सिँढी चढ्दै क्रिकेट, घुँडा टेक्दै रङ्गशाला

नेपाल गत बिहीबार युएईलाई ९ रनले पराजित गर्दै आइसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको विश्वकप छनोटमा चरणमा पुग्याे। सिरिजको अन्तिम खेलमा नेपाललाई समर्थन गर्न कीर्तिपुरस्थित त्रिवि मैदानमा हजारौँ मानिस पुगे। ११ हजार मानिस अटाउने त्रिवि मैदानमा करिब ३० हजार मानिस प्रवेश गरेकाे नेपाल क्रिकेट संघ क्यानकाे अनुमान छ।

विश्वकपकाे छनाैट चरणमा पुग्ने तयारीमा रहेकाे नेपालकाे लागि उक्त खेल फाइनल सरह थियाे। त्यही खेल हेर्न हजाराैँ क्रिकेट प्रेमीहरु त्यहाँ पुगेका थिए। अनुमान नै गर्न सकिन्छ ११ हजार मानिस अट्ने मैदानमा ३० हजार बढी मानिसहरु कसरी अटेका हाेलान् ? त्यसकाे जवाफ सामाजिक सञ्जालमा पाेट्याएका तस्बिरहरुबाटै पाउन सकिन्छ, रुखमा चढेर, भित्तामा टाँसिएर र पाेलहरुमा झुण्डिएर।

यसरी देशकाे क्रिकेट जगतले ठुला–ठुला सफलता चुमिरहेसँगै गतिला खेल मैदानकाे आवश्यकता महसुस भइरहेका बेला देशका केही क्रिकेट आयाेजनाहरुकाे भने हरिबिजाेग भइरहेकाे छ।

नेपाली क्रिकेटले अहिले एउटा सुखद यात्रा त तय गर्‍याे तर त्यसकाे लागि आवश्यक पर्ने पूर्वाधारकाे भने चरम अभाव छ। गत बिहीबार नेपालले युएईलाई हराएपछि यतिबेला नेपालमा रङ्गशालाको आवश्यकता रहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। यसपटक मात्र होइन, सन २०१८ मा नेपालले एकदिवसीय मान्यता प्राप्त गरेपछि यस्ताे आवाज उठेकाे थियाे।

त्यसयता नेपालमा रङ्गशाला निर्माणका याेजनाहरु सुरु नभएका भने हाेइनन् तर जति सुरु भए ती सबै अहिले अलपत्र अवस्थामा छन्। मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, चितवनकाे भरतपुरस्थित गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गाशाला, दाङकाे देउखुरीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान अलपत्र अवस्थामा छन्।

वर्षाैसम्म पनि सकिएन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाकाे काम

राजधानीको एकमात्र निर्माधिन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हाे, मुलपानी क्रिकेट रङ्गाशाला। करिब १२ वर्षअघि निर्माण कार्य सुरु भए पनि याे रङ्गशाला अहिलेसम्म पनि सम्पन्न हुन सकेकाे छैन।

२ सय ९५ रोपनीमा निर्माण भइरहेको याे रङ्गशालामा १२ हजारभन्दा बढी मानिस अटन सक्ने क्षमता रहेको छ। मुलपानीमा दुई वटा रङ्गशाला छन् तल्लो र माथिल्लो। तल्लो रङ्गशालाई अन्तर्राष्ट्रियस्तरमा निर्माण गरिरहेको छ भने माथिल्लो रङ्गशालामा नेपालले केही प्रतियोगिता आयोजना गरिसकेको छ। माथिल्लो रङ्गशाला नेपाल क्रिकेट सघं क्यानको परिषदभित्र रहेको छ, उक्त रङ्गशालाको सबै पूर्वआधार निर्माण भइसकेको छ भने तल्लो रङ्गशाला वर्षदेखि निर्माणाधिन अवस्थामा छ।

तल्लो रङ्गशाला निर्माण गर्न बेलामा धेरै विवाद उत्पन्न भएकाे थियाे। विवादकाे कारण समयमा काम नसकिएकाे निर्माण कम्पनीले जनाएकाे छ। बन्दै गरेको रङ्गशालामा पहिले सुकुम्बासीहरु बस्दै आएका थिए, उनीहरुलाई हटाउन र जग्गा विवादको कारणले रङ्गशालाको निर्माण बिचमै अलपत्र पर्‍याे। वि.सं. २०७० सालबाट औपचारिक रुपमा निर्माण थालेको रङ्गशाला कहिले भूकम्प र कहिले कोरोनाको महामारीले गर्दा पुन: अलपत्र बन्न पुगेकाे छ।

