जुम्लाकाे तातोपानी गाउँपालिका– १ स्थित बाइराँका गाउँ शुद्ध खानेपानीकाे अभावले गुज्रिरहेकाे छ, जसका कारण वर्षाैं अघिदेखि नदीकाे दूषित पानी पिउनुपर्ने बाध्यताकाे विकल्प छैन।
पाँच दशकदेखि स्थानीय मिनबहादुर शाही र उनकाे परिवारले नदीकाे दूषित पानीले पिउँदै आएका छन्। ‘अहिले गाउँमा लिफ्टमार्फत् तिला नदीको पानी पुगेकाे छ,’ उनले दुखेसाे सुनाए, ‘अझै खोलाकै पानीको भर छ। बाबु बाजेले खोलाकै पानी खाए, हामीले पनि खायौं।’
बाइराँका गाउँमा पानी पुर्याउने विषय स्थानीयदेखि संघकाे चुनावमा सबै राजनीतिक पार्टीका चुनावी एजेन्डा बने। तर, गाउँलेकाे दैनिकी फेरिएकाे छैन। शाहीले थपे, ‘पानीकाे चुनावी राजनीतिले निकास दिन सकेन।’
गाउँलेहरु बाजे परबाजेकाे पालादेखि दूषित पानी खाइरहेका छन्। पानीले काकाकुल बाइराँकाका स्थानीय अहिले पनि तिला नदीको पानीको सहारामा बाँचिरहेका छन्।
बाइराँकामा पानी पुर्याउलाई २०६४ सालदेखिका माननीय र वडासम्मका प्रतिनितिले प्रमुख मुद्दा बनाएकाे अनुभव छ, स्थानीय छुमकली सार्कीकाे।
गाउँकाे जनसंख्या बढ्दाे छ। नजिक पानीको स्रोत छैन। तीनै तहका सरकारले देखाएकाे उदासीनताकाे परिणाम वर्तमान समयमा समेत गाउँ स्वच्छ खानेपानीको पहुँचमा पुग्न सकेकाे छैन।
‘नेताले हामीलाई भोट बैंकका रूपमा प्रयोग मात्रै गर्ने गरेका छन्,’ सार्कीले भनिन्, ‘भाेट पाएपछि कसैले पनि हाम्राे प्यासको मतलब गरेनन्। स्वच्छ पानी पिउने हाम्राे अधिकार नै कुण्ठित भएको छ।’
वर्षाैंदेखि बाइराँका गाउँका एक सय २० घरधुरी दूषित पानी खाइरहेका छन्। याे परिस्थितिबाट पार पाउनलाई लिफ्टकाे प्रयाेग गरिए पनि त्याे पर्याप्त नभएकाे स्थानीय वचन शाहीले बताए।
‘गाउँमा पुगेको लिफ्टले प्रतिघरमा ४० लिटर मात्रै पानी भर्न मिल्छ,’ उनले भने, ‘पर्याप्त खानेपानी छैन। सरसफाइ गर्नलाई पानी छैन। हिउँद वर्षामा बग्ने तिला नदीकाे दूषित पानी हाम्रो सहारा हो।’
सिचाइँ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठकाअनुसार बाइराँका गाउँमा तिला नदीको पानी लिफ्टमार्फत् खाइरहेका छन् तर त्यो पानी खान योग्य हो, होइन ल्याब टेष्ट गरिएको छैन।
‘स्थानीयले ल्याब टेष्टको लागि माग गरेका छैनन्। माग नभए पनि हामीले छिट्टै ल्याब टेष्ट गर्ने योजना बनाएका छौँ,’ उनले भने, ‘खानेपानीको समस्या भएपछि सौर्य ऊर्जाबाट लिफ्टमार्फत् नदीको पानी गाउँमा पुर्याएको हो।’
बृहत् धौलीगाड परियाेजना सम्पन्न नभई बाइराँका गाउँकाे खानेपानी समस्या समाधान नहुने गाउँलेहरुकाे बझाइ छ। तर, त्याे पानी खान पाउन लंकाकाे सुनजस्ताे भएकाे छुकमलीकाे बुझाइ छ।
‘तर, सार्वजनिक सराेकारकाे बृहत् धाैलीगाड खानेपानी आयाेजनाकाे गति कछुवातालमा भएकाे देखिन्छ,’ उनले भनिन्।
बजेट सुनिश्चित भएमा बृहत् धौलीगाड खानेपानी आयोजना आगामी आर्थिक वर्षमा सकिने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका लेखापाल सन्तोष चौलागाईंले बताए।
उनले भने, ‘बजेट सुनिश्चित भयाे र निर्माण कार्यमा कुनै बाधा अड्चन नभए आगामी २०८१ मै आयोजनाको काम सकिनेछ।’
आयोजना १ अर्ब २६ करोड ८ लाख ४९० रुपैयाँ बजेटमा सम्पन्न हुनेछ। यसबाट चन्दननाथ नगरपालिकाका १० वडा, गुठीचौरका ३ वडा र तातोपानीका ६ वडाका ८ हजार ६९५ घरधुरीका ४४ हजार १६३ जनसंख्या आयोजनाबाट लाभान्वित हुने छन्, जसबाट बाइराँकालगायत गाउँमा खानेपानीको समस्या समाधान हुनेछ।