रुकुमपश्चिममा कृषकलाई दूधमा प्रोत्साहन

File photo
File photo

रुकुमपश्चिममा कृषकले दूधमा प्रोत्साहन पाउन सुरु गरेका छन्।

कर्णाली प्रदेश सरकारले पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत जिल्लाका दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गर्न सुरु गरेको हो । चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालनमा आएको हो। कृषकलाई दूधमा प्रतिलिटर रु पाँच प्रोत्साहनस्वरुप अनुदान वितरण भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिए।

जिल्लामा अहिलेसम्म ९० कृषकले प्रोत्साहन पाउन सुरु गरेको उनले बताए। अहिलेसम्म प्रोत्साहनस्वरुप रु छ लाख ६५ हजार कृषकको खातामा रकम गएको उनको भनाइ छ। अहिलेसम्म एक कृषकले कम्तीमा रु एक हजार दुई सयदेखि बढीमा रु ६५ हजारसम्म प्रोत्साहन रकम पाएको उनले जानकारी दिए।

कृषकले बेचेको दूधका आधारमा प्रतिलिटर रु पाँच प्रोत्साहन रकम दिने व्यवस्था गरिएको छ। यसका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालय र स्थानीय तहमा दर्ता भएका दुग्ध सहकारी, डेरी र चिस्यान केन्द्रमा मात्र दूध बिक्री गर्नुपर्ने हुन्छ। दूधमा प्रोत्साहन कार्यक्रमका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालयले कृषको आवेदन माग गरेको थियो। त्यसअनुसार जिल्लामा चार सय बढी कृषकले आवेदन दिएका थिए।

प्रमुख शर्माका अनुसार प्रत्येक तीन–तीन महिनामा कृषकको खातामा रकम जम्मा हुने व्यवस्था गरिएको छ। कृषकले कति दूध बिक्री गरे भनेर कार्यालय आफँैले सम्बन्धित दुग्ध सहकारी, डेरी तथा चिस्यान केन्द्रबाट विवरण लिने गरेको छ। त्यस्ता सहकारी, डेरी र चिस्यान केन्द्र अहिलेसम्म १७ रहेको बताइएको छ । दूधमा प्रोत्साहनका लागि प्रदेश सरकारले जिल्लामा चालु आवका लागि रु ४० लाख पठाएको छ।

प्रकाशित मिति: : 2023-03-18 15:21:00

प्रतिकृया दिनुहोस्