‘शिक्षालाई गुणस्तरीय र समतामूलक बनाउनुपर्ने’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले गुणस्तरीय तथा समतामूलक शिक्षा हासिल गर्न पाठ्यक्रममा समयानुसार परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन्। 

शिक्षा पत्रकार समूह र युनेस्को काठमाडौँको संयुक्त आयोजनामा यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले आधारभूत तहमा विद्यार्थीको सहभागिता उत्साहप्रद देखिए पनि माथिल्लो तहमा  विद्यार्थीको पहुँचमा कमी भएको बताए। 

युनेस्को काठमाडौँका प्रतिनिधि धुर्व रेग्मीले २०७२ सालको भूकम्पले अस्तव्यस्त पारेको नेपालको शिक्षा क्षेत्रलाई कोभिड–१९ ले अरु समस्याग्रस्त बनाएको भन्दै शिक्षाको गुणस्तर सुधारका लागि सबै क्षेत्रको सामूहिक प्रयास आवश्यक रहेको बताए। 

कोरोना महामारीपछिको स्थितिमा शिक्षा क्षेत्रमा आएको परिवर्तनलाई ध्यानमा राख्दै विद्यार्थीलाई कम्प्युटर, ल्यापटपलगायत उपलब्ध गराउनुपर्ने, समयअनुसार सिकाइ प्रणालीलाई परिमार्जित गर्दै लानुपर्ने र शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याउनुपर्ने उहाँको भनाइ छ। 

कार्यक्रममा अछाम पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेले आफ्नो क्षेत्रमा आधारभूत शिक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय सबैभन्दा ठूलो चुनौतीको विषय रहेको बताए। 

स्थानीयस्तरमा गुणस्तरीय शिक्षाका लागि मन्त्रालयबाटै बजेट, शिक्षक दरबन्दीआदिमा विभेदकारी विवरण भएको गुनासो गरे। उनले अछाममा शिक्षक अभावको समस्या ठूलो रहेको बताए। 

कार्यक्रममा सन् २०१५ मा घोषणा गरिएको दिगो विकास लक्ष्यअन्तर्गत समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र सबैका लागि जीवनपर्यन्त सिकाइका अवसर प्रवद्र्धन गर्ने बारे चर्चा गरिएको छ। 

प्रकाशित मिति: : 2022-12-16 17:04:00

प्रतिकृया दिनुहोस्