बिएल संवाददाता
अमेरिकामा सप्ताहान्तका दिन कहीँ न कहीँ मास सुटिङका घटना भएकै हुन्छन्। लाग्छ, अमेरिकामा सप्ताहान्त भनेकै बन्दुकेहरूको रजाइँ गर्ने दिन हो।
सप्ताहान्तमा छुट्टी हुने भएकाले परिवारका सदस्यसँग घरबाहिर निस्कने, किनमेल गर्ने दिन यिनै हुन्। तर, पछिल्लो समयमा अमेरिकामा बढ्दो मास सुटिङका घटनाले सार्वजनिक स्थानमा जान पनि डरमर्दो स्थिति छ। त्यसमा पनि बढी मात्रामा श्वेतहरू भेला हुने र आवातजावत गर्ने स्थानमा जान त दुईपटक सोच्नुपर्ने हुन्छ।
यो सप्ताहान्तमा पनि मास सुटिङका घटना घटेका समाचार अमेरिकी सञ्चारमाध्यममा छरपष्ट छन्। शनिबार राति अलाबामा राज्यको डेडमिलमा जन्मदिनको पार्टी मनाइरहेको ठाउँमा भएको गोलीबारीमा चारजनाको ज्यान गएको र दर्जनौ घाइते भएको समाचार बाहिरिएको छ।
घटनाको विस्तृत विवरण सार्वजनिक भएको छैन। प्रहरीले अनुसन्धान जारी रहेको बताइएको छ।
शनिबार नै केन्टकी राज्यको लुइभिलमा अर्को एक मास सुटिङको घटना घट्यो। त्यहाँको एक सार्वजनिक पार्कमा बन्दुक आक्रमण हुँदा दुई जना मारिए भने चारजना घाइते भए।
केही दिन अगाडि लुइभिलको एक बैंकमा भएको मास सुटिङमा पाँचजनाको ज्यान भएको थियो।
आइतबार अपरान्हसम्म यो साता मात्र दुई घटनामा ६ जनाले ज्यान गुमाए। आइतबार बाँकि नै छ, अहिले नै यो साता यति नै घटना हुन् भन्न सकिने स्थिति छैन।
वर्ष २०२३ को पहिलो १५ सातामा अमेरिकामा एकसय ६२ मास सुटिङका घटना घटिसकेका छन्। यसको अर्थ हरेक दिन औसतमा १.५ मास सुटिङका घटना घटिरहेका छन्। यो आफैंमा एक डरलाग्दो तथ्याङ्क हो।
अमेरिकमा बन्दुक राख्नु सामान्य कुरा हो। दाम पनि सस्तो, सहजै पाइने पनि। यहाँका श्वेतहरू त बिना बन्दुक आफू सुरक्षित नै महसुस गर्दैनन्। तथ्यांकले पनि के देखाउँछ, अमेरिका संसारमा सबैभन्दा बढी बन्दुक भएको देश हो। अमेरिकामा मानिसभन्दा बढी बन्दुक छन्।
अमेरिका कोभिडपछि आर्थिक रूपमा तंग्रिन सकेकै छैन। कोभिड कहरले अर्कै खालको कामको संस्कृति र जीवनपद्धतिको सुरूवात गराएको छ। घरबाटै काम गर्ने हाइब्रिड, भर्चुअल संस्कृतिले अमेरिकीहरूलाई घरबाहिर जानै नपर्ने एक किसिमको मनोटोनस जीवन थोपरी दिएको छ। महंगी बढ्दो छ, आम्दानीले जीवन धान्न मुस्किल छ। यसले परािवारिक तनाव मात्र बढाएको छैन, व्यक्तिगत निराशा, कुण्ठा र आवेग पनि बढाएको छ।
अमेरिकामा सन २०२३ को पहिलो १५ सातामा एकसय ६२ मास सुटिङका घटना घटेका छन्। यसलाई औसतमा बदल्दा एकदिनमा १.५ वटा यस्ता घटना घटिरहेका छन्। खासगरी सप्ताहान्तमा हुने यस्ता घटनाका कारण सप्ताहान्तमा मरिएला कि भन्ने पीर बढेको छ।
