‘बोलचाल’समेत नभएका एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ।
एमाले स्रोतका अनुसार उपाध्यक्ष विष्णुप्रसाद पौडेल र एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको पहलमा उनीहरूबीच महाराजगञ्जमा भेटवार्ता भएको हो।
राजनीतिक वृत्तमा ‘भावी राष्ट्रपति’बारे अनेकाैं बहस र चर्चा चलिरहेका बेला आइतबार भएको ओली–नेपालको गोप्य वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
‘कमरेड ओली झापा जानुभएको थियो। उहाँ त्यहाँबाट आएपछि पहिले सोम कमरेडसँग भेट भयो। अनि उहाँहरूले महाराजगञ्ज रोज्नुभयो,’ एकीकृत समाजवादीका एक स्थायी कमिटी सदस्यले भने।
स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन्।
ओलीकाे प्रस्तावलगतै नेता नेपालले पार्टीभित्र सल्लाह गनुपर्ने बताएका थिए। उनीहरूबीच आइतबार सकारात्मक संवाद भएको एमालेका एक केन्द्रीय सदस्यले जनाएका छन्।
ओली–नेपालको भेटवार्ता सकिएपछि एमाले र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरू भैंसेपाटीस्थित विष्णु पौडेलको निवासमा भेला भएका थिए।