प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसामु नयाँ प्रस्ताव अघि सारेका छन्। शनिबार एकाबिहानै बालुवाटार पुगेका ओलीलाई प्रचण्डले राष्ट्रपति बन्न आग्रह गरे।
सत्तारुढ दलहरूबीच राष्ट्रपति कसलाई बनाउने भन्ने चर्चा–परिचर्चा भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले ओलीलाई राष्ट्रपतिको लागि प्रस्ताव गरेकाे प्रधानमन्त्रीनिकट स्रोतले बिएल नेपाली सेवालाई जनाएको छ।
गृहमन्त्रीबारे सल्लाह गर्न प्रधानमन्त्रीनिवास बालुटारमा पुगेका एमाले अध्यक्ष ओलीलाई प्रचण्डले ठट्यौली शैलीमा भने, ‘केपीजी तपाईं राष्ट्रपति बन्नोस्। म पाँच वर्ष प्रधानमन्त्री नै बन्छु। पार्टी पनि एकता गरौँ। दुबैजनाले पार्टीबाट बिदा लिएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौँ।’
अनि, प्रचण्डको प्रस्तावलाई अध्यक्ष ओलीले हाँसेरै टारिदिए। दुई जनाको भेटमा सत्तारुढ दलहरूबीचमा भइरहेको बिमतिका विषयमा छलफल भयाे। भेटमा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिढाउन नहुने बताए।
प्रधानमन्त्री प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउने गरी छलफल गर्नुपर्ने बताए। त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रका तर्फबाट ओलीलाई छलफल गर्न प्रचण्डले आग्रह गरे।
उनीहरूले भेटमा रवि लामिछाने नेतृत्वको रास्वपालाई गृहमन्त्रालय दिने वा नदिने भन्ने विषयमासमेत छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएकाे छ।