दाङमा ‘हनि ट्रयाप’ मा पार्ने दुई महिलासहित तीन जना पक्राउ परेका छन्।
अपराधिक लाभ उठाउने गरी ‘हनि ट्रयाप’ मा पारेको अरोपसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णा गहतराज, तुलसीपुर–१८ ग्वारखोला बस्ने ३८ वर्षीया कृष्णा कुमारी बस्नेत र घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने जनक भनिने २६ वर्षीय रुद्रबहादुर केसी रहेका छन्।
उनीहरुलाई प्रहरीले मंसिर १६ गते घोराही–१६ सर्रा स्थित कविला रिसोर्टबाट पक्राउ गरेको हो।
यस्तो छ घटना
अनुष्का भनिने कृष्णा गहतराज र एक पुरुषबीचको प्रेम सम्बन्धले यो घटना घट्न पुगेको प्रहरी अनुसन्धानबाट देखिएको छ।
दुईबीच पुरानो प्रेम सम्बन्धन रहेको र उनीहरुबीच भएको अन्तरंग सम्बन्धले घरजग्गासमेत बार्गेनिङ गर्ने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए।
अनुसन्धानबाट पुरुषको श्रीमतिसहित घर परिवार भएको र कृष्णाको एक पटक डिभोर्स भएको पाइएको छ।
पुरुष राम्रै आम्दानी हुने घरपरिवारको भएको हुँदा त्यसको फाइदा उठाउँदै कृष्णाले पटक–पटक आर्थिक लाभ लिदै आइरहेकी थिइन।
तर पछिल्लो पटक धेरै आर्थिक लाभ हुने गरी घर–जग्गा किनिदिन बार्गेनिङ गरेको र घर परिवारमासमेत टर्चर दिन थालेपछि यो घटना प्रहरी कहाँ आइपुगेको प्रहरी नायव उपरीक्षक गौतमले बताए।
यसअघि यी दुबैबीच नेपालगञ्जमा थप बार्गेनिङ नगर्ने गरी मिलापत्र भएकोसमेत बुझिएको उनले बताए।
‘पहिले पनि नपालगञ्जमा बार्गेनिङ नगर्ने गरी कुरा मिलाएको बुझिएको छ’ गौतमले भने, ‘तर पछि फेरि घरजग्गा किनिदिन आग्रह गरेको र घरपरिवारमा अटेक (आक्रमण) हुन थालेपछि घटना प्रहरीसम्म आइपुगेको हो।’
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।