जनमोर्चाले भन्याे- एमाले प्रतिगमनको उद्देश्यबाट पछाडि हटेको छैन, त्यसैले रामचन्द्र पौडेललाई समर्थन गर्‍याैँ

राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिमा आफ्नो पार्टीले पौडेललाई समर्थन गर्ने निर्णय गरेकाे बताएका छन्।

नेकपा एमालेको नेतृत्वले देशमा प्रतिगमन लाद्न विगत दुई वर्षदेखि लगातार प्रयत्न गरिरहेको उल्लेख गर्दै अध्यक्ष केसीले अहिले पनि एमालेको नेतृत्व प्रतिगमनको उद्देश्यबाट पछाडि नहटेको बताएका छन्।

'नेकपा एमालेको नेतृत्वले देशमा प्रतिगमन लाद्न विगत दुई वर्षदेखि लगातार प्रयत्न गरिरहेको छ। अहिले पनि नेकपा एमालेको नेतृत्व प्रतिगमनको उद्देश्यबाट पछाडि हटेको छैन। विगतमा २/२ पटक संसद भङ्ग गरेर, ९/९ महिनासम्म संसदलाई चल्न नदिएर, जनताका आवाजहरुलाई संसदमा उठाउनबाट सांसदहरुलाई बञ्चित गरेको कुरा सबैको अगाडि जगजाहेर छ', विज्ञप्तिमा भनिएकाे छ, 'संसद जनप्रतिनिधि संस्था नभएर प्रधानमन्त्रीको कठपुतली संस्था हो, प्रधानमन्त्रीले चाहेका बखत कुनै पनि बेला भङ्ग गर्न सकिन्छ भन्ने मान्यताबाट एमाले पछाडि हटेको छैन।'

राज्यका सबै प्रमुख पदहरुमा कब्जा गरेर एमालेले देशमा अधिनायकवादको अभ्यास गर्न खोजिरहेको उनकाे दाबी छ। 'राज्यका सबै प्रमुख पदहरुमा कब्जा गरेर एमालेले देशमा अधिनायकवादको अभ्यास गर्न खोजिरहेको छ', केसीले उल्लेख गरेका छन्, 'एमालेको उद्देश्य राष्ट्रपति संस्थालाई आफ्नो छुद्र राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने गुरु योजना रहेको छ।'

अध्यक्ष केसीले विगतमा पनि एमालेले राष्ट्रपति संस्थालाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेर विवादित बनाएकाे भन्दै त्यो स्थिति नदोहोरिनका लागि कांग्रेसले अगाडि सारेको उम्मेदवारलाई समर्थन गरेका उल्लेख गरेका छन्।

'विगतमा पनि एमालेले राष्ट्रपति जस्तो सम्मानीत र उच्च संस्थालाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेर राष्ट्रपति संस्थालाई विवादित बनाएर त्यसको छविलाई धुमिल पारेको इतिहास सबैका अगाडि स्पष्ट नै छ', उनले भनेका छन्, 'त्यो स्थिति नदोहोरियोस् भन्नका लागि प्रतिगमनका विरुद्ध रहेका दलहरु मध्येबाट नै राष्ट्रपतिको उम्मेदवार बनाउनु उपयुक्त हुन्थ्यो। त्यसैले कांग्रेसले अगाडि सारेको उम्मेदवारलाई समर्थन गर्दै विजय गराउनु पर्ने आवश्यकतामा हाम्रो दलले जोड दिन्छ।'

प्रकाशित मिति: : 2023-02-25 16:02:00

प्रतिकृया दिनुहोस्