हरि परियारको अमेरिकामा अर्की श्रीमती र छोरी, सहयोगका लागि खोलियो गोफण्डमी

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

यती एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएका काठमाडौं स्वयम्भूका हरि परियारको बारेमा नयाँ रहस्योद्घाटन भएको छ ।

अमेरिकाको अलास्कामा बसोबास गर्दै आएका परियारका बारेमा केही समयअघिसम्म श्रीमती लक्ष्मी, १६ वर्षीय छोरी रीता र १४ वर्षिय छोरो कृश मात्रै रहेको र उनले सपरिवार ज्यान गुमाएको सूचना मात्र थियो ।

उनका बारेमा यही नै समाचार पनि थियो । समाचार थाहा पाएर धेरैले बिस्मत मान्दै भने पनि, 'कठैबरा, परिवारका सबै सदस्य यही दुर्घटना सकिएछन् !'

तर, उनको जीवन-कथाको च्याप्टर यहीँ सकिएन । उता नेपालमा दाहसंस्कार पनि गर्नै नपाई यता अमेरिकामा उनको जीवनको अर्को च्याप्टर उद्घाटित भएको छ ।

हरि परियार आफ्नी दिदी कोरिनाको श्रीमान भएको र उनका ओसिया र रमोना नामका दुई छोरी रहेको भन्दै केयली केफर र सियरा फ्रोस्टले अमेरिकामा गोफण्डमीमा पैसा उठाउन थालेका छन् । श्रीमती कोरिना र छोरीहरूको सहयोगका लागि भनेर ३० हजार डलर लक्ष्य राखेर सञ्चालित गोफण्डमीमा यो समाचार तयार पारूञ्जेल १९१ मनकारीले १९ हजार एकसय ६९ डलर सहयोग गरिसकेका छन् ।

गोफण्डमीमा खोलिएको  सहयोग खातामा  कैयलीले हरिको अमेरिकी पारिवारसँगको तस्बिर र दुर्घटनासँग सम्बन्धित रोयटर्सको समाचार लिंक पनि राखेका छन् । सहयोग उठाउनेहरूको सम्पर्क ठेगाना भने अलास्काको होमर दिइएको छ।

सम्पकर्का लागि एउटा लिंक मेसेज बक्स राखिएको छ तर जानकारीका लागि सम्पर्क राख्न अनुरोध गर्दा हरिको सालो भनिएका चन्दा संकलनकर्ता केफरले सम्पर्क राखेका छैनन् ।

हरिको यो अमेरिकी परिवारको नयाँ जानकारीका बारेमा स्वतन्त्र रूपमा कसैले पुष्टी गरेको छैन। अब यो समाचार पुष्टी हुनेवाला पनि छैन । यता अमेरिकामामा नयाँ दाबी आएको छ, यस विषयमा जानकारी हुने हरि र उनको नेपालका परिवारका सबै सदस्य अब यो संसारमा छैनन् ।  

हरि परियारको नाममा उठाइएको गोफण्डमीको लिंक

तर, यो फण्डमी खातामा सहयोग गर्नेमा धेरैजसो विदेशी भए पनि केही नेपाली पनि छन् । शायद, ती नेपालीलाई हरिको यो नयाँ समाचारका बारेमा थाहा भएरै सहयोग गरेका हुन सक्छन् । यो समाचार तयार पार्ने क्रममा उनीहरूसँग सम्पर्क गर्न खोज्दा पनि सम्भव भएन ।

अमेरिकाको नेपाली डायस्पोराले भने यस बारेमा मिश्रित प्रतिक्रिया दिएको छ । केहीले यसमा के असम्भव छ र ?, हुन सक्छ भनेका छन् भने केहीले पैसा उठाउने मौका पनि हुनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् ।

अमेरिकाबाट परिवार भेट्न गएको मानिस परिवारका चारजना सदस्यसँगै ज्यान गएको भन्दा नै यो एक चलचित्रको कथा जस्तो लाग्ने थियो । झन अब त अमेरिकामा अर्को परिवार पनि भएको भन्रे खालको कथामा ट्विस्ट पनि आएको छ ।यसले हरिलाई यो एक गजबको चलचित्र बन्न सक्ने सम्भावित कथाको मूल पात्र बनाइ दिएको छ।  

टिकटकमा 'चेक चेक हरि परियार इज ब्याक' भनेर आक्रमक रूपमा प्रस्तुत हुने हरि परियारको व्यक्तित्व यसै पनि एक चलचित्रको पात्र भन्दा कम छैन ।

भनिन्छ, मरे पछि सबै सकिन्छ । यसका लागि नेपालीमा एउटा भनाइ पनि छ, मरेपछि ... राजा । को राजा अहिलेको समयमा भन्न सकिने अवस्था छैन । तर, सबैका लागि यस्तो हुँदैन । हरि परियार पनि त्यस्तै अपवादमा परे। उनी यो संसारबाट विदा भए पनि केही प्रश्नहरू अनुत्तरित नै छोडेर गए ।

चलचित्रमा सिक्वेलका लागि यस्ता प्रश्नहरू छोडिन्छन् । हरिले त वास्तविक जीवनमै यस्ता प्रश्नहरू छोडेर गएका छन् ।

 

प्रकाशित मिति: : 2023-01-19 09:10:00

प्रतिकृया दिनुहोस्