अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ६ नरपानीमा यात्रु वाहक बस दुर्घटनामा एकैपटक १९ जनाले ज्यान गुमाए। ११ मंसिर २०७६ मा भएको उक्त बस दुर्घटनामा १८ जना घाइते भए। अनुसन्धानपछि प्रहरीले बस दुर्घटनाको कारण साँघुरो सडकमा तीव्र गतिमा बस गुड्नु रहेकाे बतायाे।
१९ मंसिर ०७६ मा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ७ मा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाए। उक्त दुर्घटनामा पनि १८ जना घाइते भए। उक्त बस दुर्घटनाको कारण थियो, घुम्ती सडकमा बस तीब्र गतिमा चलाउनु।
२१ असार ०७९ मा रामेछापको सुनापति गाउँपालिका– ५ लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भयो। २० जना घाइते भए। उक्त बस दुर्घटनाको कारण भने अलि फरक थियो। दुर्घटनाग्रस्त बसको ब्रेकको पाइप फुटेको अवस्थामा प्लाष्टिकले बाँधेर बस गुडाउँदा दुर्घटना भएको खुलेको थियो।
नेपालमा यस्ता कहालीलाग्दाे बस दुर्घटनाका घटना सामान्य अंकमा गणना गर्न सकिँदैन। महालेखा परीक्षकको ६०औँ प्रतिवेदनले नेपालमा पाँच वर्षमा १३ हजार जनाले सवारी दुर्घटनामा जनाले ज्यान गुमाएकाे तथ्यांक सार्वजनिक गरेकाे छ। यस्ता तथ्यांक हेर्ने हो भने नेपालको सवारी दुर्घटनाको अवस्था दयनीय छ।
प्रतिवेदनअनुसार २०७४ देखि २०७९ सम्म १ लाख सवारी दुर्घटनामा मात्र परेर अकालमै १२ हजार ८ सय ५३ जनाले ज्यान गुमाए। पाँच वर्षमा १२ हजार बढी नागरिकले सवारी दुर्घटनामा परी ज्यान गुमाउनु सामान्य विषय नरहेको प्रतिवेदनमा उल्लेख छ।
नेपालमा २०५२ सालबाट सुरु भएको १० वर्षे सशस्त्र युद्धमा १७ हजारले ज्यान गुमाएका थिए। पाँच वर्षमा सवारी दुर्घटनामा करिब १३ हजार जनाले ज्यान गुमाए। यही अनुपातमा सवारी दुर्घटना हुने हो भने दश वर्षमा युद्धमा भन्दा बढी २४ हजार बढीको ज्यान जन सक्ने देखिन्छ।
यस्तै महालेखाको प्रतिवेदनमा पाँच वर्षमा २६ हजार ८७४ जना गम्भीर घाइते भए भने ७४ हजार ५२२ जना सवारी दुर्घटनामा सामान्य घाइते भए। यसरी हेर्दा नेपालमा सवारी दुर्घटनाको अवस्था कहालीलाग्दो नै छ। जसलाई पाँच वर्षमा झण्डै एक लाख वटा सवारी दुर्घटनामा परेको तथ्यांकले पुष्टि गर्छ। महालेखाको प्रतिवेदनमा पाँच वर्षमा ९९ हजार ९०९ वटा सवारी दुर्घटनामा परेका छन्।
वर्षेनि बढ्दै सवारी दुर्घटना
नेपालमा वर्षेनि सवारी दुर्घटना बढिरहेको छ। महालेखाको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/०७५ मा १० हजार ९ सय ६५ सवारी साधनहरु दुर्घटनामा परेका छन्। जसमा २ हजार ५ सय ४१ जनाले ज्यान गुमाए भने १२ हजार ३ सय ९२ जना घाइते भए। यस तथ्यांक हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा सावरी साधन दुर्घटना दर ८ प्रतिशतले वृद्धि भएको हाे।
