प्रचण्डविरुद्धको मुद्दालाई न्यायिक ढङ्गले प्रतिवाद गर्छौं: कृष्णबहादुर महरा (भिडियोसहित)

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फैजदारी कसुरमा कारबाही हुनुपर्ने मागसहित मंगलबार सर्वाेच्च अदालतमा रिट दर्ता भएकाे छ। गत कात्तिक २४ गते सर्वाेच्चले नै दरपीठ गरेकाे रिट दर्ता भएपछि यतिबेला माओवादीमा हलचल मच्चिएकाे छ।

प्रचण्डले २०७६ माघ १ गते काठमाडाैँकाे टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा द्धन्द्धकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको आफूले जिम्मा लिने र बाँकी १२ हजार व्यक्तिको जिम्मा राज्य पक्षले लिनुपर्ने बताएका थिए। उनकाे साेही अभिव्यक्तिविरुद्ध सर्वाेच्चमा रिट गर्दा भएकाे हाे।

यही विषयलाई लिएर विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन्। माओवादीले यो विषयलाई कसरी लिएको छ ? अब माओवादी घटक यो विषयमा कसरी अगाडि बढ्छन् ? लगायत विषयमा केन्द्रित रहेर माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी प्रवक्त्ता कृष्णबहादुर महरासँग बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:


पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ, यस विषयलाई माओवादीले कसरी लिएको छ ?

यो सर्वोच्च अदालतमा मुद्दा पर्ने विषय होइन, सामान्य राजनीतिक आलोचना गरेर सक्काउने विषय हो। जुन विषयमा मुद्दा उठाउनु भएको छ, यो संक्रमणकालीन न्यायसँग सम्बन्धित छ। हाम्रो संविधान अनुसार संक्रमणकालीन न्यायको निरुपण गर्ने सत्य निरुपण तथा मेलमिलाप आयोगमा अहिले पदाधिकारीहरु छैनन् । त्यसैले यो विषय अदालतको नभएर सत्य निरुपण तथा मेलमिलाप आयोगको विषय बन्न जरुरी छ।

कसैको मृत्युको जिम्मा लिन्छु भन्नु कानुनविपरीत होइन र ?

हिजो हामीले लडेको जनयुद्ध नै कानुनविपरीत हो तर त्यसरी हेर्न मिल्दैन। जनयुद्ध भएको सत्य हो, घटनाहरु घटेकै हुन। यो सबै विषयलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा छलफल गरेर फर्गेट र फर गिभको विषयमा नजाने हो भने अप्ठ्याराे पर्न सक्छ। जनयुद्धकाे विषय यसरी सामान्य रुपमा उठ्न मिल्दैन।

आज मात्र बालुवाटारमा माओवादी घटकहरुको बैठक सम्पन्न भयो, माओवादी घटकहरु यो विषयमा मिल्न कति सम्भव छ ?

सर्वोच्च अदालतमा परेको मुद्दाको विषयमा हामी मिलेर जान्छौँ । अहिले पार्टी एकता गर्दैनाैँ तर शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा हामी सबैको साझा विषय बनाएर अगाडि जान्छौँ । किनभने, यो कुनै व्यक्तिको विषय होइन। माओवादी आन्दोलनसँग जोडिएको विषय भएकाले हामीले एकसाथ हल हुनुपर्छ भन्ने आवाज उठाइरहेका छौँ।

राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा यसरी मुद्दा दर्ता हुनु विदेशी चलखेल त होइन, कसरी लिनुभएको छ ?

यो कुनै विदेशी शक्तिको चलखेलका कारण भएको जस्तो लाग्दैन किनभने प्रमाणविना बोल्नु हुँदैन। अहिले त हामीले जे देख्छौँ त्यही मात्र भन्नुपर्छ। 

मुद्दा परिसक्यो, अब कसरी अगाडि बढ्नु हुन्छ ?

मैले पहिले पनि भनेँ यो अदालतमा उठ्नुपर्ने विषय नै हाेइन । तर, मुद्दा परिसकेकाले हामी न्यायिक रुपले प्रतिवाद गर्छाैँ।

यसरी पटक-पटक जनयुद्धको विषयलाई लिएर विवाद उत्पन्न हुनु भनेको जनयुद्ध ठीक थिएन भन्नु होइन र ?

आम रुपमा जनयुद्ध ठीक हो। तर, कसैले ठीक होइन भन्दै कराइरहनु नौलो होइन। एउटा शक्ति छ, जो जनयुद्धको विपक्षमा छ । 

कसैको ज्यानको मारेकाे जिम्मा लिन्छु भन्नु गलत होइन र ?

याे संक्रमणकालीन न्यायको विषय हो। राज्य र प्रतिपक्षबीच युद्धमा हजारौँ घटना घटेकै हो। तर, त्यो विषयलाई हल गर्ने जसकाे जिम्मामा छ उसले लिने होला नि होइन र ? कुन ठीक ? कुन बेठिक ? भनेर एक-एक विषय उठाउँदैमा न्याय हुँदैन।

भिडियाे:

प्रकाशित मिति: : 2023-03-07 20:30:00

प्रतिकृया दिनुहोस्