विश्वव्यापी प्रभाव छाेडेकाे ‘जुम्ला रारा अल्ट्राम्याराथन’ भाेलि हुँदै

कर्णाली स्पाेर्टस् क्लब अब हाइ अल्टिच्युटमा दौडिने खेलाडी उत्पादन गर्ने ब्राण्ड बनिसकेको छ। गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल हरि रोकायाको छत्रछायामा हुर्किरहेको कर्णाली स्पाेर्टस् क्लब स्थापना भएदेखि सरोज शाहीको टिमले हाँकिरहेको छ।

विश्वारुपा बुढा, सुनमाया बुढा, राममाय बुढा, रेजिना भण्डारी, सीता आचार्य, मञ्जु बुढालगायत विश्वप्रसिद्ध खेलाडी उत्पादन गरेको कर्णाली स्पोर्टस् क्लब अब संसारभरका खेलाडी जुम्लामा ल्याएर तालिम दिने हैसियत बनाउन सफल भएको छ।

देशभरबाट खेलाडीहरु जुम्ला आएर तालिम लिइरहेको र जुम्लाका खेलाडीले विश्वका थुप्रै देशहरुमा थुप्रै पटक मेडल जितेको देखेपछि जुम्लाको भूगोलसँग लोभिएर तालिम लिन आउनेको संख्या दिनानुदिन बढ्दो छ। केही समयअगाडि भारतबाट अएका खेलाडीले प्रशिक्षण लिएर बिदा भइसकेका छन्।

क्लबले खेलाडी उत्पादन गरेर दुनियाँभरका प्रतियोगितामा सामेल गराएर मेडल जितेर मात्रै प्रसिद्धि कमाएको छैन, बरु संसारभरबाट खेलाडी जुम्लामै बोलाएर जुम्लादेखि हिमाली भेगको समुद्र मानिने रारा तालसम्म ४९ किलोमिटर दाैडाएर मेडल दिन्छौं भनिरहेको छ। तर, संसारभरका एकसेएक खेलाडीहरुलाई उनकै आँगनमा गएर हालकायल पारेर मेडल जित्ने जुम्ली खेलाडी घरै अगाडिको ट्रफी सितिमिति अरुको हात लाग्न दिदैनन्।

क्लबले यसरी मेडल दिने गरी आयोजना गर्ने कर्णालीकै सबैभन्दा ठुलो दौड प्रतियोगिता हो, ‘जुम्ला रारा अल्ट्रा म्याराथन।’ जसको चाैथाे संस्करण भाेलि अर्थात् वैशाख ११ गते लाेकतन्त्र दिवसको अवसर पारेर हुँदैछ।

चाैंथाे संस्करणका लागि संचालन गर्ने जिम्मेवारीको गरुङ्गाे भारी उठाइरहँदा पनि नथाकेका अध्यक्ष शाहीको जीउभरि उमंग प्रसारित छ।

‘यो एक साहसिक पर्यटनलाई उत्प्रेरित गर्ने गतिविधि हो, जसले थकान नामको शब्दलाई नै गायब पारिदिएको छ,’ हँसिलो मुहारलाई उज्याले बनाउँदै उनले भने, ‘कठिनाइको कयाैं पहाड फाेट्न परे पनि फाेडाैंला भन्ने साहस जुटेको छ।’

उनकाअनुसार म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ। ठाउँ–ठाउँमा खेलाडी सहभागिताको लागि निम्तो दिने, प्रचारप्रसारलाई तिब्र पार्ने, रुट क्लियर गराउने, स्वयंसेवक खटाउनेलगायत काम म्याराथनकै गतिमा अगाडि बढेका छन्। यसले कर्णालीका अल्ट्रा धावकमा उत्साह थपेको छ।

विभिन्न देशका प्रतियोगितामा सहभागी भइ मेडल जितेका विश्वप्रसिद्ध खेलाडी सुनमाया लगायतले भाग लिँदा होस् या कहिले नाम नसुनिएकी उम्मकली बुढाहरुले कुर्ता सुरुवालमा दौडिदा होस् अल्ट्रा म्याराथनमा कर्णाली स्पोर्ट क्लबको गतिविधि कर्णालीको लागि माइलस्टोन बन्दै गएको छ।

हरेक वर्ष वसन्तमा नयाँ पालुवा पलाएर थपिएका पातझैं क्षमतावान खेलाडी थपिदैछन्। प्रतियोगिताका कारण चैतसम्म मस्त सुतेका जौँका विरुवा मसान्तपछि हर्लक्क बढेझैं खेलाडी बढिरहेका छन् भने पसाएका जौँका बालामा हावा लागेर सुसाएझैं खेलाडी सुसाइरहेका धावक हरि रोकायाले बताए।

