युग सर्वनाम उर्फ किरण पुन मगर। जो रोल्पाको सुनछाहरी गाउँपालिका वडा नम्बर ६ फगाममा जन्मिएर काठमाडौंमा उदायमान कविका रुपमा परिचय बनाइरहेका छन्। टेलिभिजन रियालिटी शो ‘दि पोइट आइडल’को प्रतिस्पर्धीको रुपमा सहभागी भए।
उनी दि पोइट आइडलको भोटिङ राउण्डसम्म पुगेका थिए। भोटिङ राउण्डबाट बाहिरिएका कवि सर्वनाम वाइल्ड कार्डमार्फत् टप ८ मा प्रवेश पाए। तर, उनी अर्को राउण्डमा प्रवेश गर्न सकेनन् र बाहिरिए।
उनै उदयमान कवि युग सर्वनामसँग बिएल नेपाली सेवाका लागि रविन पुन मगर (आइडु)ले कुराकानी गरेका छन्। पोइट आइडलको यात्रा, उनको भोगाइ र कवि र कविताका बारेमा उम्दा प्रश्न गरेका छन्।
प्रस्तुत छ, कवि सर्वनामसँग गरिएको कुराकानीको सम्पादित अंशः
तपाईं रोल्पाको विकट गाउँमा जन्मिनुभयो भूगोलले, क्षेत्रले कविता यात्रामा फरक पारेको पाउनुभयो ?
मैले त्यसरी गहिरिएर सोचेको छैन। मेरो समकालीन समयमा त्यति फरक भोग्नु परेन। तर, हामी भन्दा अघिल्लो पुस्ताले त्यो भन्नुहुन्छ। भूगोल, क्षेत्र वर्गले गर्दा हामीमाथि विभेद हुन्छ। केन्द्रको एउटा जमातले हामीलाई कवि ठान्दैन भन्ने गर्नुहुन्छ। मैले चाहिँ प्रत्यक्ष त्यस्तै विभेद भोग्नु परेन। तर, सामान्य प्रभाव पर्यो होला।
तपाईंलाई के कुराले कविता यात्रामा तानेर ल्यायो ?
ठ्याक्कै यही कुराले मलाई कविता यात्रामा तानेर ल्यायो भन्ने छैन। मेरो परिवारको पृष्ठभूमि पनि साहित्य होइन। तर, कवित्व चेत चाहिँ भगवानले नै दिनुभयो होला जस्तो मलाई लाग्छ। भित्र लुकेर बसेको कुरा अहिले बाहिर आउँदैछ जस्तो लाग्छ।
तपाईंको परिवार वा गाउँ/घरका काेही साहित्य यात्रामा हुनुहुन्थ्यो ?
हाम्रो बुबाको पुस्तामा त हुनुहुन्थेन होला। हाम्रो दाइ पुस्ताले त्यसलाई धेर–थोर भित्र्याउनु भयो। जसको प्रभाव हामीमा पर्यो जस्तो लाग्छ। त्यसकै फाइदा मैले लिन पाएँ र म अहिले यहाँ छु।
तपाईं जनयुद्धका घटनाक्रमलाई कवितामा पोख्नुहुन्छ, त्यो क्षेत्रभन्दा बाहिरका कविलाई तपाईंभन्दा के भिन्नता पाउनु भयो ?
म आफू प्रत्यक्ष रुपमा जनयुद्धलाई भोग्न नपाए पनि जनयुद्धका कथा कहानी आमा–बुबाबाट सुनेको छु। अझ भनौँ म आफैं जनयुद्धको गर्भबाट जन्मेको हुँ। त्यसैले पनि होला ती युद्धकालीन कुराहरु मिसिएर आउँछन् जस्तो लाग्छ। मेरो आमा बाबाको भोगाइ सत्य लाग्छ। जहाँ म पग्लिन्छु कवितामा। त्यहाँको वातावरणले भूगोलको छाप पनि होला।
तपाईंले साहित्य यात्रा कविताबाटै सुरु गर्नुभएको हो ?
मेरो यात्रा गजलबाट सुरु भएको हो। समग्र रुपमा हेर्दा पनि धेरै जसो कविहरु गजल मुक्तकबाट आउँदा रहेछन्। म पनि गजल–मुक्तक लेख्दा–लेख्दै कवितामा ढल्किएँ, अब नसा बसिसक्यो।
गजल–मुक्तकबाट कविता यात्रा सुरु गर्नुको रहस्य के थियो ?
त्यतिबेला हाम्रो अग्रज दाइहरुले एउटा कविता अभियान सुरु गर्नुभएको थियो। म त्यहाँ सहभागी भएँ। उहाँहरुको कविता सुनेँ। त्यसपछि मलाईं लाग्यो खासमा लेख्नुपर्ने चाहिँ कविता पाे रैछ भनेर बिस्तारै कवितातर्फ लागेँ। त्यसपछि बिस्तारै कविता लेख्दै गएँ। मेरो कविता मन पराइदिनुभयो। त्यसपछि कविता भन्दा अन्त जान सकेको छैन।
कविता साहित्य लेख्नलाई अध्ययनले बढी भूमिका खेल्छ कि भोगाइले ?
