रुरु क्षेत्रधाम रिडिमा पाँचदिने माघे संक्रान्ती धार्मिक मेला सुरु

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगम स्थल रुरु क्षेत्रधाम रिडिमा आजदेखि  माघे संक्रान्ती धार्मिक मेला लागेको छ।

कालीगण्डकी रुरु धाम क्षेत्रमा स्नान गर्ने र ऋषिकेश देवताको दर्शनको लागी भक्तजनहरुको भीडभाड बढेको हो। 

माघे संक्रान्तीको अवसरमा कालीगण्डकीमा स्नान गर्नाले मानिसले अन्जानमा गरेका सम्पुर्ण पाप नास हुने जनबिश्वास रहेको पाईन्छ।

कालीगण्डकीमा प्रत्येक बर्ष रुरु क्षेत्रमा परापूर्वकालदेखि नै जेठी, माईली र कान्छी संक्रान्तीको रुपमा धार्मिक मेला लाग्दै आएको र यस बर्ष माघ ५ गते सम्म धार्मिक मेला लम्बिने भएको छ।

धार्मिक मेलामा नेपालसंगै छिमेकी मुलुक भारत उत्तर प्रदेश, महाराष्ट्रसम्मका हिन्दु धर्मालम्बीहरु रुरु क्षेत्रधाम रिडिमा स्नानको लागी आउने गर्दछन्।

धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पाबाट, मनाङ, मुस्ताङबाट उत्पादन गरी ल्याएका काम्लो, कम्मल, राडी, पाखी, बाँसबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयो लगायतका घरेलु सरसमान बिक्रीको लागी रुरु क्षेत्रमा आएका छन्।

धार्मिक मेलामा होटल व्यवसायदेखि स्थानीय कृषि उत्पादन समेत विक्रि वितरणको लागी रिडि बगरमा स्थलहरु राखिएका छन्।

मेलामा गुल्मीको गुण, पाल्पाको सुन्तला, रुकुमको घाँजी लगायतका सरसमानहरु विक्रिको लागी राखिएका छन्।

यसैगरी पाल्पाको राम्दी, केलादी, लगायतका स्थानमा पनि काली नदीमा स्नान गर्नेहरुको भीडभाड लागेको छ।

प्रकाशित मिति: : 2023-01-15 18:31:00

प्रतिकृया दिनुहोस्