राज्य सत्ता सञ्चालन गर्ने व्यवस्थामध्ये अत्यन्त उत्तम व्यवस्था लोकतान्त्रिक व्यवस्था मानिन्छ। यसलाई अङ्ग्रेजीमा `डेमोक्रेसी´ भनिन्छ। ग्रीस भाषामा 'डेमो' भनेको जनता, 'क्रेसी' भनेको शासन भन्ने अर्थ हुन्छ। यदि जनताद्वारा सरकार प्रमुखलाई मात्र चुनिन्छ भने त्यो प्रजातान्त्रिक व्यवस्था हो। जुन व्यवस्था नेपालमा २००७ पछिको क्रान्तिले ल्याएको थियो।
वीपी कोइराला २०१६ सालमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनेका थिए। यदि सरकार प्रमुखसहित राष्ट्र प्रमुखलाई पनि जनताद्वारा नै चुनिन्छ भने त्यस्तो शासन व्यवस्थालाई लोकतान्त्रिक गणतन्त्र व्यवस्था भनिन्छ। लोकतन्त्रको परिकल्पना ग्रीसका क्सेस्थिन्स नामक व्यक्तिले ३०० इसा पूर्व अगाडि गरेका थिए। उनलाई लोकतन्त्रको पिता पनि भन्ने गरिन्छ। उनले लोकतन्त्रलाई प्रत्यक्ष र अप्रत्यक्ष गरेर दुई भागमा विभाजन गरेका छन्।
प्रत्यक्ष लोकतन्त्र भएको मुलुकमा समाज वा देशको कुनै पनि विषयमा प्रत्यक्ष सहभागी भएर छलफल गरी निर्णय गर्ने व्यवस्थालाई प्रत्यक्ष लोकतन्त्र भनिन्छ। यो अत्यन्तै कम जनसंख्या र सानो ठाउँका लागि मात्रै सम्भव हुने गर्छ। जनताको प्रत्यक्ष उपस्थिति नरहेर देशको कुनै विषयमा छलफल गर्न जनताले चुनेको प्रतिनिधिहरुलाई पठाउने व्यवस्थालाई अप्रत्यक्ष लोकतन्त्र भन्ने गरिन्छ। अहिले भूगोल र जनसंख्याको हिसाबले हाम्रो मुलुक अप्रत्यक्ष लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा छ।
प्रजातान्त्रिक व्यवस्थामा जनताले जनताकै छोराछोरीलाई राष्ट्र प्रमुखको रुपमा चुन्न सक्दैनन् भने लोकतन्त्रमा जनताले जनताकै छोराछोरीलाई राष्ट्र प्रमुखको रुपमा चुन्न सक्छन्। नेपालको संविधान २०७२ बमोजिम नेपाल संघीय गणतान्त्रिक मुलुक हो। २०६२/०६३ अघि नेपालको राष्ट्र प्रमुखका रुपमा वंशीय राजा रहन्थे भने त्यसयता रामवरण यादव, विद्यादेवी भण्डारी र अहिले रामचन्द्र पौडेल राष्ट्र प्रमुख बनिसकेका छन्।
लोकतान्त्रिक व्यवस्थामा संविधानले नै देशको मार्गनिर्देशन गर्छ। सरकार प्रमुख मात्र नभएर राष्ट्र प्रमुखसमेत संविधानभन्दा तल हुने गर्दछन्। तर प्रजातान्त्रिक व्यवस्था मात्र भएको मुलुकमा भने राष्ट्र प्रमुख संविधानभन्दा माथि हुने गर्छ। जापान, बेलायतमा प्रजातान्त्रिक व्यवस्था छ।
उदाहरणका लागि, जापान र बेलायत प्रजातान्त्रिक मुलुक हुन्। त्यहाँ राष्ट्र प्रमुखको रुपमा वंशीय राजा रहने गर्दछन् भने सरकार प्रमुखका रुपमा जनताका छोराछोरी चुनिन्छन्। त्यहाँ राजा संविधानभन्दा माथि हुने गर्दछन्। उनीहरुलाई हटाउन मिल्दैन।लोकतान्त्रिक मुलुकमा सर्वसाधारण जनतालाई सबैभन्दा केन्द्रमा राखिन्छ।
