हालसालै बजारमा आएको डा. नवराज केसीको पुस्तक 'शून्यको मूल्य' पढिसकेपछि केही कुरा लेखिहाल्न हतारो भएको छ। के कुरा लेख्न हतारो भएको छ भने जति मीठो सिर्जना र अनावश्यक जिद (लेखकको जिदलाई अनावश्यक नै ठहराएको छु) लेखकले पुस्तकलाई सिर्जनात्मक गैरआख्यान बनाउनलाई खर्चिएका छन्, त्यति नै मात्रामा मीठो सिर्जना र आवश्यक जिद आख्यान बनाउनलाई खर्चिएको भए पुस्तक झनै उम्दा र झनै स्तरीय भएर हामीसामु आउने थियो। यसो भन्नुकाे पछाडि केही तर्कहरु छन्, यद्यपि ती तर्कहरु साह्रै कमजोर भएपनि स्वाभाविक रुपमा हुने भइहाल्ने नै भए।
तर्क नं १: 'बुधेकी फुपूआमा' नामाकरण गरिएको पुस्तकको पहिलो शीर्षकमा लामा-लामा दुईटा कथा खादाखाद रुपमा खाँदिएका छन् अर्थात जोडिएका छन्। यी दुईटा कथा ससर्ती पढदा पनि सामान्य पाठकले खुटाउन सक्छ कि यी फरक-फरक पृष्ठभूमि, पात्र, द्वन्द्व र अवसान भएका कथाहरु हुन् भनेर। तब यी दुईटा कथा एकैमा जसरी पनि खाँद्नै पर्ने गरी अर्थात् जोड्नै पर्ने गरी लेखक, सम्पादक अथवा प्रकाशकको मष्तिस्कमा कुन हठले र कुन ब्रह्मले तनाव सिर्जना गरेको होला?
फेरि खाँदिसकेपछि अर्थात् जोडिसकेपछि पनि एउटै शीर्षकले दुवै कथालाई समेट्न सक्छ भन्ने भ्रम कसरी पलाएको होला? अनि शाब्दिक र तात्विक भिन्नतामा स्पष्ट रहेका दुई कथा सम्बन्धित छन्, छन् भनेपछि छन्। पढ् भनेपछि खुरुक्क पढ् भने जस्तो तरिकाले पाठकको स्वयत्तामाथि र छनोटमाथि बलात तरिकाले लाग्न तिनीहरुलाई कस्तो रहरले र कस्तो सनकले अभिप्रेरित गराएको होला?
उसो त बिनाआधार दुईटा कथा खाँदिएका छैनन् अर्थात जोडिएका छैनन्। 'बेनामे आमा' को आधारमा दुईटा कथा खाँदिएका छन् अर्थात जोडिएका छन्। तर जसरी लेखकले खाँदेका छन् अर्थात जोडेका छन्, त्यो पनि त खास सान्दर्भिक देखिँदैन। किनभने पुस्तकभित्रका अरु शीर्षकमा पनि बेनामे आमाहरु छन्। तिनमा पनि यस्तै बेनामे आमाहरुका कहालिलाग्दा कथाहरु छन्।
कुनै एक शीर्षकमा त लेखकले यस्तै एक बेनामे आमाको नामसम्म जुराइदिन भ्याएका छन्। भनेपछि जोड्नका निमित्त र खाँद्नका निमित्त मात्र किन ती कथाहरु एकआपसमा जोडिएका होलान्? किन खाँदिएका होलान्? नत्र त सबै कथा एकै ठाँउमा खाँदिदिए पनि अर्थात जोडिदिए पनि हुन्थ्यो नि हैन र?
तर्क नं २ः पुस्तकभित्रका हरेक शिर्षकमा मुटु हतप्रत जमाइदिने बहावमा कथाहरु बगेका छन्। कतैकतै त कर्णाली नदीभन्दा ज्यादा सलल... बगेकाे नि भान भइदिन सक्छन्। इमान्दार पूर्वक लेखकको यस प्रकारको कलालाई र प्रतिभालाई हौसला र आदारभाव नतमस्तक भएर प्रदान गर्नैपर्ने हुन्छ।
हौसला र आदारभाव दिलबाट लेखकलाई दिँदादिँदै पनि म अर्कोतर्फ साथीहरुसँग फर्केर के भन्न बाध्य छु भने कथा बगिरहँदा बीचमा अरुचिपूर्वक अचानक आइहाल्ने गैरआख्यान तथ्य र विश्लेषणले भने बग्दाबग्दैको कथालाई निमेषभरमै सनक्क सुकाइदिन्छ। म एकदम बाध्यमा नै छु सोध्नलाई कि त्यो बीचमा प्याच्च-प्याच्च आइरहने गैरआख्यान तथ्य र विश्लेषण वास्तवमै पुस्तकमा आवश्यक छ?
