चुनावको बेला मलाई प्रेतात्मा भन्ने प्रचण्ड हाम्रै बलले प्रधानमन्त्री हुनुभभयो: ज्ञानेन्द्र शाही

BreaknLinks
BreaknLinks

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही चुनाव जितेर गएपछि पहिलोपल्ट गृह जिल्ला पुगे। वैकल्पिक उर्जाकाे टिमसहित जुम्ला पुगेका उनीसँग बिएल नेपाली सेवाका लागि महेश नेपालीले गरेकाे कुराकानी प्रस्तुत छ:

संसदमै राजा चाहिन्छ भन्नू भनेर जनताले तपाईंलाई भाेट दिएका हुन्?

म राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार थिएँ। मेराे पार्टीको सिद्धान्त नै संवैधानिक राजतन्त्र हाे। म राजा चाहिन्छ भन्ने पार्टीको उम्मेदवार थिएँ। जनताले मलाई चिनेर जिताएका हुन्। यसकारण संसदमा राजा चाहिन्छ भन्न पाइन्छ।

देश विखण्डन हुने गरी बाेल्नु हुँदैन। तर कुनै विचार मान्न पाउने र त्यसबारे बाेल्न पाउने अधिकार संविधानले नै दिएकाे छ। त्यसकारण संसदमा याे कुरा बाेल्न पाइन्छ।

राजा चाहिन्छ भन्ने बाहेक तपाईंले जनताकाे लागि केही उपलब्धिपूर्ण काम गर्नुभयाे? १,२,३ गरी बुँदागत रुपमा आउनु भन्नुस् त?

राजा चाहिन्छ भन्ने मेराे सिद्धान्त हाे। मैले थालेका कुनै पनि कामकाे यति चाँडै रिजल्ट आउँदैन। म परिणाम दिने गरी लागिरहेको छु।

पहिलाे कुरा मैले सदनमा समग्र कर्णालीबारे बाेलेकाे छु। यहाँका समस्याबारे बाेलेकाे छु। अहिले हामीले सदनमा बाेल्दा सरकार चनाखाे हुन्छ। काम गर्न तयार हुन्छ।

यतिबेला म जुम्लाका सिँचाइ कुलाेहरु बाँझा नहुन भनेर आएकाे हुँ। सँगसँगै वैकल्पिक उर्जाकाे कामका लागि उर्जा मन्त्रालयकाे टिम लिएर आएकाे हुँ। यहाँकाे उर्जा विकासको लागि सबै खाले गतिविधि गर्न तयार छु।

कर्णालीमा वर्षेनी हुने पाठ्यपुस्तक अभावबारे त बाेल्नुभयाे। त्याे लागू भयाे भएन, केही जानकारी लिनुभयाे कि नाई ?

कर्णालीमा सधैँजसाे हुने पाठ्यपुस्तक अभावबारे बाेलेँ। त्यसबारे बुझेँ पनि। याेपालि किताब छाप्ने काम रफ्तारमा अगाडि बढिरहेको छ।

याे वर्ष शिक्षा मन्त्रालय र विभागले नै शैक्षिकसत्र ढिला गर्ने निर्णय गरेकाे छ। याे कुरा कर्णालीका धेरैजसाे जिल्लामा अगाडि नै परीक्षा सकिइसकेकाे छ। तथापि हामीले जति सकिन्छ चाँडै सबैतिर पाठ्यपुस्तक पुगाउने गरी तयारी गर्नलाई पहल गरेका छाैं।

तपाईंको पार्टीलाई जनताले सरकारमा जाने आदेश दिएका छैनन्। तर पनि राप्रपा हतारमा सरकारमा गयाे। के राप्रपामा नैतिकता सकिएकाे हाे? 

