पद र सत्ता प्राप्ति मात्र राजनीति होइन: मिलन पाण्डे (अन्तर्वार्ता)

BreaknLinks
BreaknLinks

वैकल्पिक राजनीति अबकाे आवश्यकता भन्ने मान्यताका साथ वि.सं. २०६९ सालमा उज्वल थापाकाे नेतृत्वमा स्थापना भएकाे विवेकशील साझा पार्टी विभिन्न समस्याका कारण पछिल्लाे पटक सम्पन्न निर्वाचनसम्म आइपुग्दा धरमराइ रह्याे। विवेकशील साझाबाट राजनीतिक यात्रा सुरु गरेकाहरु तितरबितर भए, जसकारण पाइला चल्दै गर्दा केही आशा देखाएकाे साे पार्टीले बाँकी यात्रालाई ऊर्जाशील बनाउन सकेन।

यद्यपि, विगतका गल्ती, कमजाेरी र समस्यालाई सुधार गर्ने गरी पार्टीकाे प्रथम महाधिवेशनमार्फत विवेकशील साझाका युवाहरु पुन: एकजुट भएका छन्। केही हप्ताअघि सम्पन्न विवेकशील साझाकाे महाधिवेशनले नयाँ नेतृत्व चयन गरेकाे छ। पार्टीका नेताहरु पार्टीलाई अब थप सशक्त बनाउने याेजनाका साथ कम्मर कसेर लागेका छन्। बद्लिदाे राजनीतिक परिस्थितिका बिच विवेकशील साझा पार्टी कसरी अगाडि बढ्छ ? लगायत विषयमा रहेर विवेकशील साझा पार्टीका उपाध्यक्ष मिलन पाण्डेसँग बिएल नेपाली सेवाकाे लागि ध्रुब बस्यालले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ: 


पार्टी टुटफुट र विभाजनले दिक्क बनाएको नेपाली राजनीतिमा विवेकशील साझा पनि खासै नयाँ देखिएन ? यो अवस्था कसरी आइपुग्यो ?

हाम्रो पार्टी अस्थिर देखिनु भनेको देशको राजनीति नै अस्थिर देखिनु हो। देशमा शिक्षा, स्वास्थ्य र रोजगारको कुनै ठेगान छैन, यही समाजको एउटा अङ्ग विवेकशील भएकाले टुटफुट र अस्थिरता देखिनु नराम्रो होइन। इतिहासलाई हेर्दा लोकतान्त्रिक तथा कम्युनिस्ट पार्टीहरुमा पनि विभाजन देखिएकै छ। यस्तै उत्तारचढावको बिचबाटै हाम्रो पार्टी निर्माण हुने भएकाले वैचारिक ध्रुविकरण, वैचारिक समस्या अथवा टुटफुट आउनु नयाँ होइन। संगठन बन्नकाे लागि विभाजन आवश्यक छ। संगठन बन्नका लागि विभिन्न हण्डरहरु खानुपर्छ विवेकशीलले पनि हण्डर खाएको हो। टुटफुटपछि पुन: निर्माण अर्गानिक प्रक्रिया हो। हामी विभिन्न चापहरु झेल्दै कोइलाबाट बनेको हिरा हौँ।

अनेकौं बाधा/अडचन झेल्दै वैकल्पिक राजनीतिक शक्तिको बाटोमा हिँडिरहेको विवेकशील साझाले आफ्नो प्रथम महाधिवेशन सम्पन्न गरेकाे छ, अब कसरी अगाडि बढ्ने सोचमा हुनुहुन्छ ?

