्याजदरमा १० लाख ऋण पनि लिइन। यसले किस्ता तिर्न सकस हुने उनकाे अनुभव छ। तर, सहुलियत ब्याजदरकाे उद्यामी ऋण पाउन नसकेकाेमा उनकाे गुनासाे छ। सायद उनकाे पहुँच नपुगेर पनि हुन सक्छ।
उनको उद्योग गुजारामुखी मात्र थिएन। आम्दानीको दायरा फराकिलो बनाउने खालको थियो। भेडाको उनबाट बनाएका झोला, लिउ र राडीपाखी बेचर जुम्ला सदरमुकाममा लायककाे घर, घडेरी जोडेकी छिन्। खर्च कटाएर वार्षिक चार-पाँच लाख बढी बचत गर्दै आएकी छिन्। 'अहिले कमाइ राम्रो छ। घर, घडेरी त्यसैबाट जोडेकी हुँ। श्रीमान बेरोजगार छन्, तीन छोराछोरी पढाउनेदेखि सबै खर्च राडीपाखीबाटै चल्छ,' उनले भनिन्, 'अब त यो हाम्रो प्राण हो।'
चानचुन (लगभग) १० हजारबाट सुरु गरेको उनको व्यवसायले करोड बराबरको परिणाम दिएको छ। सुरुमा काठका सामाग्रीबाट झोला, लिउ र राडीपाखी हातले बुन्थिन्। त्यसबेला बजार माग धान्न मुस्किल पर्थ्याे। अहिले साना आधुनिक मेसिनको प्रयोग गरेकी छिन्। जसले बजार माग धान्न सकेको छ।
उनी व्यवसायको लागि चाहिने प्रमुख कच्चा पदार्थ भेडाको उन छिमेकी जिल्ला मुगु, हुम्लाका साथै चीनबाट समेत आयात गर्छिन्। 'मैले सीप सिकेपछि मेरो आर्थिक अवस्थालाई हेरेर विभिन्न संघ संस्थाले काम दिन थाले। काम पाएपछि रात/दिन, भोक/तिर्खा नभनी काम गरेँ। आज आफ्नाे खुट्टामा उभिएकी छु। यही मेरा लागि सबैभन्दा ठुलो कुरा छ,' उनले हाँस्दै भनिन्।
हाल उनले आफ्नो उद्योगमा चार जना जनजाती महिलालाई ज्यालादारीमा काम दिएकी छिन्। उनीहरुले पनि राम्रै कमाइ गर्छन्। ती महिला बिस्तारै सिपालु भएका छन्। उनीहरुले बनाएका झोला एक हजारसम्म बिक्छन्, लिउ र राडीपाखी १० हजारसम्ममा बिक्री हुने गरेका छन् भने कोट बनाउने कपडा मिटरकाे दुई हजारमा सजिलै बिक्री हुन्छ।
उत्पादन कसरी बढाउने त्यही धोको छ। बजारको कुनै चिन्ता छैन। 'जनजाती भोटे महिलाहरु काम नपाएर अहिले पनि जाँडरक्सी बनाएर बेच्छन्। यो उनीहरुको बाध्यता हो,' उनले आफ्नाे अमललाग्दो विगत सम्झिदै भनिन्, 'खेतीपाती, व्यापार, व्यवसाय नभएकाहरु भोको पेट पाल्न जाँड बनाएर बेच्न बाध्य महिलालाई रोजगारी दिएकी छु। उनीहरुलाई देख्दा आफ्नाे विगत सम्झिन्छु। आँखा रसाउछन्। उनीहरु पनि सीप सिकेर म जस्तै बनुन्। मेराे चाहना यही हाे।’ पीडित महिलाहरुले आफ्नाे जस्ताे उद्यम गर्न चाहेकाे खण्ठमा सकेकाे सहयाेग गर्ने बताउँछिन्।
पछिल्लो समय बजारमा नयाँ नयाँ डिजाइनका कपडाको माग भइरहेको छ। राडीपाखीका साथै उनिका कपडाले मनाङ, मुस्ताङ, सुर्खेत, काठमाडाैँलगायतका सहरहरुलाई बजार बनाउन सकेका छन्।
मागअनुसार पूर्ति गर्न नसकिएकाले उनले अब ठुलो उद्योग संचालन गर्ने सोच बनाएकी छिन्। लगानी बढी लाग्ने भएकाले घरजग्गा धितो राखेर ऋण निकाल्ने सोच छ। करिब एक करोडको लगानीमा जुम्ला सदरमुकामै ठुलाे उद्योग खोल्ने र देशका विभिन्न जिल्लामा अर्गानिक खाद्य वस्तुसहितको झोला, लिउ र राडीपाखी तथा उनिका कपडा निर्यात गर्ने र विदेशसम्म बजार विस्तार गर्ने योजना छ। उनको यो महत्वाकांक्षी योजना सफल भएमा उनका सामानको बजार विस्तार हुनुका साथै रोजगारी प्रवर्द्धन हुनेछ भने राज्यले कर पाउनेछ।
गरिबीका कारण सानोमा विद्यालयको मुख नै नदेखेकी उनी पढ्न नपाएकोमा पछुतो मान्छिन्। तर, प्रौढ शिक्षा पाएकाले सामान्य लेखपढ र हर हिसाबमा खास समस्या छैन। अहिले उनी साँझतिर तिब्बतीयन भाषाको कक्षा पनि लिइरहेकी छिन्।
रोजगारीको सुनौलो गन्तव्य विदेशलाई सम्झने नेपाली समाजलाई हाम्रो स्थानीय श्रोत, साधन, श्रम र सीपको प्रयोग गरेर अगाडि बढ्न सकिने उनको राय छ।
मुगु ताखाबाट सुरु भएको उनको कथाले जुम्ला चन्दननाथ नगरपालिका- २ मा निरन्तरता पाइरहेकाे छ।