अझ तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले त ‘जनताद्वारा जनताले नै जनताकै’ भनेर सुन्दर परिभाषा थपेका छन्। यसरी हेर्दा नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्था भएको मुलुक हो। समयको कालखण्ड संगसंगै नेपालीहरुकै बलिदानबाट जहानीया राणा शासन, वंशीय राजा शासन फालेर लोकतन्त्र स्थापना गरिएको छ। तर नेपालमा सधैँ राजनैतिक अस्थिरता, अराजकताले जनताले लोकतन्त्रको महशुस गर्न पाएका छैनन्।
नेपालका धेरै जनताहरु दुई छाक टार्नकै लागि कालापार र खाडी जान बाध्य छन्। कतिपयले देशमै मजदुरी गरिरहेका छन्। तर सत्ताका वरीपरी घुम्ने र तिनका नातागोताहरु भने सम्पन्न छन्। अर्थात उनीहरु कामै नगरी मस्तीको जीवन बिताइरहेका छन्। ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२२ मा तयार पारेको प्रतिवेदनअनुसार नेपाल भ्रष्टाचार गर्ने देशहरूमध्ये १२२औं स्थानमा पर्छ। तथ्यांकलाई आधार मान्ने हो भने नेपाल भ्रष्टाचार उन्मुख छ।
भ्रष्टाचार लोकतन्त्रलाई असफल र कमजाेर बनाउने एक कारण हो। मुलुकमा परिवर्तनका नाममा पटकपटक आन्दोलन भए, क्रान्ति भए। हजारौंले ज्यान गुमाए। व्यवस्था त फेरियाे तर अवस्था भने फेरिन सकेन। भूपरिवेष्ठित मुलुक भएकाले नेपाल भौगोलिक विकटताले भरिपूर्ण छ। वर्षौं पहिले राणाहरु र राजाहरुका पालामा डोकोमा बोकेर बिरामी अस्पताल लगिन्थ्यो होला तर मुलुकमा लोकतन्त्र आएको वर्षौं बितिसक्दा समेत दुर्गमका गाउँहरुमा स्टेचर अभावमा डोकोमै बिरामी बोकेर अस्पताल पुर्याउनुपर्ने बाध्यता छ।
विद्युत र प्रविधिको उच्च विकास भसक्दा पनि देशका धेरै गाउँहरु अँध्यारो नै छन्। संविधानले नै शिक्षा, स्वास्थ्य जस्ता कुराहरु निशुल्क भनेपनि गरीब परिवारका बालबालिकालाई उच्च शिक्षा पढ्न गाह्रो छ। बिरामी पर्दा सिटामोल खानै मुस्किल छ। दल र नेताहरू सत्तामा पुग्नका लागि हानथाप गर्ने गर्छन्। महङ्गीले आकाश छोइरहेको छ। दिनभरी मजदुरी गर्नेहरुले पाउने पारिश्रमिकले साँझ चुलोमा आगो नबल्ने स्थिति छ।
देश ऋृणमा डुबेको छ। किसानले उत्पादन गरेको तरकारीले भाउ नपाएर बाटोमा फाल्नुपर्ने स्थिति छ। बेरोजगारी बढिरहेको छ। तर लोकतान्त्रिक मुलुकमा नेताहरूका लागि जनताभन्दा सत्ता प्यारो हुने गरेको स्पष्ट देखिँदै आएको छ। केही राजनैतिक दलहरुले राजा फर्काउनु पर्ने माग राख्दै आएका छन्। लोकतन्त्रवादीहरुले जनतालाई मुख्य केन्द्रमा राख्न छोड्दै जाने हो भने एक दिन लोकतान्त्रिक व्यवस्था पतन भएर नजाला भन्न सकिन्न।