हामीले २०६९ बाट विवेकशील नेपालीकाे अभियान सुरु गरेर दुई/तीन वटा महाधिवेशन सम्पन्न गरिसकेका छौँ। अहिले संयुक्त रुपमा विवेकशील साझाको नामबाट प्रथम महाधिवेशन सम्पन्न गरेका छौँ। अब वैचारिक स्थिरता र नीतिमा भित्रबाट खारिएका लिडरहरुको समूह निर्माण भएको छ। यो महाधिवेशनबाट परिपक्कता भएको सक्षम महिला अध्यक्ष समीक्षा बास्तोला, महासचिवमा रञ्जु दर्शना र म उपाध्यक्ष बनेर हाम्रो नेतृत्व निर्माण गरेका छौँ। म निर्वाचित पूर्व अध्यक्ष भइसकेको मान्छे पुन: उपाध्यक्ष बन्नु देशको राजनीतिले नकारात्मक रुपमा लिन्छ तर हाम्रो यो प्रयास नौलो अभ्यास हो। समयअनुसार परिर्वतन हुन आवश्यक छ। पद भनेको भूमिका हो, भूमिका भनेकाे सानो कुरा होइन। उपाध्यक्ष भएपछि विभिन्न कुराहरु उठे तर आवश्यक परे भोलि वडा अध्यक्ष, सदस्य हुन सक्नुपर्छ। दलभित्र विभिन्न गुट बनाउनुभन्दा अहिले हामीले फरक र नौलो अभ्यास गरेका छौँ। हाम्रो पहिलो महाधिवेशनले स्पष्ट भिजन ‘सबैका लागि समृद्धी, सबैका लागि आत्मसम्मान’ लिएर आएका छौँ। देशमा गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशी-समानुपातिकता, नागरिकको अवस्था परिर्वतनका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, संस्कृति सम्पदा बचाउन हाम्रो प्रतिबद्धतासँगै भिजन र सामूहिक नेतृत्वको अभ्यास र स्पष्ट सन्देश दिएका छौँ। युवाहरुको जमात छ, सफल हुन्छौँ।

महाधिवेशनबाट अध्यक्ष र महासचिव पदमा महिला नेतृत्व आयो यो नौलो भन्नु भयाे ? संयोग मात्रै हो कि राजनीतिमा यस्ता कुराहरुको दीर्घकालीन अर्थ पनि हुन्छ ?

नेपाल पुरुषभन्दा महिला धेरै भएको मुलुक हो। त्यो भित्र पनि धेरै पुरुषहरु विदेशमा रहेकाले महिला मतदाताहरु धेरै छन। पुरुषवादी समाजमा कुनै पार्टीको अध्यक्ष र महासचिव महिला हुनुले निकै ठुलो अर्थ राख्छ।

महिला नेतृत्वको बारेमा संसारमा धेरै अध्ययन चलिरहेको छ, त्यो अध्ययनले महिला नेतृत्वको संगठनमा उत्पादनशीलता, प्रभावशाली, कम द्धन्द हुने विष्लेषणहरु आएका छन्। हाम्रो समाजले महिला भनेको दोस्राे दर्जाको रुपमा लिने र त्यो प्रकारको व्यवहार र धारणालाई विवेकशीलको नेतृत्वले नराम्रो तहले झापड हानेको छ। पार्टीमा स्थिरता आवश्यकता छ, महिला नेतृत्व सधैं भइरहन नसक्छ तर आवश्यकता छ। विवेकशीलले आमा तत्व र आमा नेतृत्व पाएको छ। समाज परिर्वतनमा महिलाले महत्वपूर्ण भूमिका खेल्न सक्छन भन्ने पनि सन्देश हाे।

तपाईंंका साथीहरु नयाँ दल खोलेर पनि संसद र मन्त्री बनिसके तर विवेकशील साझाका नेता/अभियान्ताहरु जहाँको त्यहीँ हुनुहुन्छ ? खास तपाईंंहरुले चाहेको वैकल्पिक राजनीतिक शक्ति कस्तो हो ?