केही न केही पाठकलाई ज्ञान दिनैपर्ने भूतले यदि लेखकलाई छोएकै हो भने सोध्न झनै बाध्य छु। मुटु नै जमाइदिने स्तरमा र रफतारमा बगेका सिर्जनात्मक गैरआख्यान कथाहरु बलवान र प्रभावशाली हुन्छन् कि बग्दाबग्दैको कथालाई निमेषभरमै सुकाइदिने गैरआख्यान तथ्य र विश्लेषणहरु? म अलिक सोच्न बाध्य पनि छु। एकफेर लेखकले, सम्पादकले अथवा प्रकाशकले गैरआख्यान तथ्य तथा विश्लेषणलाई चटक्कै र सुटुक्कै निकालेर गैरआख्यान कथाहरु मात्र पढिदिने उर्जा देखाइदिएको भए?
तर्क नं ३: यस पुस्तकको सबैभन्दा बढी मन नपरेको कुरा भनेको कथा वाचन हो। 'म' कथा वाचन को ठाँउमा आएको 'डाक्टर' कथा वाचनले कतै अहम ओकलेको हो कि जस्तो लागिरह्यो, पुस्तक पढ्ने अवधिभर र अहिलेसम्म पनि लागि नै रहेको छ। यस्तो खाले विचार राधा पौडेलको मदन पुरस्कार विजेता कृति 'खलंगामा हमला' पढ्दाताका पनि महशुस भएको थियो।
अनि अर्को कुरा पुस्तकको लगभग प्रायः शिर्षकमा आइरहने 'डाक्टरले मोटामोटा किताब पढे, डाक्टरलाई ठुलाठुला प्रोफेसरहरुले पढाए, डाक्टर देशविदेश घुम्यो आदि-आदि' समेटिएका पङक्तिबद्ध प्रसंगहरु लेखकीय आत्मरत्तीविरुद्धमा पाठकीय अह्म अप्राकृतिक र अस्वाभाविक रुपमा जागृत गराइदिन पुग्छन्। अनि भडासकै स्तरमा लाग्छ, 'लेखकले मोटामोटा किताब पढेको, ठुलाठुला प्रोफेसरहरुले पढाएको, देशविदेश घुमेको लगायतको कुरा पाठकले बारम्बार पढिरहनु पर्ने किन? अनि पढेर याद गरिरहनुपर्ने बाध्यता किन?'
तर्क नं ४ः पुस्तकको अन्तिम शीर्षक 'पुतली आमा' मा पाठकलाई पढाइएको कथा सिर्जनात्मक गैरआख्यान नै हो?
तर्क नं ५ः भुलेँ।
अब उपसंहार
मलाई थाहा छैन, आफूले हतारमा सुरुमै लेखिहालेको कुरा क्षणिक उत्तेजना मात्र हो वा दुरगामी पनि हो? उसो त मलाई यो पनि थाहा छैन, हतारमा लेखिहालेको कुरालाई पुष्टि गर्न त्यसपछि क्रमश: दिएका मेरा तर्कहरु सही छन् वा छैनन्? क्रमबद्ध छन् वा छैनन्?
अनि धेरैलाई लाग्न सक्छ, यस पुस्तकको लेखकसँग रिसिबी रहेछ। तर यो सतप्रतिशत सही हुँदै होइन। किनभने उहाँसँग जम्माजम्मी एकपटक मात्र भेट भएको छ, त्यो पनि झल्याकझुलुक। धेरैलाई यो पनि लाग्न सक्छ, पुस्तकको राम्रो र सबल पक्षको बारेमा लेखे पनि हुन्थ्यो नि! एकदम हो। तर सबल र राम्रो पक्ष लेख्ने होडबाजीमै हामी धेरै पिछडिएका छौँ कि भन्ने लाग्छ। फेरि सबल र राम्रो पक्ष केलाउन निकै गहकिलो ध्यानदृष्टि र अन्तरदृष्टि पनि चाहिने गर्छ। ती दृष्टि तत्कालीन अवस्थामा आफूमा छैन कि जस्तो पनि लाग्छ।
यति भन्दाभन्दै पनि अन्त्यमा आएर एउटा राम्रो र सबल पक्ष जो मलाई नभनि नहुने, छ त्यो भनेर अस्तु हुन्छु- 'कर्णालीबाट कर्णालीका कथा जस प्रकारले विगतमा आएका थिएनन् अनि नआएको खण्डमा जसरी कर्णाली बेचेको आरोप र बचावट एकसाथ गरिन्थ्यो। यस पुस्तकमा भने कर्णालीबाट कर्णालीका कथा जस प्रकारले आउनुपर्ने थियो, त्यसरी नै आएको भान हुन्छ। यद्यपि अझै दम्दार रुपमा आउन कति बाँकी छ, छ! यसो भनौँ न त्यसरी आउनु पर्ने शृखलाको सुरुवात जब्बर रुपमा यस पुस्तकबाट भएको छ।'
मैले नि याे किताब, पढे, पाठककाे मनाेभाब संग अध्ययन र बिश्लेषण हुने रैछ, डा नवराजकाे दैनिकी हाे र भाेगेकाे यथार्थाता हाे र रूपान्तकारित पनि हुन कि जस्ताे लाग्छ, पेशागत कुरा सबैले गर्ने नै भए, अरूकाे कमेन्ट भन्दा डाक्टरले धेरै यथार्थता पस्केका छन भलै, कितावकाे साहसि गाउँकाे असली दुध सहर सम्म ल्याउने बाल बाबुकाे चित्रणमा ,