राष्ट्रपति निर्वाचन: कुन ‘चन्द्र’को होला उदय ? यस्तो छ मतभार

देशको तेस्रो राष्ट्रपति चयनका लागि आज (बिहीबार) निर्वाचन हुँदैछ। राष्ट्रपतिका लागि काँग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ चुनावी प्रतिस्पर्धामा छन्। कुल १४ राजनीतिक दलहरुमध्ये सत्ता गठबन्धनबाट उम्मेदवार भएका रामचन्द्रलाई ९ दलले समर्थन छ। सुवास चन्द्रलाई भने अहिलेसम्म एमालेको मात्र साथ रहेको छ।

रामचन्द्रलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा, जनमोर्चा, राजमो र नागरिक उन्मुक्तिको साथ छ। राप्रपा तटस्थ बस्ने भएको छ। रास्वपा, नेमकिपा, हाम्रो नेपाली दल, संघीय समाजवादी दल र स्वतन्त्र सांसदहरु कसलाई सहयोग गर्ने खुलेका छैनन्।

निर्वाचनमा संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्न पाउनेछन्। संघ र प्रदेशका सांसदको मतभार भने फरक–फरक गणना हुन्छ। संघीय सांसदको मतभार ७९ गणना हुन्छ भने प्रदेशसभा सदस्यको ४८ गणना हुन्छ। निर्वाचन आयोगकाअनुसार कुल सांसदको मतभार ५२ हजार ६ सय २८ छ।

कुन दलको कति मतभार ?

कांग्रेसको प्रतिनिधिसभामा ८९ र राष्ट्रियसभामा १० गरी ९९ मत छ। संघीय संसद्मा कांग्रेसको मतभार ७ हजार ८ सय २१ हुन्छ। प्रदेश सभामा कांग्रेसको १ सय ७५ सिट छ। जसको मतभार ८ हजार ४ सय हुन्छ। संघ र प्रदेशको जोड्दा कांग्रेसको कुल मत १६ हजार २२१ हुन्छ। कांग्रेसका दुई सांसदको मत भने घट्ने छ। टेकबहादुर गुरुङ निलम्बनमा छन् भने चन्द्रबहादुर भण्डारी भारतमा उपचाररत रहेकाले उनीहरुले मत हाल्न सक्ने छैनन्। एक निलम्बन र एक बिरामीका कारण कांग्रेसको मतभार १६ हजार ६३ हुन्छ।

माओवादी केन्द्रको प्रतिनिधिसभामा ३२ र राष्ट्रियसभामा १५ गरी संघीय संसद्मा ४७ सिट छ। प्रदेशसभामा ८२ सदस्य छन्। संघ र प्रदेशसभा गरी उक्त पार्टीको कुल मतभार ७ हजार ६ सय ४९ हुन्छ।

संघमा १९ र प्रदेशमा २५ सदस्य भएको एकीकृत समाजवादीको २ हजार ७ सय एक मतभार छ। संघमा १५ र प्रदेशमा २२ सदस्य भएको जसपाको २ हजार २ सय ४१ र संघमा ६ र प्रदेशमा १६ सिट भएको जनमतको १ हजार २ सय ४२ मतभार छ।

यस्तै संघमा पाँच र प्रदेशमा १२ सदस्य भएको लोसपाको ९ सय ७१, संघमा चार र प्रदेशमा १२ सदस्य भएको नागरिक उन्मुक्तिको ८ सय ९२ मतभार छ। संघमा एक र प्रदेशमा दुई सदस्य रहेको जनमोर्चासँग १५७ मतभार छ। सत्तारुढ नौ दलको मतभार जोड्दा पौडेलको पक्षमा ३२ हजार १ सय २३ मत पाउने सम्भावना देखिएको छ।

प्रतिनिधिसभामा ७९ र राष्ट्रियसभामा १७ गरी संघीय संसद्मा एमालेको ९६ सिट छ। प्रदेशसभामा एमालेको १ सय ६२ सिट छ। उक्त पार्टीको जम्मा मतभार १५ हजार ३ सय ६० हुन्छ। जुन मत फरार एक सांसदसहितको हो। एमालेका लक्ष्मी महत्तो काइरी प्रहरीको फरार सूचीमा छन्।

राप्रपाको मतभार २ हजार ४ सय ५० छ। उसका संघमा १४ र प्रदेशमा २८ सदस्य छन्। तर, राप्रपाले कसैलाई पनि मत नदिने निर्णय गरेको छ। रास्वपाको १९ सिट छ। जसको मतभार १ हजार ५ सय १ छ। रास्वपाले कुन पक्षमा भोट हाल्ने अहिलेसम्म निर्णय गरेको छैन्।

संघमा एक र प्रदेशमा तीन सदस्य भएको नेमकिपाको २ सय २३, संघमा दुई र संघमा (एक मनोनीतसहित) चार र प्रदेशमा नौ सदस्य रहेका स्वतन्त्रको मतभार ७ सय ४८ छ।

प्रदेशतर्फ एकसिट ल्याएको नेपाल समाजवादी पार्टीको ४८, दुई सदस्य जितेको हाम्रो नेपाली पार्टीको ९६ मतभार छ।

निर्वाचन आयोगकाअनुसार संसद् भवन बानेश्वरमा मतदान केन्द्र तोकिएको छ। संघीय संसद् र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको आयोगले जानकारी दिएको छ। बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने र बेलुका ७ बजेभित्रै राष्ट्रपतिको परिणाम आउने आयोगले जनाएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादव हुन्। कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो। दोस्रो राष्ट्रपतिको रुपमा नेकपा (एमाले)बाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन्।

भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिँदैछ। उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः निर्वाचनमा उम्मेदवार हुन नसक्ने संविधानमा व्यवस्था छ।

प्रकाशित मिति: : 2023-03-09 09:46:00

प्रतिकृया दिनुहोस्