‘२४औँ फ्लाेरा एक्सपाे’ चैत २० देखि सुरु हुने

पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्धनकाे लागि २४औँ फ्लोरा मेला हुने भएकाे छ।

‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नारासहित यही चैत २० देखि २४ गतेसम्म काठमाडाैँकाे भृकुटीमण्डपस्थित प्रदर्शनी क्षेत्रमा मेलाकाे आयाेजना हुने साेमबार काठमाडाैँमा आयाजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएकाे छ।

मेला फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना र पुष्प विकास केन्द्रको सह-आयोजनामा हुन  लागेकाे हाे।

मेलामा ६२ वटा व्यवसायीक स्टल, ल्याण्डस्केपिग स्टल ३ वटा, अफिसियल स्टल १० वटा, प्रतियोगितात्मक प्रदर्शनी ३ वटा र फुड स्टल २ गरी जम्मा ८० वटा स्टल रहने मेलाका संयोजक शिवबहादुर खड्काले जानकारी दिए।

मेलामा मौसमी फूल तथा नफूल्ने आलंकारिक बोट/बिरुवाहरु, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउ/विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिंचाइ प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहनेछ।

मेलामा सहभागी विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुबीच प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेसमेत कार्यक्रम रहेको खड्काले जानकारी दिए।

प्रदर्शनीमा पुष्प उद्यमी, व्यवसायी कम्पनीहरुको लागि पुष्प तथा पुष्पजन्य वस्तुको आफ्नो बजार बिस्तार गर्न, सूचना तथा नयाँ-नयाँ प्रजातीको विकास र गुणस्तर उत्पादनका क्षेत्रमा भएको प्रगतीको बारे ग्राहकलाई जानकारी गराउन, ग्राहकका आवश्यकता थाहा पाउन, बजार सर्वेक्षण गर्न, पुष्पसम्बन्धी नयाँ-नयाँ विकास भएका उत्पादनहरुलाई सार्वजनिक गर्न र ग्राहक उपभोक्ताहरुसँग आपसी सम्बन्ध स्थापना गर्न अभुतपूर्व अवसर प्रदान गरिएको छ।

यस वर्ष आयोजना हुने फ्लोरा एक्स्पोमा ४७ हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने र करिब ७५ लाखसम्मको व्यवसायीक कारोबार हुने  संस्थाले आंकलन गरेको उनले बताए।

प्रकाशित मिति: : 2023-03-27 15:07:00

प्रतिकृया दिनुहोस्