जनताले बहुमत कसलाई दिए? जनताले नै कुनै एक दललाई बहुमत नदिएकाे अवस्थामा सबै पार्टी सरकारमा जाने, सरकार बनाउन पाउने अधिकार छ। देशकाे परिस्थितिलाई मध्यनजर गरेर हामी सरकारमा गएका हाैं। सरकारमा रहनु र बाहिरिनु नैतिकतासँग जाेडिँदैन।

माओवादीकाे आलोचना गरेर चुनाव जितेकाे तपाईं कसरी प्रचण्डलाई प्रधानमन्त्री बनाउने अवस्थामा पुग्नुभयाे? तपाईंकाे स्वाभिमान जुम्लाबाट काठमाडौं जाँदै गर्दा डगमगाएकाे हाे?

चुनाव प्रचारकाे दाैरानमा मैले माओवादी र प्रचण्डकाे विराेध कहिले पनि गरिनँ। बरु माओवादीले नै मेराे विराेध गरे। प्रचण्ड मेराे विराेध गर्न हेलिकप्टर चढेर जुम्ला आउनुभयाे। मलाई लक्षित गरेर राजतन्त्रकाे प्रेतात्मा भन्नुभयो। मैले उहाँकाे विराेध गरेर चुनाव जित्नुपर्ने कुनै कारण नै थिएन। बरु म जित्ने रिपोर्टिङ भएपछि उहाँ अत्तालिनुभयाे र गाली गर्न जुम्ला आउनुभयाे।

उहाँले हामीलाई जे भनेपनि उहाँलाई प्रधानमन्त्रीकाे कुर्सीमा बसाउन हामीले नै भूमिका खेल्याैं। स्वाभिमान मेराे हाेइन, उहाँकाे डगमगाएकाे हाे।

हरेक महिना गृहजिल्लामा आउँछु भन्नुभएको थियाे। जितेको तीन महिना लाएर मात्रै आउनुभयाे नि, याे जनतासँग झुटाे बाेलेकाे हाेइन र?

तीन महिनाभन्दा पनि दुई महिना भयाे। पहिलाे महिना सरकार बनाउन लाग्यौं। यसैमा समय गएपछि यता आउन पाइनँ। तर म जनताकाे काममा नै लागेकाे छु। समस्यामा परेका, विदेशमा अप्ठ्यारोमा परेका नागरिककाे सेवामा जहाँ हुँदा पनि लागिरहेको छु।

म जहाँ भएपनि जनताकाे काम गर्ने हाे, गरी नै रहेकाे छु। मेराे भाैतिक उपस्थिति यतिबेला केही ढिलाे हुन गयाे। तर म यहाँका जनतासँग नियमित अन्तरक्रिया गरिरहेकाे छु।

जनताका निम्ति काेसेली के ल्याउनुभएकाे छ?

मैले अघि नै भनिसकें, धान राेप्नका लागि बाढीले भत्काएका कुलाे बनाउने, वैकल्पिक उर्जाकाे काम लिएर यता आएकाे हुँ। केही साना जलविद्युत् आयाेजनाकाे काम पनि थियाे। जति सकिन्छ चाँडै जुम्लाका सबै जनालाई हरेक पल्ट जिल्लामा आउँदा केही न केही काेसेली लिएर आउनेछु।

जनताका लागि यस्ता यस्ता कानुन बनाउँछु भन्नुकाे साटाे विकासका कुरा मात्रै गर्नु संसदीय मर्यादा हाे त?

हाम्राे काम कानुन बनाउने नै हाे। तर गलत परम्परा बसेकाे हुँदा सांसद भनेकाे विकास गर्ने हाे भन्ने जनताकाे बुझाई छ। त्यसैले हामीले धेरै ठाउँमा पहल गरेर केही न केही विकास निर्माणका गतिविधि गरिरहनुपर्नेछ। याेसंगै हामीले जनताकाे हित अनुकूलका कानुन बनाउने हाे। त्याे हामी गर्छाैं नै।



ज्ञानेन्द्र शाहीलाई प्रश्न– तपाईंकाे बिहे हुन लागेकाे हाे ?

ज्ञानेन्द्र शाही: चर्चित अभियन्तादेखि सांसदसम्मको यात्रा 

ज्ञानेन्द्र शाहीकाे प्रश्न : राजा हटाएर हामीले के पायौँ ?

 

प्रकाशित मिति: : 2023-03-06 21:00:00

प्रतिकृया दिनुहोस्