पछिल्ला दुई संस्करणमा विश्वकप फुटबलको अन्तिम चार स्थान सुरक्षित, पहिलोमा रजत, दोस्रोमा काँस्य पदक। यही नै क्रोएसिया र उसका महान कप्तान लुका मोर्डिचको उपलव्धी हो। यही महान उपलव्धीका साथ ३७ वर्षीय लुकाले कतार विश्वकपमा अन्तिम खेल खेल्दै आफ्नो विश्वकप इतिहासको पाना बन्द गरे। तर, विश्व फुटबलमा रूचि राख्नेहरू लुकाको सम्झना र सम्मानमा पनि इतिहासको यो पाना पल्टाएर पढिरहने छन्।
धेरैलाई यसअघि दोस्रो, यसपटक तेस्रो। यो त अधोन्नति हो भन्ने पनि लाग्ला। यसो हेर्दा त्यस्तो देखिन्छ पनि। तर, चार वर्षको समय उस्तै पनि रहदैन, फेरि को प्रतिस्पर्धी पर्ने र खेलको दिनको मनोविज्ञानले पनि धेरै अर्थ राख्छ। यस अर्थमा हेर्दा लगातार पदक प्राप्त गर्नुलाई चानचुने उपलव्धी मान्नु हुँदैन।
खेलको कुरा गर्दा, कतार विश्वकपमा शनिबार तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरोक्कोलाई २-१ ले पराजित गर्यो।
खलेको ७ औं मिनेटमै जोस्को भार्डिअलले गोलको खाता खोलेर क्रोएसियालाई अग्रता दिलाए। तर, त्यस्को दुई मिनेटमै मोरोक्कोका आर्सफ दारीले जवाफी गोल फर्काएर खेल बराबरीमा ल्याए। ४२औं मिनेटमा मिस्लाभ ओर्सिचले गोल गरेर क्रोएसियालाई फेरि अग्रता दिलाए। त्यसपछि कुनै पनि टिमले बललाई गाली चुमाउन सकेनन्, यही गोल नै निर्णायक भयो।
पछिल्ला दुई संस्करणमा विश्वकपको लगातार अन्तिम चार स्थान सुरक्षित, पहिलोमा रजत, दोस्रोमा काँस्य पदक। कतार विश्वकपमा तेस्रो स्थानका लागि भएको खेलमा मोरोक्कोलाई २-१ले पराजित गर्दा क्रोएसियाका महान कप्तान लुका मोर्डिचको पक्षमा यो गर्विलो इतिहास बन्यो। यही महान उपलव्धीका साथ ३७ वर्षीय लुकाले आफ्नो विश्वकप इतिहासको पाना बन्द गरे।
यो खेलमा सहभागी मोरोक्कोले पनि बहादुररीसाथ कीर्तिमानी खेल प्रस्तुत गर्यो। अफ्रिकी महादेशबाटै पहिलोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको मोरोक्कोले चौथो स्थान हासिल गर्यो। प्रिक्वार्टर फाइनलमा स्पेन र क्वार्टरफाइनलमा पोर्चुगललाई घर पठाइदिएर सनसनी नै मच्चायो। सेमिफाइनलमा फ्रान्सलाई चुनौति दिन असफल भएको मोरोक्कोले यो विश्वकपको अन्तिम खेल क्रोएसियासँग खेल्यो। त्यसमा पनि सफलता हात नपर्दा चौथो स्थानमै आफ्नो यात्रा टुङ्ग्यायो। तर, यस उपलव्धीलाई उसले अफ्रिकी मुलुकका लागि नै कीर्तिमानी उपलव्धी बनायो।
अन्तमा लुकाको कुरा गरेर बिट मारौं, भलै यो विश्वकपमा मेस्सी र एम्बाम्पेको छायाँमा परे पनि लुका फुटबलका डार्क हर्स थिए र हुन्। स्पेनिस लालिगामा रियल मड्रिडबाट खेल्ने यी महान खेलाडीका नाममा अनेकौं उपलव्धीहरू छन्। न धेरै माथि, न धेरै तल एउटा बेञ्चमार्कमा रहिरहने लुकाको विशेषता धेरैका लागि मार्गदर्शन हुन सक्छ।
विश्वकप फुटबलबाट विदा लिए पनि यी महान खेलाडी अरू केही वर्ष स्पेनिस ला लिगामा खेल्न सक्छन्। बढ्दो उमेरका कारण उनको जादू त्यति नचल्ला तर पनि बाघ बूढो र स्याल तन्नेरी कहाँ मिल्छ र ?, आखिर लुका त लुका नै हुन्, रियल म्याड्रिडले उनको महत्व बुझ्ला नै।
बार्सिलोनाले मेस्सी गुमाउँदा उसको गिरेको शाख देखेर पनि रियल मड्रिडले त्यो गल्ती नगर्ला, अहिलेलाई यति नै आशा गरौं।