'भाइ महरा' अर्थात् लुम्बिनीले खाेजेका, प्रचण्डले राेजेका जोखबहादुर

नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा रोल्पा (क) बाट निर्वाचित सांसद जोखबहादुर महरा पार्टीले आफूलाई लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीका रूपमा अघि सारेका छन्।

चुनाव जितेर काठमाण्डौँ आएलगतै नेता महराले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपाध्यक्ष कृष्णबहादुर महरालाई भेटेका छन्।

प्रचण्ड र महरासँगकाे भेटमा उनले 'लुम्बिनी प्रदेशकाे नयाँ मुख्यमन्त्रीमा आफ्नाे बलियाे दाबी' गरेका छन्। उनी भन्छन्, 'स्वभाबिक रूपमा म लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीकाे दाैडमा छु। मलाई प्रचण्डलगयतका शीर्ष नेताहरूकाे साथ पनि छ।'

'प्रताप' अर्थात् जोखबहादुरलाई मुख्यमन्त्री बनाउने सन्दर्भमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष महरा र उपमहासचिव वर्षमान पुन सकारात्मक देखिएकाे उनीनिकट स्राेतले जनाएकाे छ। माओवादीभित्र उनलाई कृष्णबहादुर महरा पछिका 'भाइ महरा' भनेर चिनिन्छन्।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दावेदारका रुपमा माओवादीबाट तुलाराम घर्ती र इन्द्रजित चौधरी पनि छन्। उनीहरूभन्दा महरा बलिया दावेदार भएकाे माओवादीभित्र चर्चा छ।

को हुन् महरा

वि.सं. २०२० सालमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ५ (साविक गजुल गा.वि.स–२) मा जन्मिएका महराले २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए।

राजनीति शास्त्र तथा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरेका महाराले राजनीतिमा लाग्नु पूर्व र लागेपछि पनि लामो समय प्रा.वि र मा.वि शिक्षकको रुपमा अध्यापन गरेका थिए।

अध्यापनसँगै राजनीतिमा पनि सक्रिय बनेका महरा २०४२ सालमा अनेरास्ववियु दाङको सचिव बने। त्यो सँगै नेकपा (मशाल) को पार्टी सदस्य लिएका उनी २०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य, २०४७ सालमा नेकपा (मशाल) को रोल्पा जिल्ला समिति सदस्य हुँदै २०५० सालदेखि पार्टीमा पूर्णकालीन कार्यकर्ता बनेका हुन्।

२०५१ सालमा नेकपा (माओवादी) को रोल्पा जिल्ला सेक्रेटरी बनेका उनी २०५४ सालमा क्षेत्रीय व्यूरो सदस्य र २०५६ सालदेखि चार वर्ष पार्टीको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हालेका थिए। २०६० सालमा माओवादी केन्द्रीय सदस्य बनेका महरा २०६४ मा समानुपातिकतर्फबाट संविधान सभा सदस्य भएर संसद भवन प्रवेश गरेका थिए।

संविधान सभा सदस्य बन्नुअघि २०६२ देखि २०६५ सम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिव बनेका उनी २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा पुनः उनको प्रमुख स्वकीय सचिव बनेका थिए। हाल प्रदेशसभा सदस्यमा विजय भएका छन्।

प्रकाशित मिति: : 2022-12-05 08:25:00

प्रतिकृया दिनुहोस्