त्यो त भोगाइले बढी भूमिका खेल्छ होला जस्तो लाग्छ। अध्ययनबाट आउने कविहरुको कवितामा आत्मा अलि बाँच्दैनजस्तो लाग्छ। भोगेर आउनेहरुको बढी नजिक हुन्छ। तर, अध्ययन जरुरी छ। अध्ययनले भोगाइ दिन्न तर नियम दिन्छ।
तपाईं पोइट आइडलको यात्रालाई कसरी सम्झिनुहुन्छ नि ?
म यो यात्रालाई राम्रैसँग सम्झिन्छु। अहिलेसम्म अन्य रियालिटी शोहरु आएका छन् तर कविताको पहिलो नै होला। साहित्य क्षेत्र साँघुरो ठाउँमा मात्र थियो। तर, आम जनतामा पुर्याउनलाई दि पोइट आइडलले ठुलो भूमिका खेल्यो। त्यसका लागि म आभारी छु। त्यसलाई सकारात्मक ढङ्गले लिन्छु। अन्य कुरा प्रक्रियागत कुरा होला।
रियालिटी शोहरु हामीले सोचेजस्तै हुन्छ कि के हो ?
हामीलाई पनि भित्रको सबै कुरा थाहा हुँदैन। तर, भोटिङको कुराहरु टेक्निकल कुरा हुन्। त्यसैले बाहिरिने मान्छे कम ट्यालेन्ट र रियालिटी शो जित्नेले सबै जान्ने भन्ने हुन्न जस्तो लाग्छ। किनभने, भोटिङबाट बाहिरिनेहरुले नि राम्रो गरिरहेको हुन्छन्। अरु सामान्य प्रक्रिया नै हो।
पोइट आइडलपछिको युग सर्वनाम र अगाडिको युग सर्वनाममा भिन्नता के छ ?
यो भन्दा अगाडि हामी साँघुरो घेरामा थियौँ। पोइट आइडलमा गएपछि धेरैले चिन्नुभयो। युग सर्वनामले चिन्नेहरुले किरण पुन मगर भनेर पनि चिन्नु भयो। यसले नि कविता लेख्छ भनेर पनि चिन्नुभयो। पहिलेभन्दा धेरै जनाले कविता लेख्ने रैछ भनेर चिन्न थाल्नुभयो।
कविता भोगाइ हो ?
हो। कविता कल्पना पनि हो। बुझाइ सबै हो।
आफ्नो भोगाइलाई कवितामा पोख्न पाउँदा खुसी नै हुनुहुन्छ ?
हो, खुसी छु। आफ्नो कवितामा आफू पोखिन पाउँदा खुसी लाग्छ। कहिलेकाहीँ दुःख पर्दा कहाँ कसरी मन बुझाउने पिर हुन्थ्यो होला। कविता यात्रामा हुँदा खुसी छु पोखिन पाउँछु।
युग सर्वनामले अहिले यो चर्चापछि साथी सर्कलमा फरक पाउनुभयो ?
त्यस्तो फरक त पाइन। तर अझ थप अग्रजहरु साथीहरु थपिए। खुसी लाग्छ। पुराना साथीहरू पनि सँगै छन्।
यो उमेरमा आउँदा कविता यात्रालाई बचाउन कति कठिन हुँदो रहेछ ?
एकदमै कठिन हुने रैछ। कुनै युद्धभन्दा कम छैन यो यात्रा। पैसा कमाउने उमेर हो। साथी सर्कलमा आफू पछि परे झैं लाग्ने। कविताबाट के हुने भन्ने अन्योल नै छ। यो यात्रा निकै गाह्रो थियो। यो निकै अप्ठ्यारो यात्रा गरे, गर्दैछु।
कवितामा प्रयोग हुने विम्बको सेलेक्सन कत्तिको गाह्रो काम हो ?
यो अलि संवेदनशील कुरा पनि हो। विम्बको प्रयोग गर्नैपर्छ। तर, चलाख लेखकले चलाखीपूर्ण रुपमा प्रयोग गर्छ। विम्बहरुले दर्शकलाई बुझाउन सक्नुपर्छ। सकेसम्म पाठकका लागि सरल कविता लेख्नुपर्छ भन्ने छ। म प्रयासरत छु। र, पनि मैले अलि बढी मेटाफोर प्रयोग गर्ने गर्छु।
अन्त्यमा तपाईंको आगामी यात्राको तयारी के छ ?
म त खासमा कुनै योजनाबिनै हिँड्छु। त्यस्ता ठुला योजना बनाउँदैनँ। जसरी चल्दै जान्छ जीवन सरल बगाउँदै जाने छु। हेर्दै जाउँ के हुन्छ। आज खुसी–खुसी बाँच्नुपर्छ भन्ने सोच बोक्छु।
भिडियाे: