प्रदेश १ मा झापाको वर्चस्व : २० सांसद र तीन जना संसदीय दलको नेता

फाइल तस्बिर
फाइल तस्बिर

प्रदेश नम्बर १ को प्रदेशसभामा हालसम्म चार राजनीतिक दलले संसदीय दलको नेता चयन गरेका छन्। 

प्रदेशको सबैभन्दा ठुलो दल नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको नेता चयन गरेको हो।

हालसम्म चयन भएकामध्ये नेकपा एमाले, कांग्रेस र राप्रपाको दलका नेता झापाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। 

एमालेबाट हिक्मतकुमार कार्की, कांग्रेसबाट उद्धव थापा र राप्रपाबाट भक्तिप्रसाद सिटौला दलको नेता चयन भएका छन्। कार्की झापा ५(१), सिटौला झापा ४(२) र थापा समानुपातिक सांसद हुन्।

माओवादी केन्द्रको दलको नेतामा भने पाँचथरबाट निर्वाचित इन्द्रबहादुर आङ्बो चयन भएका छन्। प्रदेशमा अब नेकपा एकीकृत समाजवादीले दलको नेता चयन गर्न बाँकी छ।

संसदीय दलको नेताका लागि नेपाली कांग्रेसमा मात्रै मतदान भएको छ। कांग्रेसले शुक्रबार निर्वाचनमार्फत दलको नेता चयन गरेको हो। अन्य दलमा भने सर्वसम्मत भएको थियो।

यस्तै ९३ सदस्यीय प्रदेशसभामा सबैभन्दा बढी झापाका सांसद छन्। प्रदेश १ को प्रदेशसभामा झापाबाट २० संसद निर्वाचित भएका हुन्। झापाबाट निर्वाचित भएका २० सांसदमध्ये ९ जना एमालेका छन्।

एमालेबाट प्रत्यक्षमा हिक्मत कार्कीसहित एकराज कार्की, तिलकचन पाठक, छविलाल चुडाल, राधाकृष्ण खनाल र होमबहादुर थापा तथा समानुपातिकबाट नम्बरलाल धिमाल, कमला थापा मगर र तारादेवी ढकाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

नेपाली कांग्रेस र राप्रपाबाट ५–५ जना छन्। कांग्रेसबाट उद्धव थापा, गोपाल तामाङ, भूमिप्रसाद राजवंशी, लखिकुमारी गणेश र मोहन महर्जन रहेका छन्।

राप्रपाबाट प्रत्यक्षमा सविना बजगाइँ र भक्तिप्रसाद सिटौला छन् भने समानुपातिकतर्फ निमसरी राजवंशी, अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा सांसद छन् ।यस्तै माओवादी केन्द्रकी समानुपातिक संसद बन्दना झाँगर पनि झापाकी हुन्।

प्रकाशित मिति: : 2022-12-31 11:18:00

प्रतिकृया दिनुहोस्