यसैगरी आर्थिक वर्ष २०७५/०७६ को तंथ्याक हेर्न हो भने यो वर्ष सवारी दुर्घटना २२ प्रतिशतले वृद्धि भएको छ। यस आर्थिक वर्षमा १३ हजार ३ सय ६६ सवारी साधन दुर्घटनामा परेका छन्। जसमा २ हजार ६ सय ७८ जनाले ज्यान गुमाए। १४ हजार ७ सय ३६ जना घाइते भए।
यस्तै महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ मा १६ प्रतिशतले सवारी दुर्घटनामा वृद्धि भएको छ। यस वर्ष १५ हजार ५ सय ५९ सवारी साधन दुर्घटनामा परे। जसमा २ हजार २ सय ५१ जनाले ज्यान गुमाए भने १५ हजार १२ सय १७ जना घाइते भए।
आर्थिक वर्ष ०७७/०७८ मा सवारी दुर्घटना ३३ प्रतिशतले वृद्धि भई २० हजार ६ सय ४० सवारीसाधन दुर्घटनामा परे। जहाँ २५ सय जनाको मृत्यु भयो भने २५ हजार ४८ जना घाइते भए।
यसैगरी २०७८/२०७९ मा सवारी दुर्घटना ९१ प्रतिशतले बढेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। यस आर्थिक वर्षमा ३९ हजार ३ सय ७९ सवारी साधन दुर्घटनामा परे। जसमा २८ हजार ८३ जनाले ज्यान गुमाए भने ३३ हजार ४ जना घाइते भए।
माथिकाे तथ्यांकअनुसार ५ वर्षमा सवारी दुर्घटना १६ प्रतिशतले बढेको देखिन्छ। जसमा सबैभन्दा बढी २०७८/२०७९ सवारी दुर्घटना भएको छ। वर्षेनि सवारी दुर्घटना वृद्धि हुनुले सरकारले सवारी दुर्घटनामा तदारुकता नदेखाएको प्रष्ट हुन्छ।
यस्ता छन् सवारी दुर्घटना बढ्नुका कारण
ट्राफिक प्रहरीकाअनुसार सडक दुर्घटनाको मुख्य कारण चालकको लापरवाहीले ६७ प्रतिशत, यात्रुको गल्तीले ४ प्रतिशत, गलत र जथाभावी ओभेरटेकबाट ४ प्रतिशत, तीव्र गतिका कारण १५ प्रतिशत, यान्त्रिक गडबढीका कारण ४ प्रतिशत र अन्य कारणबाट ६ प्रतिशत रहेको छ।
मुख्यतया सडक दुर्घटना हुनु प्रमुख कारणहरुमा चालकले ट्राफिक नियम पालना नगर्नु, सडककाे दुरावस्था, यान्त्रिक समस्या, मानवीय त्रुटि आदि रहेका छन्।
सवारी साधन दुर्घटना कम गर्न नेपाल प्रहरीले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी’ ( कार्य सञ्चालन सुपरिवेक्षण र समन्यव) ऐन २०७३ को दफा ३ बमोजिम ट्राफिक व्यवस्थापनसम्बन्धी काम, कर्तव्य तथा विभिन्न योजनाहरु बनाउने गर्छ।
तर, ती योजनाहरुको प्रभावकारी कार्यन्वयन हुन नसकेको माथिको तथ्यांकले देखाउँछ। महालेखाको प्रतिवेदनले सवारी दुर्घटना न्यूनिकरण गर्न ठाउँ–ठाउँमा सिसिटिभी क्यामरा जडानदेखि स्पिड बेक्ररहरु बनाउने, जेब्रा क्रस बनाउने, रोड लाइट राख्नेसम्मको सुझाव दिएको छ।
के भन्छ प्रहरी ?
काठमाडौँ ट्राफिक प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट सरकारसँग सडक आयोजना निर्माणको औचित्य पुष्टि गर्ने वैज्ञानिक संयन्त्र नहुँदा जथाभावी सडक बनाउने प्रवृतिका कारण सडक दुर्घटना बढेको बताउँछन्।
‘हामीसँग सडकको औचित्य प्रभावकारिता र मर्मत सम्भारको प्रणाली छैन। सडक निर्माणको योजना तर्जुमा गर्नेदेखि मर्मत/सम्भारको पद्धती नहुँदा समस्या बढेको हो,’ भट्टले भने।