तल्लो रङ्गशालामा केही व्यक्तिहरुको जग्गा थियो, जहाँ सरकारले जग्गा सट्टा गर्याे। ‘पहिला यहाँ सुकुम्बासीहरु थिए, उनीहरुलाई हटाउन एकदमै गाह्रो भएको थियो, जसाे-तसो गरेर उनीहरुलाई हटाएपछि केही मानिसको जग्गा रङ्गशालाको बाउन्डिरभित्र रहेको थियो, सरकारले ती व्यक्तिहरुसँग जग्गा सट्टा गरेपछि विवाद समाधान भएको थियो,’ मुलपानी रङ्गशालाका संयाेजक राधाकृष्ण विष्टले बिएल नेपाली सेवासँग भने।

१२ हजारभन्दा बढी दर्शक अटाउने क्षमता रहेको रङ्गशालालाई राजधानीको ठुलो क्रिकेट मैदानको रुपमा परिचित गर्न भनेर निर्माण गरियो तर रङ्गशालाकाे काम अहिलेसम्म पनि सकिएकाे छैन।

नेपालले आगामी वैशाखमा टेस्ट राष्ट्रहरुसँग म्याच खेल्दै छ, जुन प्रतियोगिता त्रिवि मैदान र मुलपानीको माथिल्लो रङ्गशालामा आयोजना हुने भएको छ। अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुने मुलपानी क्रिकेट रङ्गशाला निर्माणधिन अवस्थामा रहेको कारण माथिल्लो रङ्गशालामा आयोजना गर्न लागिएकाे छ।

गत बिहीबार नेपालले खेल जितेपछि राजधानीमा अवस्थित एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य चाँडै सक्न दबाब बढिरहेकाे छ।

किन ढिला भयाे मुलपानी रङ्गशालाकाे काम ?

मुलपानी क्रिकेट रङ्गशाला पूरै मापदण्डअनुसार पूरा गर्न अर्बाै रुपैयाँ लाग्छ। तर, नेपाल सरकारले उक्त रङ्गशाला निर्माणका लागि जम्मा ७ करोड बजेट विनियाेजन गरेको छ। अर्बाै खर्च लाग्ने रङ्गशालालाई एकतिहाइ कम रकम मात्र उपलब्ध हुँदा निर्माण कार्यमा ठुलो समस्या परेकाे छ।

‘मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई मापदण्डअनुसार पूरा गर्न अर्बाै रुपैयाँ लाग्छ तर नेपाल सरकारबाट अहिलेसम्म हामीलाई रङ्गशाला निर्माण गर्न पूरै बजेट आएको छैन, जसले गर्दा रङ्गशालाको काममा ढिलाइ भइरहेकाे छ र रङ्गशाला निर्माणमा पनि असर परिरहेको छ,’ रङ्गशालाका निर्माणका इन्जिनियर महेश श्रेष्ठले भने।

यसअघि मुलपानी क्रिकेट रङ्गशालाकाे रिपाेर्टिङका क्रममा त्यहाँ कार्यरत प्रभात बडालले पनि रकम अभावका कारण काम गर्न समस्या भएकाे बताएका थिए। आफूहरुले पटक-पटक सरकारलाई बजेटबारे ध्यानआर्कषण गराउँदा सुनुवाइ नभएकाे उनकाे भनाइ छ।

विगत दश वर्षदेखि निर्माण कार्य सुरु भएको सो रङ्गशालामाको काम हालसम्म मात्रै ५० प्रतिशत सकिएकाे छ। सरकारले चासाे दिए अबकाे केही वर्षमा नै रङ्गशालाकाे निर्माण कार्य सकिने विष्टकाे भनाइ छ।

मुलपानीको माथिल्लो रङ्गशाला आगामी वैशाखको प्रतियोगिताको लागि तयार छ: अध्यक्ष चन्द

नेपालले आगामी वैशाखमा १० देश सहभागी हुने एसिसी प्रिमियर कप आयोजना गर्दैछ। नेपालसहित १० मुलुक सहभागी रहने उक्त प्रतियोगिता त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजन गर्न क्यानकाे तयारी छ।

