नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा समावेश गरेको छ। क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई बन्द प्रशिक्षणमा समावेश गरिएको हो।
निलम्बन फुकुवासँगै पूर्व कप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए।
क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो। केही समयअघि मात्रै सन्दीप उच्च अदालत पाटनको आदेशले बलात्कार मुद्दामा धरौटीमा रिहा भएका थिए।
यसैबीच उनलाई थुनामै पठाउनुपर्ने माग गर्दै महान्यायधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दिएको रिटको शुक्रबार सुनुवाई हुने भएको छ ।
यसरी सर्वोच्च अदालतले रिटको सुनुवाई गर्ने पूर्वसन्ध्यामै सन्दीपलाई राष्ट्रिय टिममा फर्काइएको छ ।
सन्दीपमाथि नेपाल क्रिकेट संघ उदार हुँदै गएकोमा सामाजिक सञ्जालमा चर्को विरोध देखिएको छ ।