नेपालीहरुको दिमागमा राजनीति भनेको सत्ता (पद) प्राप्तिमा सिमित रह्याे। मैले केही दिन पहिले एउटा पसलमा चिया पिउँदै थिएँ, पसलेले ‘हाम्रो दाइ मन्त्री भएर सुरक्षासहित ठुलो गाडीमा आएको हेर्न मन छ’ भन्नु भयाे, म अचम्मित भएँ। यति भनिरहँदै गर्दा उहाँले सोच्नु भएन हाम्रो गाउँको स्कुल, अस्पताल, पुस्तकालय, सडकलगायतका पूर्वाधारका काम राम्रो होस् भन्ने सोच्नु भएन। गाउँको आफूले भोट हालेको मान्छे मन्त्री भएर झण्डा फरफराएर शक्ति प्रदर्शन गरेको हेर्न रहर भएको समाजमा हामी बाँचिरहेका छौँ। त्यसैले पूर्व नेता/कार्यकर्ता मन्त्री संसद भइसके तर तपाईंं के ? भनेर प्रश्न गर्ने भनेकाे हाम्राे समाजले राजनीतिलाई सत्ता वा पद प्राप्तिकाे रुपमा हेरेकाे सहजै बुझिन्छ।

अब काँग्रेस, एमाले, माओवादीको विकल्पको दल विवेकशील साझा हामी बनाउँदैछौँ। अहिलेको संसदयीय अंकलाई हेर्दा हामी सडकमा छौँ तर देशमा गलत भइरहँदै गर्दा संसदमा भएको मान्छे नबोल्न सक्ला तर हामी सडकमा गलत कदमविरुद्ध माइतीघरमा पम्पेट लिएर प्रर्दशन गर्न सक्छौँ, यसलाई खास राजनीति भनिन्छ। विवेकशील साझामा २१ वर्षकी रञ्जु दर्शना कति सक्षम छन वा छैनन् ? उनले कती पटक चुनाव जितिन् वा जितेनन् ? त्यो दोस्राे कुरा हो। तर, युवाहरु पनि मेयर संसद बन्न सक्छन भन्ने चेतना फैलाउनु महत्वपूर्ण राजनीति हो। यसको प्रभावले युवाहरु राजनीतिमा आए, मेयर बने, संसद बने, राजनीतिमा आउने प्रेरणा पाए। पद र सत्ता प्राप्ति मात्र राजनीति होइन। हिजो उज्वल थापा कहिल्यै मन्त्री बन्नु भएन तर समाजने मान्ने नेताको रुपमा स्थापित हुनु भयाे। मलाई लाग्छ, मन्त्री वा संसद मात्र नेता होइनन्, समाजलाई लिडरसीप गर्नु नयाँ विचार, प्रेरणा दिनु राजनीति हो।

तपाईंहरु ०६९/७० देखि वैकल्पिक राजनीतिक अभियानको प्रचार गरिरहनुभएको छ तर आम युवा पुस्ताले गर्दै आएको आशा र भरोसा गुमाए जस्तो लाग्दैन ?

विवेकशील साझा जुन आशा र सपनासहित राजनीतिक आन्दोलनमा लागेको थियाे, त्यो अहिलेकाे घटना क्रममा बद्लिएकाे भने पक्का हो। हामीले देखाएको आशा महाधिवेशनभन्दा पहिले आशा थिएन तर अहिले आश पलाएको छ। हाम्रो समाज सभ्यता, मानव जीवन, आशा र निराशामा भौतारिरहेको छ। अन्य संगठनमा निराशा आइरहेको छ तर फेरि विवेकशीलमा आशा देखेर युवाहरु जोडिन खोजिरहेका छन्। हाम्रो समाज चर्चाको पछाडि दौडिरहेको छ, कतै-कतै अहिले रवि लामिछानेको ठाउँ दुर्गा पसाईंले लियो भन्ने जमात सिर्जना हुन थालेको छ। हाम्रो समाज अस्थिरतामा चलिरहेको छ, हामी आशा निराशाको भुमरीभित्र बाँचिरहेका छौँ। जनताले हामीलाई सामान्य बुझाइअनुसार खराब गर्दैनौँ, सुसंस्कृत राजनीति गर्ने भएकाले जनताले बुझ्न समय लागेको हो। वैचारिक राजनीति थोरैले अध्ययन गरेका छन्। विभिन्न दलका नेताहरु भाइरलको पक्षमा लागे। र, सम्मानित व्यक्तिलाई गाली गरेर आक्रोश पोखेपछि चर्चा पाइन्छ भनेर त्यो बाटो लागेका हुन्। हामी भाइरल बाटोको राजनीति गरिरहेका छैनौँ। अर्गानिक सोचका साथ काम गर्न समय लाग्छ, जनतालाई बुझाउन नसक्नु गल्ती होला तर हामी दिगो समयका लागि राजनीतिमा लागेका हौँ। आत्तिएका छैनौँ।

रवीन्द्र मिश्रले विवेकशील साझा ‘दल’जस्तो भएन भनेर विचार फेर्दै राजावादी (राप्रपा)मा जानुभयो, तपाईंहरु किन विवेकशील साझामै अडिनुभयो ?

