अभावले सम्पन्नता, दुखले मेहनत र मेहनतले सफलता बोकेको हुन्छ। मानिस स्वभावैले सुखी, सम्पन्न र सफल हुन चाहन्छ तर दुख र अभावमा हरेक मान्छे कहाँ रमाउन सक्छ र? यसैमध्येकाे एउटा उदाहरण बनेका छन्, महेश अधिकारी।
उनी हरेक साँझ बिहान घाँस-दाउराको भारी घरमा बिसाएपछि मात्रै विद्यालय जान पाउँदा पनि खुशीले उफ्रँदै जाने गर्दथे। त्यसो त घरबाट करिब दुई मिनेटको दुरीमा रहेको स्कुल आफ्नै बुवाले खोलेका थिए। उनका दाजुहरुको पढाइ राम्रो थियो। बुवा र दाजुहरुले सधैँ पढाइलाई नै प्राथमिकतामा राख्थे। परिवारमा पढ्नुपर्छ भन्ने मानसिकता सबैको थियो। भर्खर बोली फुट्दै गर्दा घरमा शिक्षक राखेर बुवाले पढाइको महत्व बुझाइसकेका थिए।
सानै उमेरदेखि नै वन अधिकृत बन्ने सपना देखेका उनले कक्षा आठसम्म गाउँकै त्रि सहिद माध्यमिक विद्यालयमा पढे। कक्षा नौ र दश भने काठमाडाैँस्थित शान्ति विद्या गृहमा अध्ययन गरी वि.स. २०५० सालमा एसएलसी उत्तीर्ण गरे। वन अधिकृत बन्ने सपना पूरा गर्नकै निम्ति पोखराको फरेष्ट्रि क्याम्पसमा आइएस्सी पढेका उनी बिएस्सी गर्न भने भारतको नैनीताल पुगे।
जीवनमा शिक्षा नै सबैभन्दा मुख्य जिउने आधार हो भन्ने सोचाइ राख्ने अधिकारीको जन्म वि.स. २०३३ साल फागुन २२ गते भएको हो। आमा ठगीकुमारी तथा बुवा ध्रुव अधिकारीका साइँला सन्तानको रुपमा स्याङ्गजा, आधीँखोला-४ मा जन्मिएका उनै महेशको जीवनका उतारचढाव र शिक्षा क्षेत्रसँग जोडिएका लामो अनुभवको चिरफार बिएल नेपाली सेवासंग गर्ने काेसिस गरिएकाे छ।
वि.स. २०५० सालमा एसएलसीको नतिजा पर्खाइमा ठूलो दाजु कृष्ण अधिकारीले सञ्चालन गरेको भ्याली पब्लिक विद्यालयमा कक्षा दशका विद्यार्थीहरुलाई ट्युसन पढाएका थिए, महेशले। पोखराबाट आइएस्सी सकेर पनि उनले सोही विद्यालयमा मावि तहमा गणितको शिक्षण गरेका थिए। त्यसो त उनको सपना भने वन अधिकृत बन्नु नै थियो। तर आइएस्सी सकेर बिएस्सी गर्दासम्म उनमा शिक्षण पेशाप्रति आकर्षण बढिसकेको थियो।
'थोरै समय विद्यालयका बालबालिकाहरुलाई पढाइसकेपछि त्यसको नशा जस्तो लागिसकेको थियो, त्यसैले बिएस्सी सकेलगत्तै वि.स. २०५८ सालमा भ्याली पब्लिक विद्यालयमा गणित विषयको शिक्षकको रुपमा मैले काम गर्न थालेँ', महेश भन्छन्, 'हाम्रो समयमा पढ्नुपर्छ भन्ने थियो। अहिले पढाउनुपर्छ र पढिदेउ भन्नुपर्छ। समयले यसरी कोल्टो फेर्यो कि आफ्नो लागि नभई अरुको निम्ति पढिदेउ भन्नुपर्ने भयो।' अहिलेका विद्यार्थीहरुप्रति चिन्ता व्यक्त गर्छन्, उनी।
