के एलिजा गौतम मन्त्री बन्दैछिन् ? 

कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन्। शनिबार रुपन्देहीको भैरहवामा एक कार्यक्रम गर्दै उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन्। गौतम पत्रकार ऋषि धमलाकी पत्नी पनि हुन्।

नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेसँगै उनी लुम्बिनी प्रदेश सरकारको मन्त्री बन्न लागेकाे भनेर चर्चा भइरहेको छ। तर पार्टीमा स्वागत गर्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले गौतमको पार्टी प्रवेश स्वाभाविक रहेको र जिम्मेवार दिने विषयमा भने कुनै योजना नरहेको बताएकी छिन्।

अध्यक्ष श्रेष्ठले भनेको जस्तो गौतमको पार्टी प्रवेशलाई कतिपले सामान्य योजना नरहेको बताउँछन्। त्यसोभए के गौतम लुम्बिनी प्रदेश सरकारको मन्त्री बन्न लागेकी हुन्? भन्ने प्रश्नहरू पनि उठ्न थालेकाे छ। नेपालको संविधानअनुसार सांसद नभए पनि ६ महिनाका लागि गैरसांसद मन्त्री बन्न पाउने व्यवस्था गरेको छ।

गौतम मन्त्री बन्ने भन्ने कुरालाई नागरिक उन्मुक्ति पार्टीका सांसद तथा लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता धर्मबहादुर चौधरीले हल्ला मात्र रहेको बताउँछन्। ‘मैले पनि मन्त्री बन्ने भन्ने कुरा सुनेको मात्र हो,’ उनले भने, ‘तर त्यसमा कुनै सत्यता छैन। हल्ला मात्र हो।’

संसदीय दलका नेता चौधरीले लुम्बिनी प्रदेशमा जननिर्वाचित सांसदहरु हुँदाहुँदै गैरसांसद मन्त्री हुन नसक्ने बताए। ‘म संसदीय दलको नेता हो। गौतम मन्त्री बन्ने भन्ने कुरा भएको छैन,’ उनले भने, ‘यदि बन्ने हो भने त कारण चाहियो नि। अहिले हामी दुई जना प्रत्यक्ष जितेका र दुई जना समानुपातिक सांसद गरी ४ जना छौँ। जननिर्वाचित हुँदाहुँदै गैरसांसद मन्त्री बन्ने कुरै भएन।’

गौतम किन पार्टी प्रवेश गरिन् त?

रंगमञ्चमा रहेकी गौतमको राजनीति प्रवेशलाई सामान्य रुपमा हेरिएको छैन। त्यसो भए उनी किन प्रवेश गरिन त? उनले पार्टीको कुनै नेतृत्वमा बस्न सक्ने चर्चा पनि भएको छ।

नागरिक उन्मुक्ति पार्टीको आउने वैशाख ४, ५ र ६ गते अधिवेशन हुँदैछ। उक्त अधिवेशनबाट गौतम पार्टीको कुनै नेतृत्व तहमा बस्ने बताइएको छ। नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता चौधरीले पनि अधिवेशनबाट पार्टीको कुनै नेतृत्वमा बस्ने इच्छा भएर पार्टीमा आएको हुन सक्ने बताए।

उनले भने, ‘हाम्रो पार्टीको आउने वैशाख ४, ५ र ६ गते अधिवेशन हुँदैछ। सायद गौतमकाे पनि कुनै नेतृत्वमा बस्ने इच्छा हुन सक्छ।’ चौधरीले अगाडि भने, ‘ऋषि धमलाकी पत्नी जस्तो मान्छे अब क्रियाशील सदस्यमा बस्ने भन्ने कुरा त हुँदैन होला।’

गौतमलाई नेपालगञ्जमा कार्यक्रम गरी पार्टी प्रवेश गराउने तयारी थियो। तर रुपन्देहीबाट अन्य पनि पार्टीमा प्रवेश गर्ने भएपछि कार्यक्रम भैरहवामा गरिएको हो। नेपालगञ्जमा भने आउने सोमबार वा मंगलबार पार्टी प्रवेश कार्यक्रम रहेको चौधरीले जानकारी दिए।

प्रकाशित मिति: : 2023-01-28 17:19:00

प्रतिकृया दिनुहोस्