व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण सार्वजनिक

कृषि तथा पशुपन्छी विकास मन्त्रालय एवं राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागले ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ को नतिजा सार्वजनिक गरेको छ। 

प्रदेश नं १ को राजधानी विराटनगरमा शुक्रबार सर्वेक्षण सार्वजनिक गरिएको हो। नेपालको कृषि तथ्याङ्कीय प्रणालीलाई सुदृढ गर्न विश्व खाद्य तथा कृषि सङ्गठनको आर्थिक तथा प्राविधिक सहयोगमा आव ०७८\७९ मा मध्यम तथा ठूला पशुपालन व्यवसायको एकीकृत सर्वेक्षण २०७८ नेपालभर सञ्चालन गरिएको थियो। 

सर्वेक्षणअनुसार नेपालमा व्यावसायिक रूपमा पशुपालन गर्ने मध्यम तथा ठूला पशुपालन व्यवसायको सङ्ख्या छ हजार चार सय ८६ रहेको छ। त्यसमध्ये एक हजार दुई सय ३३ गाईपालन, नौ सय १४ भैँसीपालन, ४३ मासु प्रायोजनका लागि राँगापालन, दुई हजार दुई सय ९५ बाख्रा र च्याङ्ग्रापालन व्यवसाय सञ्चालनमा छन्। 

यस्तै पाँच सय ७२ भेडापालन, एक सय १८ मासु र तीन सय ६४ प्रजनन प्रयोजनका लागि सँगुरबँगुरपालन व्यवसाय रहेका छन्। मिश्रित वर्गमा चार सय ८३ गाई र भैंसीपालन, एक सय ९८ भेडा र च्याङ्ग्रापालन तथा गाई, भैँसी, बाख्रा, च्याङ्ग्रा सबै एकै ठाउँमा पालेर दुई सय ६५ व्यवसाय सञ्चालन गरेको भेटिएको छ। 

सर्वेक्षणको नतिजाअनुसार गणनाको दिनमा छ हजार चार सय ८६ पशुपालन व्यवसायले ४४ हजार आठ सय ७३ गाई\गोरू, ३४ हजार छ सय ५३ राँगा\भैँसी, एक लाख ५० हजार पाँच सय ६८ बाख्रा, ३१ हजार सात सय ८१ च्याङ्ग्रा, ८८ हजार चार सय २१ भेडा\भेडी र ३८ हजार तीन सय ६० सुँगुर\बँगुर पालिएको पाइएको थियो। पालिएका पशुमध्ये ७५ प्रतिशत गाई\गोरू, ७१ प्रतिशत राँगा\भैँसी, ४५ प्रतिशत बाख्रा, २६ प्रतिशत भेडा\भेडी र ९२ प्रतिशत सुँगुर\बँगुर उन्नत जातको पाइएको थियो। च्याङ्ग्रा भने सबै स्थानीय जातको पाइएको सर्वेक्षणमा उल्लेख छ।

हप्तामा गाईको आठ लाख ८१ हजार पाँच सय ५९ लिटर र भैँसीको चार लाख ९६ हजार चार सय ६६ लिटर दूध बिक्री हुने गरेको सर्वेक्षणले देखाएको छ। गाईको ४९ हजार नौ सय ४९ लिटर र भैँसीको ५० हजार दुई सय ५३ लिटर आफ्नै उपयोगका लागि प्रयोग गर्ने गरेको सर्वेक्षणको नतिजाले देखाएको छ। 

मुलुकभरि व्यावसायिक रूपले सञ्चालनमा रहेका मध्यम तथा ठूला पशुपालन व्यवसायको आर्थिक, सामाजिक तथा वातावरणीय तथ्याङ्क सङ्कलन गरी कृषि विकासका लागि स्थानीय, प्रदेश र राष्ट्रिय स्तरमा नीति निर्माण तथा योजना तर्जुमाका लागि सघाउ पुर्‍याउने उद्देश्यका साथ मुलुकभर सर्वेक्षण गरिएको हो।

प्रकाशित मिति: : 2022-12-24 15:33:00

प्रतिकृया दिनुहोस्