केही वर्षअघि घोराही उपमहानगरपालिका– ५ की सावित्रा डाँगी ढिकीमा धान कुट्थिन। जाँतोमा मकै, गहुँ पिस्ने गर्थिन। ढिकीमा धान कुटेर बनाएको चामल तथा जाँतोमा पिसेको पिठोबाट बनाएको खाने परिकार उनलाई स्वादिलो पनि लाग्थ्यो। पाठपूजा गर्दा चढाउनका लागि चोखो र शुद्ध परिकार बनाउनका लागि समेत ढिकीमा कुट्नेदेखि जाँतोमा पिठो पिस्ने गरिन्थ्यो।
तर, पछिल्लो समय गाउँमा ढिकी तथा जाँतोको विकल्पमा गाउँघरमा विद्युत पुगेसँगै धान कुट्न, तेल पेल्नदेखि पिठो पिस्नका लागि मिलहरु स्थापना भए। विद्युतबाट चल्ने मिलहरू स्थापना भएसँगै पछिल्लो ५/७ वर्षदेखि ढिकी तथा जाँतो देखिन छोडेको सावित्रा बताउँछिन्। ‘पहिले घरमै कुट्नलाई ढिकी र पिठो पिस्नलाई जाँतो थियो। तर, अहिले छैनन्’,उनले भनिन्,‘अहिले धान कुट्नेदेखि पिसाउनेसम्म प्राय: काम मिलमै गर्ने गरेका छौँ।’
सावित्रा मात्रै हाेइन घाराही– ५ का प्रायः जसो प्रत्येक घरमा देखिने ढिकी, जाँतो पछिल्लो समय कसैकाे घरमा छैन भन्दा पनि हुन्छ। भएकाे घरमा समेत प्रयाेगमा आएकाे छैन। ‘अब त ढिकी, जाँताे कसैकाे घरमा छैन भन्दा पनि हुन्छ। अब त देखिनसमेत छाडे,’ सावित्राले भनिन्, ‘भएकाे घरमा पनि प्रयाेग हुँदैन।’
विगतमा गाउँघरमा कुटानी र पिसानीको माध्यम नै ढिकी र जाँतो हुने हुने गर्थाे। अहिले ती सामग्री हराएको घोराही उपमहानगरपालिका– १८ हात्तिखर्क निवासी खिमा घर्तीमगर बताउँछिन्। भौगोलिक रुपमा विकट र बत्ती पुग्न नसकेका गाउँहरुमा अहिले पनि ढिकी तथा जाँताको प्रयोग हुने गरे पनि विद्युत पुगेका ठाउँहरुमा परम्परागत रुपमा रहेका ढिकी तथा जाँतो हराइसकेको छ।
ढिकी, जाँताेमा बनाइएकाे परिकारहरू स्वादिष्ट हुने घर्तीमगरले बताइन। अहिले ढिकी, जाँताे हराएसँगै मिलमा कुटानी पिसानी गरिएकाे परिकार खाालाई खासै राम्रो नहुने गरेकाे उनकाे अनुभव छ। परम्परागत रुपमा प्रयोग गर्दै आएका ढिकी, जाँतोलाई संरक्षण गर्न सके ती सामग्रीको संरक्षणसँगै अत्यावश्यक बस्तुहरु कुटाउन तथा पिस्नका लागि काम लाग्ने घोराही उपमहानगरपालिका– १३ निवासी अमृत घर्तीमगरले बताइन्।
ढिकी र जाँतोमा नकुटी नहुँने बेसार, गहुँ, जौसँगै चिउरीको तेल पेल्नका लागि बिजुला कुट्नका लागि पछिल्लो समय गाउँघरमा कहिकतै मात्रै ढिकी देखिने गरेको उनको भनाइ छ। अहिले गाउँ–गाउँमा विद्युत पुगेसँगै जिल्लाका अधिकांश ठाउँमा विद्युतबाट चल्ने मिल राखेर धान कुट्ने, तेल पेल्नेदेखि पिठो पिसाउन थालिएकाे छ।