'हामी विद्यार्थी हुँदा पढ्ने समय थिएन तर पनि हामीले दुखजिलो गरेर पढाइलाई निरन्तरता दिन्थ्यौँ। नतिजा पनि राम्रै हुने गर्दथ्यो। बुवाआमा खुशी हुन्थे तर अहिलेका विद्यार्थीहरुलाई बुवाआमाको लागि भए पनि पढिदेउ, समयमा खाना खाइदेउ, समयको ख्याल गरिदेउ भनेर सम्झाइरहनुपर्छ', उनी भन्छन्। जीवनको दुई दशकभन्दा बढी समय शिक्षा क्षेत्रमा बिताइरहँदा थुप्रै अनुभव बटुलिसकेका महेश हाल भ्याली पब्लिक माध्यमिक विद्यालयका प्रशासन प्रमुख पदमा कार्यरत छन्।
विश्वले शिक्षा क्षेत्रमा मारेको फड्कोलाई हेर्ने हो भने नेपालमा शिक्षा क्षेत्र अझै पनि बामे सरिरहेको छ। शिक्षा नितिको उचित कार्यान्वयन नहुनु, भएको निति नियमलाई पनि निरीक्षण, नियन्त्रण र नियमन नगर्नु जस्ता विविध कारणहरुले नेपालमा अझै पनि शिक्षा स्वरोजगारमूलक र सीपवर्धक हुन सकिरहेको छैन। सीपयुक्त, प्राविधिक र रोजगारमूलक शिक्षाकै अभावमा वैदेशिक रोजगारको आकर्षण झन उत्कट रुपमा फस्टाउँदै गइरहेको छ। निजी र सरकारी विद्यालयबीचको दूरी कायमै छ।
'निजी विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर मापदण्डअनुसार छ वा छैन भन्ने कुराकाे अनुगमन गर्नुपर्छ। यसलाई पनि समयअनुसार नियमन, निरीक्षण र नियन्त्रण गर्नु पर्दछ। सरकारी विद्यालयका शिक्षकहरुको अद्यावधिकीकरणसंगै शैक्षिक जनशक्ति उत्पादनलाई पनि समय सापेक्ष निरीक्षण, नियमन र नियन्त्रण गर्नु अत्यावश्यक छ। प्राविधिक शिक्षालाई नेपाल सरकारले नै लगानी गरी प्रत्येक विद्यालयमा यसको अनिवार्यता गराउनु पर्दछ', अधिकारी भन्छन्।
'अहिलेको शिक्षा त कस्तो भइदियो भने हामी दुखजिलो गरेर कक्षा १२ सम्म जसोतसो यहाँ टिकाउँछौँ तर त्यसपछि त्यो अपरिपक्व युवा जनशक्ति बिनाकुनै सीप वा अनुभवविहीन अवस्थामा विदेशिन बाध्य हुन्छ। यसले गर्दा न त हाम्रो देशको मुहार फेर्न सकियो, न त ती युवा पुस्ताको भविष्य नै सुरक्षित भयो। यो सबै प्रवृति र अव्यवस्थित रोजगारको अवस्थालाई केवल नेपाल सरकारले मात्रै न्यूनीकरण गर्न सक्छ। प्राविधिक शिक्षामा यथेष्ट लगानीका साथै स्वरोजगारमूलक पाठयक्रम र पाठयपुस्तकलाई अवलम्बन गर्नुपर्दछ', अधिकारी निर्धक्कता साथ भन्छन्, 'यो आवाजलाई सम्बन्धित निकायमा नपुर्याएको पनि होइन तर यहाँको संयन्त्र नै आफैँमा अपूर्ण छ। अहिले शिक्षा क्षेत्रको नियमन, अनुगमन, निरीक्षण र नियन्त्रणको सम्पूर्ण अधिकार स्थानीय निकायलाई दिएको छ। तर त्यहाँ पनि शिक्षा विभागमा दक्ष जनशक्तिको अभाव छ। जसको कारणले गर्दा सिमित जनशक्तिले असिमित विद्यालय तथा क्याम्पसहरुको अनुगमन गर्न अत्यन्त कठिन हुने गरेको छ। यस्ता विविध कारणहरुले गर्दा सरकारले जति नै उत्कृष्ट निति नियम बनाएतापनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन।'
