स्वर्णिम वाग्ले रास्वपा नेताहरुसँग वार्तामा, तनहु-१ बाट उम्मेद्वारी घोषणा गर्ने तयारी

नेपाली कांग्रेस परित्याग गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट उम्मेदवार बनाउने तयारी गरेको छ। जसका लागि वाग्ले र रास्वपाका नेताहरुबीच अहिले वार्ता चलिरहेकाे छ।

वाग्लेले बिहीबार दिउँसो काठमाडौंमा रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री डा. मुकुल ढकाललगायत नेताहरुसँग छलफलमा जुटेका छन्।

रास्वपाका नेताहरु र वाग्लबीच भेटवार्ता जारी रहेकाे रास्वपाका सह- महामन्त्रीले कबिन्द्र बुर्लाकोटीले बिएल नेपाली सेवालाई जानकारी दिए। तनहुँ- १ बाट उम्मेदवार बन्ने तयारीका साथ वाग्ले रास्वपामा प्रवेश गर्ने तयारी गरेका छन्।

रास्वपामा पनि वाग्लेको उम्मेदवारीबारे छलफल भइरहेको बुर्लाकोटी बताउँछन्। ‘पार्टीको प्रणालीअनुसार स्वर्णिम वाग्लेले पार्टी प्रवेशको पनि तयारी छ। उहाँले आज दिउँसो पार्टी सभापतिसहितका नेताहरुसँग भेटघाट गर्नुभएको छ,’ उनले भने, ‘आकांक्षी उम्मेदवारको नाम आजै बेलुका ७ बजे सार्वजनीक गर्दैछौँ। स्वर्णिम वाग्ले पनि उम्मेदवार बन्न सक्नुहुन्छ।’

आज साँझ ७ बजेसम्म कसलाई उम्मेदवार बनाउने भन्नेमा सहमति नजुटेमा प्रि-इलेक्सन (पार्टीभित्रका नेताहरुले भोट गरेर चयन गर्ने) गर्ने तयारीसमेत रहेको बुर्लाकोटीले बताए। वाग्लेले आज दिउँसो कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2023-03-30 17:44:00

प्रतिकृया दिनुहोस्