राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको विषयलाई लिएर प्रक्रिया दिएका छन्।
सभापति लामिछानेले आइतबार मध्यराति सामाजिक सञ्जालमार्फत् आफ्नो प्रतिक्रिया दिँदै रास्वपा भ्रष्ट्रलाई राख्ने, पाल्ने र जोगाउने पार्टी नभएको बताएका छन्।
‘पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौँ, कडा भन्दा कडा कारबाही गर्छौँ। बेथितिको बचाउ गर्दैनौँ बरु उदाङो पारी दण्डित गछौँ,’ लामिछानेले लेखेका छन्। उनले दुई करोड त के पृथ्वीभरिको पैसा दिए पनि त्यस्तो लेनदेनको धन्दा आफ्नो पार्टीमा नचल्ने दाबी गरेका छन्।
उनले पार्टी नयाँ भएको र पार्टीका नयाँ मानिसहरुलाई चिन्न गाह्रो भएको भने स्वीकारेका छन्। तथापि, पार्टीमा विधि भएकोले यसमा कुनै चिन्ता लिनु नपर्ने उनको भनाइ छ। ‘आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ,’ उनले लेखेका छन्।
उनले यही विषयलाई हतियार बनाएर आफूमाथि थप आक्रमण हुन सक्ने आशंका पनि गरेका छन्।
आफ्ना सांसदले प्रसाईंसँग पैसा मागेको भन्ने सामाचार मिडियाहरुले अडियोसहित ब्रेक गरेपछि लामिछाने बाराको कार्यक्रममा बोल्दै गर्दा सत्य/तथ्य छानबिन गरे ७२ घण्टाभित्र सांसदलाई कारबाही गर्ने बताएका थिए।
दिनभर चुनावी कार्यक्रममा व्यस्त रहेका लामिछानेले मध्यराति आफू दिनभरको कार्यक्रमले थाकेको उल्लेख गर्दै छोटो प्रतिक्रिया दिएका छन्।
देशमा सुशान कायम गर्ने भन्दै केही महिनाअगाडि मात्रै उदाएको रास्वपामा यस्ता कर्तुतहरु बाहिरिएपछि मतदाताहरु चिन्तित भएका छन्। कतिले त यो प्रकरणले वैशाख १० मा हुँदै गरेको उपनिर्वाचनसमेत प्रभावित हुन सक्ने अनुमान गरेका छन्।