रवीन्द्र मिश्रको बारेमा म टिप्पणी गर्न चाहन्न। किनभने, उहाँ वैकल्पिक राजनीतिको धरातलमा रहेर राजनीति गरिरहेकोहरुले टिप्पणी गर्ने पात्र होइन। अहिले देखिएको समस्या भनेको ५०/५५ वर्ष कटेपछिको बुढा नेताहरुको छटपटाइ हो। यो स्वभाविक हो। म ३३ वर्षीय युवा एक पटक हार्दैमा केही फरक हुँदैन। अझै १५/२० वर्ष समाज परिर्वतन र विचार प्रवाहमा लाग्न सक्छु तर बुढा नेताहरुमा धैर्यता छैन। फेरि सम्भावना पनि छैन, त्यसैले रवीन्द्रमा पनि ‘अहिले भए हुन्छ नत्र हुँदैन’ भन्ने मानसिकतामा बाँचिरहेका छन। छोडेर जानेहरुले के सोच्नु पर्छ भने, मबाट भएन तर मेरा भाइ-बहिनीहरु र मैले सिकाएका कार्यकर्ता आफ्नो मुद्धामा सफलता प्राप्त गर्नु मेरो सफलता सोच्नु पर्छ। हाेइन भने, अवसरका लागि मैले सकेन अब सकिँदैन भन्नु गलत हो। रवीन्द्रजी उमेर र बुझाइका कारण स्थिर रहन सक्नुभएन। अस्थिर रहनु एउटा प्रगतिशील पार्टी बनाउँछु भनेर लागेको मान्छे यो देशको सबैभन्दा प्रतिगामी पार्टीमा पुग्नु कतिको जायज हो ? उहाँले आफ्नाे वृत्तान्तमा लेख्नु होला। उहाँले जुन दिन राजावादी दस्तावेज ल्याउनुभयो, राप्रपा प्रवेश गर्नुभयो त्यो कालखण्ड टिप्पणी गर्न योग्य छैन। उहाँको विषय लिएर छलफल गर्नु समय बर्बाद गर्नु जस्तै हो।

अहिले सदनमा युवाहरु छन्, के युवा सांसदहरु र तपाईंहरुको सहकार्य हुनसक्छ ?

मेरो पहुँचमा रहेका युवा सांसदहरुसँग म निरन्तर संवाद गरिरहेकाे छु। लोकरिजाइँ र ख्रोक्रो राष्ट्रवादले हाम्राे समाज, देश र राजनीतिलाई विथाेल्न खोज्यो र संकट देखियो भने एउटा शक्ति बनाउनुपर्छ भनेर प्रारम्भिक चरणमा उन्नत लोकतान्त्रका लागि युवा निर्माण गर्नुपर्छ भनेर हामीले प्रत्यत्न गरिरहेका छाैँ। युवा, विद्यार्थीहरुसँग संवाद गरिरहेकाे छु। हामी युवाहरु फरक-फरक संगठनमा छौँ तर हाम्रो पुस्ताले सहकार्य गरेर अगाडि बढनुपर्छ। सबै युवाहरु एकले अर्कालाई प्राेत्साहन गरेर अगाडि बढ्ने माहोलको सिर्जना गर्नुपर्छ। युवाहरुकाे बारेका म सचेत छु। युवाहरुसँग सहकार्य आजको आवश्यकता हो।

विवेकशील साझामा युवाहरुको ठुलो जमात छ तर पार्टीमा वैचारिक र ऊर्जाशील छैन भनिन्छ नि, यसमा तपाईंकाे धारणा के छ ?

