कुनै समय ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सिरीजङ्घा गाउँपालिकामा पर्ने याम्फुदिन पुग्न कम्तीमा दुई दिन पैदल हिँड्नुपथ्र्यो। कतै जङ्गल त कतै बस्तीका बीचमा पर्ने पैदल बाटो हुँदै एक रात बीच बाटोमा बास बसेर मात्र पुगिने याम्फुदिनमा अहिले करिब सात घण्टामा पुगिन्छ। सडक विस्तारसँगै गाउँबाटै गाडी ओहोरदोहोर गर्न थालेपछि दुई दिनको समय लगाएर हिँड्नुपर्ने बाध्यता हटेको छ।
खेवाङ, मामाङ्खे, सुरुम्खिम, मेहेलेजस्ता दूरदराजका मानिसलाई हिँड्नुपर्ने बाध्यतामात्रै थिएन। गाउँमा गाडी नपुग्दा पाँचथरको थर्पु बजारबाट खाद्यान्नलगायतका सामानको भारी बोक्नुपर्ने बाध्यता पनि थियो। जहाँबाट भारीसहित याम्फुदिन ओहोरदोहोर गर्न कम्तीमा तीन दिनको समय लाग्थ्यो। क्रमशः सडक विस्तारसँगै गाउँको नजिक सडक आएपछि भारी बोकेर हिँड्नुपर्ने बाटोको दूरी क्रमशः घट्दै गयो। र अहिले गाउँमै गाडी पुग्न थालेपछि भारी बोक्ने कुरा कथाजस्तै हुन थालेको छ।
अहिले जिल्लाका प्रायः गाउँमा गाडी पुग्न थालेपछि भारी बोक्नुपर्ने वा खच्चड, भरियामार्फत महँगो भाडा दिएर सामान ओसार्नुपर्ने परिस्थिति छैन। गाउँमा खाद्यान्नलगायतका सामानको मूल्य पनि सस्तिएको छ। गाडी नपुग्दा दैनिक उपभोग्य नुन प्रतिकिलो रु ६५ का दरले किन्ने गरेका याम्फुदिनका नागरिकले अहिले रु ३० मै किन्न पाउँछन्।
'कुनै समय दुई–तीन दिनको समय लगाएर पनि खाद्यान्नलगायतका सामान बोक्नुपर्ने बाध्यता थियो, गाउँमै किन्दा महँगो थियो, सडक आएसँगै अहिले हिँड्नु पनि पर्दैन, भारी बोक्नु पर्दैन, गाउँमै सामान सस्तोमा पनि पाउन थालियो', याम्फुदिनका अबिरमान राईले भने।
मुलुक सङ्घीय संरचनामा गएसँगै गाउँ–गाउँमा भएको सडक विस्तारले दूरदराजका नागरिकको जनजीवन सहज बन्दै गएको राईले बताए।
याम्फुदिन त एक उदारण मात्र हो। केही वर्ष अघिसम्म जिल्लाका सबै गाउँले नागरिकको पीडा उस्तै थियो। अझै पनि यातायात नपुगेका कतिपय यहाँका गाउँबस्तीमा सदरमुकामबाट पुग्न तीन दिनसम्मको सयम लाग्छ। सवारीसाधनमा र पैदल गरेर ओलाङ्चुङगोला, घुन्सा, याङ्माजस्ता गाउँमा पुग्न उक्त समय लाग्छ।
ओलाङ्चुङगोला जोड्ने सडक निर्माणको काम भइरहे पनि अझै सडक जोडिएको छैन। तर पहिलेजस्तो ओहोरदोहोर गर्न कठिनाइ भने नभएको स्थानीय छेतेन शेर्पाले बताए।
कतिपय कामका लागि सदरमुकाम आएर घर फर्किन हप्तौँ दिन लाग्ने भए पनि आजकल कामको तालमेल मिले त्यति धेरै समय लाग्दैन। सडक पुगेका गाउँमा प्रायः ट्याक्सी चल्छन्।
जिल्लाका ६१ वटा वडामध्ये लामो समयसम्म सडकले नछोएको गाउँ पापुङमा समेत एक महिनाअघिदेखि गाडी ओहोरदोहोर हुन थालेको छ। गाउँपालिका र वडाको बजेटबाट सडक निर्माण भए पनि उक्त गाउँ सडक सञ्जालसँगै जोडिएको हो।
सडक पुगेसँगै गाउँको मुहारमात्रै नभई गाउँको जनजीवन नै सहज भएको स्थानीय फुपुछिरिङ शेर्पाले बताए। गाउँमा कोही बिरामी पर्दा स्टेचर वा तोचनमा बोकेर अस्पताल लैजानुपर्नेजस्ता समस्या पनि नभएको स्थानीयले बताए।
यता सडक पुगेसँगै गाउँमा उत्पादन भएका तरकारी, फलफूल सदरमुकाम फुङ्लिङ, झापाको विर्तामोडलगायतका ठाउँमा पुग्न थालेका छन्। सहजै बजार पुग्ने भएकाले कतिपयले व्यावसायिक खेती पनि गर्न थालेका छन्।
गाउँका कुखुरा, खसीबोका तराईका जिल्लामा पुग्न थाले पनि व्यावसायिकरूपमा बाख्रापालन पनि हुन थालेको छ। 'पहिले खसी, बोका, कुखुरा गाउँमा बिकाउन मुस्किल हुन्थ्यो, आजकल गाडीले जताततै पु¥याउँछ, घरैमा किन्ने मान्छे आउँछन्, मूल्य पनि राम्रै पाइन्छ', सिरीजङ्घा–७ खेवाङका हरि खतिवडाले भने।
गाउँ–गाउँमा पुगेको सडकले समय र पैसाको बचतमात्रै नभई आफ्ना उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्न थालेपछि आफूहरूको जनजीवनमा सहज महसुस हुन थालेको स्थानीयले बताएका छन्।
सडक विस्तार भएका गाउँको मुहार नै फेरिएपछि नागरिकमा सहर पस्ने मानसिकता पनि कम हुँदै गएको पाइएको छ।'भौगोलिकरूपमा कमजोर क्षेत्रका नागरिक बाढीपहिराको डरले बसाइँ सर्ने गरेको पाइन्छ, नत्र अन्य कारणले बसाइँ सर्ने क्रम केही घटेको छ, यसको मुख्य कारण सङ्घीयता आएसँगै गाउँ–गाउँमा सुविधा पुग्नु र सडक विस्तारलगायतका विकास निर्माण नै प्रमुख हुन्' मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले भने।
जिल्लामा एक नगरपालिकासहित नौ स्थानीय तह रहेका छन् भने ६१ वडा छन्। सबै वडा सडक सञ्जालले जोडिएका छन्। गाउँका मुख्य बस्तीसम्म सडक नपुगे पनि क्रमशः निर्माणका काम पनि भइरहेका छन्।