‘एउटा अल्ट्रा रनरको लागि आफ्नो जीवनकालमा यो भन्दा बढी खुसीको कुरा के होला ?,’ हिमाली चितुवाको गतिमा दौडिने उनले उही रफ्तारमै भने,‘अल्ट्रामा कर्णालीको भविष्य उज्जवल छ। बिहान पूर्वमा उदाएको सूर्यझैं चम्किएका खेलाडी देख्दा मन त्यसै चङ्गा हुन्छ। जुम्ला रारा अल्टा म्याराथनले सूर्यको काम गरिरहेको छ।’

उनले भनेझैं जुम्ला रारा अल्ट्रा म्याराथनमा इतिहासका दुर्लभ रेकर्ड बनेका छन्। भने, आगामी दिनमा पनि अरु नयाँ–नयाँ रेकर्डहरुको चाँङ लाग्ने नै छ। जुम्ला रारा अल्ट्राम्यारथनको प्रथम र दोस्रो संस्करणमा क्रमशः सुनमाया बुढा र राममाया बुढा दुबै दिदी-बहिनी प्रथम हुनु दुर्लभ रेकर्ड भएको अध्यक्ष शाहीले बताए।

उनले भने, ‘यसले नै कर्णालीलाई उत्साहको संचार गराइरहेको छ। म्याराथनमा सहभागी बन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई कर्णालीको जुम्ला हुँदै मुगुसम्म दौडाएर भविष्यको सुन्दर गोरेटो निर्माण गरिरहेको छ।’

यसपालिकाे म्याराथन उद्घाटन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आउँदैछन्। त्यसैले तुफानी वेगमा म्याराथनको तयारी चलिरहेको छ। हाल स्वयंसेवकहरु रुटमा बसिरहेका छन्।

संसारभरका धेरैजसाे अल्ट्रा म्याराथन प्रतियोगितामा माथिबाट ओरालाे दाैडिने गरी रुट तयार पारिएको हुन्छ। तर, जुम्ला रारा अल्ट्रा म्याराथन भने तलमाथि दाेहाेराे दाेडिनुपर्ने खालकाे छ। त्यसमाथि रुटकाे उचाइ अनाैठाे खालकाे रहेकाे अध्यक्ष शाहीले बताए।

उनले भने, ‘२३ सय मिटरकाे उचाइबाट सुरु भएकाे यात्रा ३७ सय मिटरमाथि पुगेपछि ओरालाे झर्छ। फेरि २३ सयबाट उकालाे लाग्याे भने ४१ सय मिटरकाे उचाइसम्म दाैडिनुपर्छ।’

याे प्रतियोगिकाे रुटमा गाउँ देखिन्छन्। विभिन्न उचाइका जंगल देखिन्छन्। सल्ला, धुपी, देवद्यार, भाेजपत्रदेखि औषधीय गुण भएकाे लाैंठ सल्ला पनि देखिन्छन्। जडीबुटीकाे गन्ती छैन। घाँसे मैदानदेखि बुकिका पाटन, भिर पाखा सबै देखिन्छन्। प्रतियोगितामा सामेल हुनेदेखि प्रतियोगिताकाे आनन्द लिनेसम्म सबैमा यी कारणहरुले प्रभाव परेकाे छ।

यसपाली खेल क्षेत्रकाे चर्चित वेवसाइड एसिया ट्रेल मास्टर डट कमकाे रेसकाे विषयमा डिटेल राखेर प्रचारप्रसार गरिरहेकाे छ। प्रतियोगिताकाे लागि प्रतिनिधिसमेत उसैले पठाउँदैछ। म्याराथनकाे विश्वव्यापी रुपमा हुँदा खेलमा सहभागी हुने खेलाडी थपिएकाे आयाेजक क्लबले जनाएकाे छ।

पी.एचडी. गरेका पनि जुम्ला रारा अल्ट्राम्याराथनमा सहभागी हुन आउँदैछन्: सरोज शाही

प्रकाशित मिति: : 2023-04-23 21:30:00

प्रतिकृया दिनुहोस्

    आहा क्या गजबको लाग्यो मलाई यो समाचार पढ्दा समाचार लेख्ने शैली पनि उत्कृष्ट छ सबै कुराहरू पुष्टि भएको समाचार यस्तै राम्रा राम्रा समाचार पढ्न पाईयोस् 🙏

    • 11 महिना अगाडि
    • विक्रम तिरूवा सलिन