प्रधानमन्त्री प्रचण्ड आज दोस्रोपटक विश्वासको मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार (आज) विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

सरकारलाई समर्थन गरेको नेकपा (एमाले)ले गत फागुन १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत फागुन १३ गते समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि उनले विश्वासको मत लिन लागेका हुन। कुनै पनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले त्यसको ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १३८ मत पाउनुपर्छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक जनाको मृत्यु र एक जना निलम्बनमा परेकाबाहेक हाल २७३ जना सांसद रहेका छन्।

जसमध्ये एमालेका ७९ जना, राप्रपाका १४ जना र नेमकिपाका १ र एक स्वतन्त्र सांसदले प्रचण्डलाई विश्वासको मत नदिने आँकलन छ। उनीहरुबाहेक नेपाली कांग्रेसका ८९ मध्ये ८६ जनाको समर्थन रहनेछ। काँग्रेसका ३ जना सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित, चन्द्र भण्डारी उपचारका लागि भारतमा रहेको र टेकबहादुर गुरुङमा निलम्बनमा परेका कारण उनीहरुले मतदान गर्ने छैनन्।

यस्तै माओवादी केन्द्रका ३२ मध्ये ३१ जनाले मतदान गर्न पाउनेछन्, माओवादी केन्द्रका सांसद वर्षमान पुन उपचारका लागि चीनमा रहेका छन्। जनता समाजवादी पार्टी (जसपा)का १२ मध्ये १० जना सांसदले मतदान गर्ने गर्नेछन्। जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बने भने शहनाज रहमानको निधन भएको छ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० मध्ये १९ जनाले मतदान गर्नेछन्। नागरिकता प्रकरणमा पार्टी सभापति रवि लामिछाने सांसद पदबाट मुक्त भएका थिए। एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ४, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद प्रभु साह र अमरेश सिंहको विश्वासको मत प्रचण्डले पाउनेछन्। 

संसदमा उपस्थित हुने सांसदको मत आँकलन गर्दा प्रधानमन्त्री प्रचण्डले १७३ मत पाउनेछन्। यसअघि पुस २६ गते पहिलो पटक विश्वासको मत लिँदा प्रचण्डले २७० सांसदहरुमध्ये २६८ मत पाएका थिए। त्यतिबेला प्रचण्डको विपक्षमा दुई मत (नेमकिपा १ र राजमो १) मात्रै खसेको थियो।

प्रकाशित मिति: : 2023-03-20 08:45:00

प्रतिकृया दिनुहोस्