यती विमान दुर्घटनामा अमेरिकाबाट गएकी बन्दनाको पनि निधन

बिएल संवाददाता

वासिङ्टन डीसी

पोखरामा भएको यती एयलाइन्स दुर्घटनामा निधन हुने अर्को एक यात्रु पनि अमेरिकाको नेपाली डायस्पोराको भएको जानकारी प्राप्त भएको छ।

यसरी ज्यान गुमाउने चौथो यात्रु अमेरिका टेक्सासकी  २१ बर्षिया बन्दना सुनार हुन्।

उनी बिरामी हजुरआमा भेट्न केही समयपहिले भाइलाई लिएर नेपाल गएको बताइएको छ।

काठमाडौंको एक अस्पतालमा उपचाररत हजुरआमालाई भेटेपछि उनी माघ १ गते यती एयरलाइन्सको विमानबाट पोखरा जाँदै थिइन्। दुर्भाग्य, उनी दर्घटनामा परिन्।

बिगत ६ बर्षदेखि भाई र दिदीसँगै अमेरिकाको टेक्सासमा बस्दै आएकी बन्दनाको बुबाको केही बर्ष अगाडि क्यान्सरबाट निधन भएको थियो।

अमेरिकामा नर्सिङ पढ्दै गरेकी बन्दना गीत/संगीतमा पनि रूचि राख्थिन्। उनले आफ्नै युट्युब च्यानल मा केही कभर भिडियो  पनि राखेकी छिन्। 

यसअघि नै अमेरिकाको अलास्काबाट नेपाल घुम्न गएका काठमाडौं स्वयम्भूका हरि परियार, कास्की हेम्जा हनुमानचोकका राजन सापकोटा र  धम्पुसका शिव गुरूङको निधन भएको समाचार बाहिरिसकेको छ।

हरि परियारसँगै श्रीमती लक्ष्मी, १६ वर्षीया छोरी रिता र १४ वर्षीय छोरो कृशको पनि निधन भएको थियो भने राजनसँगै श्रीमती आशिका र शिवसँगै श्रीमती अनुश्काको पनि निधन भएको समाचार बाहिरिएको थियो।

दुर्घटनामा ७२ जनाको दु:खद निधन भएको थियो। 

प्रकाशित मिति: : 2023-01-20 07:37:00

प्रतिकृया दिनुहोस्