हाम्राे पार्टी वैचारिक र ऊर्जाशील छैन भन्नेहरु राजनीति नबुझ्नेहरु हुन। आज एमाले के हो ? काँग्रेस के हो ? एमालेको केन्द्रीय सदस्य रहेको युवा राजा बोकेर हिँड्नसम्म पछि पर्दैनन। संविधान मैले बनाएको हो भन्नेहरु आज राजा र हिन्दू राज्य चाहियो भनिरहेका छन्। हामीले यो व्यवस्था सुधारमा लागेर सुधारात्मक गणतन्त्र, धर्म निरपेक्षता, संघीयता उन्नत बनाउनेदेखि समावेशीतालाई प्राेत्साहन गर्ने, सामाजिक न्यायलाई उन्नत बनाउने, व्यक्तिकाे आत्मसम्मान र स्वतन्त्रता, प्रेस स्वतन्त्रता, खुल्ला समाज, अर्थ नीति, समुन्नती, शिक्षा, स्वास्थ्यमा राज्यको दायित्व बढाउने कृषि, पर्यटन, जलविद्युत, प्रविधिमा लगानी गर्ने, खर्च र आम्दानीमा व्यालेन्स (सन्तुलन) गर्ने बहस तथा निर्माणमा हामी देशको स्पष्ट वैचारिक लिडरसीप हौँ। वैचारिक र उर्जाशील छैन भन्नु गलत हो।

अन्त्यमा, विवेकशील साझाले वर्तमान समयमा देखिएको राजनीतिक अस्थिरतालाई कसरी लिएको छ ?

देश भनेकाे तपाईं हाम्रो जीवन अथवा ३ करोड नेपालीको जीवनको योगफल हो। आम नेपालीको जीवनको संयोग नै देशको स्थिरता वा अस्थिरता हाे। त्यसैले देश अस्थिर छ, देशको अर्थतन्त्र मेरो अर्थतन्त्रसँग जोडिएको छ। देशमा नेता नचिन्ने हो भने केही पनि हुँदैन भन्ने मानसिकता जीवित छ। केही दिन पहिले एक संयोगले म काभ्रे गएको थिएँ। एक जना आमाले ‘मेरो छोरीको नागरिकता लिन गएको तर जन्ममिति उसकाे बुवाको मुत्यु दर्ता भन्दा पछि भएकाले एक दुई हप्ता सिडियो कार्यालय धाएँ तर नागरिकता बनेन्। फेरि, अन्तिममा नेता बोकेर गएपछि नागरिकता बन्यो’ भन्नु भयाे।

यस्ता प्रवृत्तिले गर्दा देशमा मेरो कुनै भूमिका छैन, सबै कुरा नेताहरु हुन्, साशकता सरकार निर्माण भएको छ। न्याय पाउन न्यायधीश चिन्नुपर्छ, कानुनको मतलब हुँदैन। सत्यताको पक्षमा हुँदैन। राज्यले दिने सेवा सुविधा सरकारबाट मैले नपाए जीवन नै अस्थिर रहन्छ। म, परिवार र समाजको अस्थिरता देश अस्थिरता हो। जीवनलाई सहता कसरी बनाउने सोच्ने हो। आत्मसम्मान र समृद्धी नै हुन आवश्यक छ। शिक्षा, स्वास्थ्य, रोजगार सहजै प्राप्ति गर्ने, जात, लिङ्ग वर्गको आधारमा सहजता प्रदान भए मात्र देशमा राजनीति स्थिर हुन्छ। कुनै राजनीतिक दलमा जोड्ने भन्दा पनि आमजनताको जीवनस्तर परिर्वतनका लागि वैकल्पिक राजनीतिमा लाग्नुपर्छ। कुनै पार्टीको सदस्य बन्ने मात्र होइन। ठिक र बेठिक छुट्याउन सक्ने चेतनाको निर्माण नभएकाले राजनीतिमा नजोडिएकाले देशले राजनीतिक अस्थिरता देखिएको हो।

प्रकाशित मिति: : 2023-03-01 21:35:00

प्रतिकृया दिनुहोस्