यो एक किसिमको एन्जाइटीमा अमेरिकीहरू अभ्यस्त हुन सकिरहेका छैनन्। अमेरिकीहरू यसै पनि स्वभावैले जिद्दी हुन्छन्, त्यसमा पनि आम्दानी र खर्चको समीकरण नमिल्दा रिसको पारो पनि चढाइदिएको छ।
यस्तो स्थितिमा अब उनीहरू मुखले तर्क गर्नेभन्दा आफूसँग भएको हतियारले नै तर्क गर्नेको मुख नै बन्द गर्न लागेका छन्।
अमेरिकाका लागि यो आफैंमा ठूलो समस्या हो। पहिला पहिला अमेरिकीहरू गड र गनले बचाउँछ भन्थे। अहिले गनले बचाउन हैन, मार्न थालेको छ भने गड पनि विलखबन्दमा परेका छन्।
हरेक पटक चुनावमा गन ठूलो मुद्दा बन्छ। अर्को वर्ष २०२४ को चुनावमा पनि बन्दुक मुद्दा बन्ने नै छ। डेमोक्रेटहरू सधैंझै बन्दुक नियन्त्रणको कुरा गर्नेछन् तर रिपब्लिकनहरू भुइँमा कुरा खस्न नपाउँदै त्यसको विरोधमा जाइ लाग्नेछन्। अमेरिकी राजनीतिको यो सदाबहार तँ तँ, म म त्यति सजिलै सकिने छैन।
पछिल्लो समयमा अमेरिकामा नेपाली डायस्पोरा पनि बढ्दो छ। मान्छेको संख्या बढेजस्तै समस्याहरू पनि बढेका छन्। स्वभाविक र अस्वभाविक मृत्युका घटना पनि बढेकै छन्। एकातिर नेपालीपन बचाउनु छ, अर्कोतिर आफूलाई अमेरिकी जीवन पद्धतिमा पनि ढाल्नु छ। पूर्व र पश्चिमको बिलोममा उभिएका यी दुई ध्रुवमा खुट्टा टेकेर ठिङ्ग उभिन सजिलो छैन।
यस्तो मझधारको जीवनमा पनि नेपालीहरू बन्दुकप्रतिको मोह र त्यसको उन्मादबाट भने बचेका छन्। तर, अमेरिकामा लाखभन्दा बढीको संख्यामा नेपालीमूलका भुटानी पनि छन्। नेपाली मूलका भएकाले उनीहरूले आफ्नो सजिलोअनुसार आफूलाई कतै नेपाली पनि भन्दै आएका छन्। उनीहरूमा भने तुलनात्मक रूपमा बन्दुकप्रतिको आकर्षक बढेजस्तो देखिन्छ। यो समुदायमा भने यदाकदा बन्दुक पड्किन थालेका मात्र छैनन्, ज्यान लिन पनि थालिएका छन्। तर, ती घटना मास सुटिङकै हैसियतमा भने उक्लिन सकेका छैनन्।
भनिन्छ नि, जहाँ गए पनि समस्याले छोड्दैन। नेपालमा अर्कैखाले समस्या थिए, अमेरिकामा अर्कैखाले समस्या। यतिबेला अमेरिकामा भने कहिले अनाहकमा गोली लागेर मरिएला कि भन्ने त्रास एक गम्भीर समस्याका रूपमा उपस्थित भएको छ। खासगरी स्कूलमा बढ्दो मास सुटिङका कारण स्कूले विद्यार्थीका बाबुआमा त सधैं तनावमै हुनुपर्ने स्थिति छ। विहान स्कूल पठाएका छोराछोरी दिउँसो फर्कन्छन् कि फर्कदैनन् भन्ने टुंगो छैन।
तिनै छोराछारीको भविष्यको बहानामा आफ्नो जन्मभूमी छोडिएर आइएको छ, उनीहरू नै मास सुटिङको शिकार भए भने ?
यो प्रश्नको उत्तरको कल्पना गर्दा पनि पीडा हुन्छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया