वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको छ। काठमाडौंमा आज (बुधबार) आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले याेजनाकाे शुभारम्भ गरेका हुन्।
सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी याे याेजना ल्याएकाे हाे।
श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेला र नविकरण गर्ने बेला नभएकाहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत सहभागी हुन सक्छन्।
सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुकाअनुसार त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ। यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ। सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइनेछ। खल्ती, ईसेवा र कनेक्ट आइपिएसमार्फत् नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले बताएको छ।
यो योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ।