हार सबैलाई अप्रिय नै लाग्छ । एकदम असहज पनि । तर, हार र जित त देखाइ, बुझाइ र भोगाइको फरक मात्रै रहेछ ।
जन्मेसँगै हार र जितको लुकामारी त निरन्तर जारी रहन्छ । अनि केही झल्याकझुलुक झिल्कोको उज्यालोबीच जिन्दगीले फन्को मार्छ । गत चैत ५ गते स्ववियु निर्वाचनमा यस्तै हारको औँसीमा मैले जीवनभरको जुनेली भेटेको छु अर्थात् प्रिय हार भेटेको छु ।
विश्वविद्यालय प्रवेश गर्दा आफ्नो राजनीतिक मोह जाहेर गरूँला जस्तो त रत्ति पनि लागेको थिएन । म त पढ्न आएको मान्छे । तर, कीर्तिपुरको राजनीतिक माहोलमा बेस्सरी जोडिन पुगेछु । म फस्र्ट सेमेस्टर अध्ययन गदैगर्दा केही सिनियर दाइहरू आएर हामीलाई करार शिक्षकको स्वतः स्थायी नियुक्तिविरुद्ध विरोध कार्यक्रम सामेल हुन भन्नुभयो । हामी पनि क्लास नै उल्टिएर भीसी भवनअगाडि एकैछिनमा पुगेका थियौँ ।