केही दिनपछि नयाँ ट्याक्सीको दर्ताको प्रक्रिया अगाडि बढ्छ : यातायातमन्त्री दाहाल

उमेश थापा

काठमाडौं
File Photo
File Photo

३१ वर्षदेखि नयाँ ट्याक्सी दर्ता खुल्न सकेकाे छैन। नयाँ दर्ता नखुल्दा आम सर्वसाधारणहरू मर्कामा परका छन्। २०४९ सालदेखि दर्ता प्रक्रिया नखुल्दा सर्वसाधारणहरू नयाँ ट्याक्सीमा पुरानै नम्बर राखेर चलाउन बाध्य छन्।

कतिपय चालकहरूले कबाडीमा गइसकेकाे ट्याक्सी चलाइरहेका छन् भने सर्वसाधारणहरूलाई पनि त्यसमै चढ्नुपर्ने बाध्यता छ।

पैसा तिर्छु भन्दामा पनि समयमा ट्याक्सी पाउन पनि ग्राहो छ, पाइहाल्याे भने पनि महंगाे मूल्य तिरेर चढ्नु पर्ने अवस्था छ। सरकारले मिटरमा ट्याक्सी चलाउनु पर्ने नियम लागु गरे पनि चालकहरू भने मिटरमा जान मान्दैनन्। मिटरमा ट्याक्सी चलाउन नमान्ने चालकले यात्रुहरूबाट दाेब्बर भाडा असुली रहेका हुन्छन्।

ट्याक्सीमा भएको एकाधिकारले पनि समस्या उत्पन्न भएकाे गुनासोहरू आउने गरेका छन्।

नयाँ ट्याक्सीको दर्ता कहिले खुल्छ? ट्याक्सीमा भएको बेथिति र यसको सिण्डिकेट कहिले तोडिन्छ भन्ने विषयमा रहेर बाग्मती प्रदेशका यातायात मन्त्री घनश्याम दाहालसँग बिएल नेपाली सेवाका लागि उमेश थापाले गरेको कुराकानी प्रस्तुत छ:

लामाे समयदेखि नयाँ ट्याक्सीको दर्ता खुल्न सकिरहेकाे छैन, सर्वसाधारणहरू पनि मर्कामा परेका छन् नि। कहिले खुल्छ त नयाँ दर्ता?

नयाँ ट्याक्सीको दर्ता खुलिराखेकै छ। विद्युतीय ट्याक्सी ल्याउने निर्णय भनेको नै नयाँ ट्याक्सी ल्याउने हो। ट्याक्सी आइसकेको कुरा सुनिएको छ बजारमा। अब ट्याक्सीवालाहरुले सुरुमा नयाँ दर्ता गर्नुपर्ने हुन्छ। दर्ता भइसकेपछि सट्टा भर्नाको काम अगाडि बढ्छ।

केही दिनपछि नयाँ ट्याक्सीको दर्ताको प्रक्रिया अगाडि बढ्छ। अब २० वर्ष पुरानो ट्याक्सीलाई फ्यालेर नयाँ विद्युतीय ट्याक्सी भित्रिएर सट्टा भर्ना प्रक्रिया तत्कालै अगाडि बढ्छ।

यातायात सम्बद्ध कुनै पनि निकायले भाडाकाे दर अनुगमन गरेका देखिँदैन, ट्याक्सी चालकले मनलाग्दी भाडा लिइरहेका छन् नि?

अनुगमन भएको छैन होला ठिक कुरा हो। हामीसँग दुई/तीन वटा संस्था मिलेर अनुगमन गर्नुपर्छ। नयाँ भाडाको मूल्य निर्धारण गरिसकेपछि पेट्रोलको मूल्य बढेको छैन। बढी भाडा लिने बित्तिकै नजिकको ट्राफिक कार्यालय वा यातायात कार्यालयमा उजुरी दिने र त्यसपछि कारवाहीको प्रक्रिया अगाडि बढ्छ।

उजुरी दिएपछि मात्र थाहा हुन्छ, हचुवाको भरमा कारवाही त गर्नु मिल्दैन नि। मानिसहरुले ट्याक्सीले महँगो भाडा लियो भनेर भन्नुपर्छ कोही कसैसँग डराउनु पर्दैन।

ट्याक्सीको सिण्डिकेट अझै तोडिएको छैन नि, किन हाेला?

सिण्डिकेट भनेर सिण्डिकेट जस्तो पनि छैन। हिजो सरकारले जति गाडी दर्ता गरेको थियो, त्यही गाडीको प्रक्रिया अगाडि बढाइराखेका छौं। भूकम्पको बेलामा पैतिस सय नयाँ ट्याक्सी बढाएको हो। त्यसपछि नयाँ ट्याक्सी थप्ने कुरा अगाडि बढेको छैन। सिण्डिकेटको कारणले ट्याक्सी नथप्ने कुरा हुँदैन। हामी बाह्य प्रक्रियामा जान आँटेका छौं। माग, आवश्यकता बुझेर खोल्छौं।

नयाँ विद्युतीय ट्याक्सी कति संङख्यामा आउँछ?

मलाई ठ्याक्कै यति भनेर थाहा छैन तर, पहिला २० वर्ष पुरानो ट्याक्सीको सट्टा भर्ना गर्ने काम हुन्छ। कति ट्याक्सी भए पुग्छ, ट्याक्सीको माग कति छ, कति ट्याक्सीले धान्छ भनेर हामीले रिर्पाेट तयार पारेका छौं। ट्याक्सीको सङख्या बढाएर मात्र हुँदैन, मान्छेहरुको लगानी हुन्छ। त्यसलाई मध्यनजर गरेर नयाँ ट्याक्सी दर्ता खुल्छ। विद्युतीय ट्याक्सी आइसकेको छ।

 सर्वसाधारणहरुले चाहेको समयमा ट्याक्सी पाउँदैन नि?

हो, ट्याक्सीको आवश्यकता छ। हामीले ठाउँ-ठाउँको डाटा कलेक्ट गरेका छौं। अब कुन ठाँउमा कति चाहिन्छ भनेर सम्पूर्ण डाटा आइसकेपछि मागअनुसार नयाँ ट्याक्सी थप गर्दै जान्छौं।

स्क्रयाब भएको नम्बर प्लेटको पनि महँगोमा किनबेच भइराखेको छ नि?

होइन, कसैले भित्र-भित्र पैसा खुवाउँछ भने हामीलाई थाहा त हुनुपर्याे नि। कसैले भित्र-भित्रै काम गर्छन् भने यातायात कार्यालय वा यातायात मन्त्रालयमा जानकारी गराउनुपर्छ। हामी तुरुन्तै कारवाही गछौं। यस्तो काम गर्नु हुन्न भनेर हामीले सूचना पनि निकालेका छौं। कोही कसैले फलानेले गर्याे भनेर भन्यो भने त थाहा हुन्छ नि। अब भित्र-भित्र कसले के गर्छन् भनेर हामीलाई के थाहा।

प्रकाशित मिति: : 2022-12-13 20:00:00

प्रतिकृया दिनुहोस्