नक्कली राजस्व कर्मचारी बनेर ठगी गर्ने गिरोह पक्राउ 

काठमाडौंमा ठगी गर्ने र किर्ते कारोबारमा संलग्न चार पुरुष र चार महिला पक्राउ परेका छन्।

प्रहरीले नयाँ बसपार्क क्षेत्रमा आन्तरिक राजस्व बिभागको कर्मचारी बनेर ठगी गर्दै गर्दा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा पूर्वी नवलपरासी घर भई हाल ललितपुर बस्दै आएका सिर्जना भट्टराई, सिन्धुपाल्चोक घर भई हाल कोटेश्वर बस्ने सागर जंग लुहार, सामाखुसी बस्ने प्रमिशा तामाङ, अछाम स्थायी घर हाल ललितपुर बस्ने दुधकला बि.क, नुवाकोट स्थायी घर हाल मनमैजु बस्ने अन्जना तामाङ, कंचनपुर  घर भएका राजिव बिस्ट र थापाथलीमा बस्दै आएका डेबिड धामी रहेका छन्।

‘उनीहरुलाई प्रहरीले मङ्सिर २३ गते काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो। उनीहरुले नयाँबसपार्क क्षेत्रका विभिन्न होटलहरुमा आन्तरिक  राजस्व कार्यलयको युनिफर्म र परिचय पत्र समेत लगाई आन्तरिक राजस्व कार्यलयको रसिद दिई पैसा असुल गरेको पाइएको हो।’ एसएसपी भरत बहादुर बोहोराले बताए।

घटनाबारे थप अनुसन्धान भईरहेको छ।

प्रकाशित मिति: : 2022-12-11 16:19:00

प्रतिकृया दिनुहोस्