'विद्यार्थी एक खाली दिमाग हो, जहाँ शिक्षकले जे भरिदियो त्यही ग्रहण गर्दछन्। त्यसकारण शिक्षक नै त्यो मध्यस्थकर्ता हो, जसले एउटा खाली दिमागमा के भर्ने र कसरी त्यसलाई ग्रहण गर्न योग्य बनाउने भन्ने कुराको सम्पूर्ण जिम्मेवारी लिनु पर्दछ। यसो भन्दै गर्दा विद्यार्थी र अभिभावकको पनि केही जिम्मेवारी भने अवश्य नै रहने गर्दछ', उनी थप्छन्, 'विद्यार्थीले असल कुरा ग्रहण गर्नको निम्ति उसको पारिवारीक सँस्कार र वातावरणले पनि उत्तिकै भूमिका खेल्ने गर्दछ।'
निजी र सरकारी विद्यालयबीचको भिन्नता तथा खाडललाई केले चिर्न सकिन्छ भन्ने प्रश्नमा उनी भन्छन्, 'निजी विद्यालयको अन्धाधुन्ध विरोध र बदख्वाँइ गर्नुभन्दा निरन्तर अनुगमन गर्नु पर्दछ। अवकाश पछाडि विभिन्न नाफामूलक गैरसरकारी संस्थाहरुमा आफ्नो नाम लेखाउनकै निम्ति मात्र सरकारी जागिर खाने प्रवृतिको अन्त्य हुनु पर्दछ। सरकारको मानाचामलमा हुर्कने ती संस्थाहरुलाई त झन कति अनुगमन, निरीक्षण, नियमन र नियन्त्रणको आवश्यकता पर्दछ ? यसको त उत्तर नै अनुत्तरित छ।'
विद्यालय चाहे सरकारी होस् या निजी त्यहाँका हरेक शिक्षकहरुमा भने व्यवसायिकतासँगै भावनात्मक, उदेश्यात्मक, अद्यावधिक, समय सापेक्ष, सीपयुक्त र कौशलतासहितको आफ्नो पेशाप्रति इमान्दनरिता र सन्तुष्टि पनि अपरिहार्य हुनु पर्दछ भन्ने क्रान्तिकारी विचारका धनी महेशले विवाह पनि आफू जस्तै शिक्षक अनिता थापासंग वि.स २०६३ सालमा गरे।
एक छोराका बाबु उनी जीवन एक रमाइलो क्षण हो भन्छन्। 'प्रेम मभित्रको भावना हो। यसैको आधारमा नै संसार अडिएको छ। आफूले पढाएको विद्यार्थी सफल हुँदा आफू सफल भएको ठान्ने महेश व्यक्तिगत अनुशासन नै धर्म र मानव उत्थानको निम्ति गरिने सेवा नै समाजसेवा हो' भन्ने विचार व्यक्त गर्दछन्।
'शिक्षा क्षेत्रमा नै दुई दशकभन्दा बढी समय व्यतित गरिसकेका अधिकारीको जीवनमा आजीवन दुख लाग्ने घटना करिब चार वर्षअघिको विद्यालयको शैक्षिक भ्रमण नै हो। जसमा विद्यालयका एक होनहार विद्यार्थीले ज्यान गुमाउनु परेको थियो। मेरो शरीर नाश नहुन्जेलसम्म यो अपुरणीय क्षतिलाई म बिर्सन सक्दिनँ', उनी भावुक हुन्छन्।
प्राथमिक तहबाट सुरु गरिएको भ्याली पब्लिकमा अहिले उच्च मावि तहसम्म अध्यापन गराइन्छ। यसका साथै भ्याली पब्लिककै भगिनी संस्था भद्रकाली मावि पनि उत्तिकै सफलताका साथ सञ्चालन भइरहेको छ। त्यसो त भ्यालीकै शिशु कक्षा सञ्चालन हुने भ्याली पब्लिक मन्टेश्वरी सञ्चालनमा रहेको छ।
हाल उच्च मावि तहसम्म अध्यापन भइरहेको भ्याली पब्लिकलाई आगामी दश वर्षभित्रमा स्नातकोत्तर तहसम्म र भद्रकाली मावि तथा मन्टेश्वरी विद्यालयलाई पनि अझ बढी परिमार्जित र परिष्कृत गर्दै लैजाने योजना रहेको अधिकारी बताउँछन्। 'आफ्नो विद्यालयमा हरेक अभिभावकले कुनै न कुनै उदेश्य राखेर आफ्नो बच्चालाई भर्ना गर्न ल्याएका हुन्छन्, त्यसलाई पूरा गर्ने नै मेरो सपना, लक्ष्य र सफलता हो', अधिकारी भन्छन्।