कहालीलाग्दो संकटतिर उन्मुख देशको आर्थिक अवस्थाबारे गुलाबी चित्र प्रस्तुत गरे पनि स्थिति सरकारको लगामबाट बाहिर जान थालिसकेको छ। कर्मचारीलाई तलब, अवकाशप्राप्त पूर्वकर्मचारीलाई पेन्सन दिन पनि धौधौ हुनथालेको अवस्था शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेलामा थियो। गत मंसिरमा संसदीय निर्वाचन भएदेखि करिब पाँच महिनायता चार जना अर्थमन्त्री मुलुकले पाएको छ। तीनै जनाले विकास र समृद्धिको बाचा गरे र गए। अहिले चौथो अर्थमन्त्री डा. प्रकाशसरण महत बहाल छन्। यो संकटग्रस्त अर्थतन्त्र, अर्थमन्त्रीको क्षमता, योग्यता र कार्यकुशलताको अग्निपरीक्षाको समय हो।
मुलुक झन्झन् डुब्दै गरेको जहाजको नियति भोगिरहेको छ। भाषणले देश बन्ने भए नेपाल पहिले नै विश्वको सबभन्दा सम्पन्न र सुखी मुलुक भइसक्ने थियो। बेथिति, भ्रष्टाचार र दण्डहीनताको जगजगी भएको मुलुकमा विकासलाई गति दिने मुख्य शक्ति–युवकहरू दिनहुँ हजारौँको संख्यामा विदेशिएपछि लगानीकर्ता तर्सेर भाग्ने नै भए। भएका संस्था पनि क्रमशः धराशायी हुँदै जाने स्थितिमा छन्। गरिखाने समुदाय आफ्नै मुलुकभित्र चाहेर पनि बस्न नसकेपछि भाग्ने बाटो खोज्छ। यिनै युवा हुन् जसले विदेशमा रगत, पसिना र आँसु एकसाथ बगाएर पठाएको पैसाले अर्थतन्त्र चलेको छ। अर्थतन्त्रलाई जीवन्तता दिन यसका जरामा गोबर र माटो बनेर रहने, विदेशिँदै गरेका ती गुमनाम युवाहरूले अर्थमन्त्रीको बजेटबाट के पाएका छन्?