‘वैशाखमा हुने सो प्रतियोगितासम्म मुलपानीको माथिल्लो रङ्गशाला तयारी हुन्छ,’ क्यानका अध्ययक्ष चतुरबहादुर चन्दले भने। माथिल्लाे रङ्गशालामा अहिले पिच निर्माणकाे काम भइरहेकाे उनले बताए।

गाैतम बुद्ध रङ्गशालाकाे हरिबिजाेग

नेपालले सन २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो। नेपालले सो मान्यता पाएपछि नेपालमा एउटा क्रिकेट रङ्गशाला निर्माण गर्नु पर्ने भनेर चौतर्फी आवाज उठ्याे। साे सिलसिलामा नेपालका चर्चित हास्यकलाकार सीताराम कट्टेल नेतृत्वकाे धुमुर्स-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानकाे निर्माण कार्यकाे थालनी गरेकाे थियाे।

नेपालको सबैभन्दा ठुलो क्रिकेट रङ्गशालाको रुपमा परिचित छ, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान। झन्डै ३० हजार बढी दर्शक अटाउने क्षमता रहेको रङ्गशालाको निर्माण कार्य दुई वर्षदेखि राेकिएकाे छ।

८ बिघा जग्गामा फैलिएकाे उक्त रङ्गशालामा धमुर्स-सुन्तली फाउण्डेसनले मात्र नभई देश तथा विदेशमा रहेका नेपालीहरुकाे रकम सहयाेग गरेका थिए। तर, अपेक्षाकृत रकम संकलन नभएपछि अहिले रकम अभावका कारण क्रिकेट मैदानकाे निर्माण कार्य राेकिएकाे मात्रै छैन आर्थिक कुरामा विवादितसमेत बनेकाे छ। ३ अर्ब ५५ कराेड लागत लागत लाग्ने अनुमान गरिएकाे साे रङ्गशालाकाे काम अहिलेसम्म जम्मा ३५ प्रतिशत मात्रै सकिएकाे छ।

धुमुर्स-सुन्तली फाउण्डेसनले रङ्गशाला निर्माणमा ५४ करोड खर्च गरेकाे थियाे। त्यसमध्ये १८ कराेड त अहिले पनि ऋण बाँकीछ। विशाल जग्गामा फैलिएका कारणले गर्दा गौतम बुद्ध रङ्गशालाभित्र दुई वटा रङ्गशाला निर्माण गर्न योजना रहेको थियो। तर, काम ठप्प भएपछि अब गौतम बुद्ध रङ्गशाला निर्माणको काम भरतपुर महानगरपालिका गर्न भएको छ।

गत बिहीबार त्रिवि क्रिकेट मैदानमा पुगेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई छिट्टै निर्माण गर्ने बताएकी थिइन्।

त्यस्तै भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नु पर्ने रकम राज्यले व्यहाेर्नुपर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराएर काम अगाडि बढाउने तयारी गरेकाे छ।

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

नेपालको पश्चिमा रहेको अन्तर्राष्ट्रिय रङ्गशाला हो, देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला। दाङको लमही नगरपालिकामा रहेको सो रङ्गशाला हाल निर्माणधीन अवस्थामा रहेको छ।

त्रिवि मैदान, मुलपानी क्रिकेट मैदान, गौतम बुद्ध रङ्गशालाजस्तै सो रङ्गशालामा पनि नेपालमा हुने क्रिकेट प्रतियोगिता आयोजना गर्ने योजनाका साथ काम अघि बढाइएकाे छ। उक्त रङ्गशालामा एकपटक महिला प्रधानमन्त्री कपकाे समेत आयोजना गरिएकाे थियाे।

नेपालमा देउखुरी अन्तर्राष्ट्रिय रङ्गशालाकोजस्तो राम्रो अन्य क्रिकेट मैदानमा नभएको नेपाल क्रिकेट संघ (क्यान)का दाङका अध्यक्ष प्रदीप मजगैयाले बताए।

साे क्रिकेट मैदानकाे काम निरन्तर अगाडि बढिरहेकाे भए पनि अहिले पूरा हुन्छ भन्ने निश्चित नभएकाे अध्यक्ष मजगैयाले बताए।

प्रकाशित मिति: : 2023-03-22 20:00:00

प्रतिकृया दिनुहोस्